हिमाली नायकको अवसानले पुर्याएको क्षति
निर्मल पुर्जा एक सामान्य पर्वतारोही थिएनन्। तर उनको नश्वर शरीरको असामान्य बिदाइमा पर्वतारोहण क्षेत्र शोक विह्वल बन्नु परेको छ। पाकिस्तानस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिक हिमालको भयानक हिमपहिरोमा परी निर्मलसहित ६ नेपाली आरोहीको प्राण जाँदा एउटा सन्नाटा महसुस भएको छ।
निर्मल तिनै आरोही हुन्, जो सम्भव परियोजनाका अभियन्ता र कीर्तिमानी पर्वतारोही थिए। बिहीबार भने ४३ वर्षीय पुर्जासहित पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पा, किली पेम्बा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पासहित अरू चार विदेशीले समेत हिमालसामु हार मान्नुपर्यो। निर्मलको अभूतपूर्व अभियानले पूर्णविराम लियो। निर्मलको जीवनको अप्रत्याशित अवसानप्रति विश्वकै प्रतिष्ठित व्यक्तित्वहरूबाट आएका शोक वक्तव्यले पुष्टि गर्छ कि उनले आफूसँगै नेपालको शिरो विश्वमाझ धेरै उचो बनाएका थिए, हिमालजस्तै।
म्याग्दीको दाना गाउँमा जन्मिएका निर्मलले ब्रिटिस गोर्खा सेनामा रहँदा पनि दुर्लभ कौशल प्रदर्शन गरेका थिए। उच्च हिमाली युद्धकौशलको उनको दक्षताको स्वयं बेलायत प्रशंसक थियो। सैनिक जीवनबाट अवकाश पाएर हिमाल आरोहणमा लागेपछि उनले ६ महिना ६ दिनमा विश्वका सबै १४ अग्ला हिमाल आरोहण गरेर कीर्तिमान कमाए। त्यसो त आफैंमा अप्ठेरो केटु हिमाल माइनस ६० डिग्रीको बेला चढेर शीतकालीन आरोहणमा सफलता प्राप्त गर्दा साँच्चै आँट र साहसका प्रतिमूर्ति बनेका थिए उनी।
निर्मलले कीर्तिमानबाट मात्रै नेपालीको सान बढाएका होइनन्। हिमाल आरोहणका फरक कथा लेख्न पनि उनी सफल थिए। विदेशी आरोहीको नेतृत्वदायी भूमिका उनले सधैं खेले र हिमाल नेपालमा छ भन्नेमात्रै होइन, हिमाल आरोहणका नायक नेपाली नै हुन् भन्ने पुनर्पुष्टि गरिरहे। नेपालीहरू हिमाल आरोहणका सहयोगीमा सीमित हुने होइन अगुवाइमा हो भन्ने उनले सिद्ध गरेका थिए। र उच्च वर्गसम्म त्यो सन्देश पुर्याउन उनको अभियान सफल थियो। आरोहणको कीर्तिमानमात्रै निर्मलको लक्ष्य रहेन। हिमालमा अलपत्रहरूको साहसिक उद्धार गरेर उनले नेपालीको साहस र परोपकारी चिनारी उजिल्याएका थिए। अनि आफ्नै नामको संस्था खोलेर हिमाल र मानवजीवनको अभियान चलाएका थिए। उनले खिचेको हिमालमा लागेको आरोहीहरूको जामको तस्बिरले नियमनका लागि सरकारलाई घच्घच्याएको थियो। यसको मतलब उनी हिमालको दुरवस्थाका बारे पनि उत्तिकै चिन्तित थिए भन्ने देखिन्छ। त्यसो त उनको निधनको कारण हिमपहिरो बन्यो, त्यो नै हिमाल र पर्यावरणमा आएको ठूलो परिवर्तनको यथार्थ हो।
यो बेला हिमपहिरो आएर साहसी आरोहीले ज्यान गुमाउनु केवल एक कीर्तिमानधारीको अन्त्य होइन, हाम्रा हिमालहरू पग्लिरहेका छन् र यिनको अन्त्य प्राकृतिक नियमानुसारभन्दा छिटो हुँदैछ भन्ने सन्देश पनि हो। यो विश्व तापमान वृद्धि र जलवायु परिवर्तनले बजाएको खतरा अर्काे घण्टी हो। सँगसँगै नेपालले जन्मसिद्ध प्रतिभामा मात्रै रमाएर पुग्दैन, आफ्ना आरोहीहरूको सुरक्षा र प्राविधिक ज्ञानमा पनि थप लगानी गर्नुपर्छ भन्ने सन्देश निर्मलसहितका अनुभवी आरोहीको अप्रत्याशित अवसानले दिएको छ। हामीले हाम्रा हिमाललाई आम्दानीको स्रोतसीमित गर्ने होइन, हिमाली प्रतिभाको ज्ञान, कौशल र क्षमता अभिवृद्धिमा पनि लगानी गर्नुपर्छ भनेर झक्झकाएको छ। राज्यको कर्तव्य निर्मलहरूको नाममा शोक जनाएर सीमित हुनुहुँदैन, आफ्ना आरोही र पर्वतारोहणका क्षेत्रमा पनि लगानी गर्नमा पनि केन्द्रित हुनुपर्छ।
प्रतिक्रिया दिनुहोस !