मधेसको कैलास टुटेश्वरमा गृहमन्त्रीले गरे विशेष पूजा
टुटेश्वर : मधेशको कैलास टुटेश्वरस्थित टुटेश्वरनाथ महादेव मन्दिरमा गृहमन्त्री सुधन गुरुङले पूजा-अर्चना गरेका छन्। देश र मधेशमा शान्ति, भाइचारा र सहिष्णुको कामना गर्दै गृहमन्त्री गुरुङले धार्मिक, पर्यटकीस्थल टुटेश्वरधाम पुगेर सुरक्षा र मेला व्यवस्थापनबारे जानकारी पनि लिएका छन्।
टुटेश्वरनाथ महादेव मन्दिरका पुजारी श्रीचन दासले विशेष पूजा गराएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवले जनाए। त्यस्तै टुटेश्वरमा रहेको श्री रत्न छोलिङ गुम्बामा पुगेर गृहमन्त्री गुरुङले शान्तिका दूत गौतम बुद्धको मूर्तिमा धुपबत्ति बाल्दै घण्टी बजाएर पूजा गरेका थिए।
मधेशको कैलास भनेर चिनिते महाभारतकालीन इतिहास भएको टुटेश्वरनाथ महादेव मन्दिरको विकास गर्न पुरातात्त्विक अध्ययनका लागि गृहमन्त्रीलाई जानकारी गराइएको प्रतिनिधि सभा सदस्य प्रमोद कुमार महतोले जानकारी दिए।
साउन महिनाभरि टुटेश्वरस्थित नेपालको बाबाधाम भनेर पहिचान बनाएको टुटेश्वरनाथ महादेव मन्दिर परिसरमा भव्य मेला लाग्ने गरेको छ। जहाँ नेपाल र भारतका लाखौं भक्तजनहरू बोलबमको जयजयकार लगाएर आइरहेका छन्।
महोत्तरीको बर्दिबास नगरपालिका-५ टुटेश्वरस्थित धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक क्षेत्रको पूजा अर्चनामा गृहमन्त्री गुरुङसँगै प्रतिनिधिसभा सदस्य प्रमोद कुमार महतो, शिव यादव, राजकिशोर महतो, महोत्तरीका सीडीओ इन्द्रदेव यादवलगायत सहभागी थिए।



प्रतिक्रिया दिनुहोस !