काभा महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने
काठमाडौं : काभा महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण पुनः नेपालमा नै आयोजना हुने भएको छ । नेपाल भलिबल संघको १४ औं पूर्ण बैठकले काभा महिला भलिबल च्याम्पियनसिप आगामी कात्तिक १५ देखि २१ सम्म (नोभेम्बर १ देखि७ ) सम्म काठमाडौंमा हुने भएको छ ।
नेपाल भलिबल संघको १४ औं पूर्ण बैठकमा यससँगै अन्य विषयहरुको पनि उठान र निर्णय भएको थियो । जसमा भलिबल संघको स्थापना भएको ५० वर्ष पुग्न लाग्दा आगामी अक्टोबरमा भलिबल संघको ‘गोल्डेन जुब्ली’ (स्वर्ण जयन्ती) मनाउने भएको छ ।
यसै बैठकले आगामी असोजमा संघको जिल्ला तथा प्रदेशको चुनावी साधारण सभा गराउने निर्णय गरेको हो । असोजको ६ गतेसम्म ७७ जिल्लाको र असोज १५ गतेसम्म ७ प्रदेशको चुनाव सम्पन्न गर्ने निर्णय भएको भलिबल संघका महासचिव रोशन श्रेष्ठले अन्नपूर्ण पोष्टसँग कुरा गर्दै जानकारी दिएका हुन् ।
अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको लागि काठमाडौंमा ५ हजार दर्शक क्षमताको कभर्ड हल तथा सातै प्रदेशमा ३ हजार दर्शक क्षमताको कभर्ड हल बनाउने लक्ष्य राखेको महासचिव श्रेष्ठले भने । ‘यसको लागि सम्पूर्ण नेपालीको सहयोगको आवश्यक पर्नेछ । हामी सबै तर्फको सहयोगको अपेक्षा राख्दछौं ।’
प्रतिक्रिया दिनुहोस !