उद्योगी प्रकाश मुन्दडाको घर र अफिसमा साढे पाँच घण्टा प्रहरीको छापा

उद्योगी प्रकाश मुन्दडाको घर र अफिसमा साढे पाँच घण्टा प्रहरीको छापा
छापा हान्ने क्रममा घर र कार्यालय वरपर परिचालित प्रहरी ।
सुन्नुहोस्

विराटनगर : विराटनगरका प्रतिष्ठित उद्योगी प्रकाश मुन्दडाको विराटनगरस्थित निवास र कार्यालयमा सोमबार बिहान प्रहरीले छापा हानेको छ । मुन्दडा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष हुन् । उनको घर तथा कार्यालयमा प्रहरीले सञ्चालन गरेको सघन खानतलासीबाट केही फेला परेन । करिब साढे पाँच घण्टासम्म चलेको ‘मेगा अपरेसन’पछि प्रहरी टोली रित्तो हात फर्किएको छ । 

बिहान करिब ४ बजेदेखि विराटनगर महानगरपालिका–७ स्थित मुन्दडाको घर र कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी थालिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार बिहान करिब ९:३० बजेसम्म चलेको अपरेसनका क्रममा घरदेखि कार्यालयसम्मका सबै क्षेत्रको सूक्ष्म रूपमा जाँच गरियो । खानतलासीका बेला घर आसपासको आवतजावत केही समयका लागि रोकिएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङ र गोल्छा मोडतर्फ जाने सडकमा समेत केही समय सवारी सञ्चालन प्रभावित भएको थियो। । 

अपरेसनमा जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । एक दर्जनभन्दा बढी प्रहरीका सवारीसाधन प्रयोग गरिएको उक्त अपरेसनको नेतृत्व मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गरेका थिए । 

एसपी कटवालका अनुसार अनुसार विशेष सूचनाका आधारमा मुन्दडाले अवैध रूपमा ठूलो परिमाणमा नगद लुकाएर राखेको आशंकामा खानतलासी गरिएको थियो । मुन्दडाको नाम विगतदेखि नै अवैध हुण्डी कारोबारसँग जोडिँदै आएको चर्चा भए पनि उनीमाथि यसअघि औपचारिक अनुसन्धान भने भएको थिएन । यसपटक प्राप्त सूचनाकै आधारमा प्रहरी अपरेसन अघि बढाइएको हो । 

उद्योग तथा व्यापार क्षेत्रका केही व्यवसायीले मुन्दडाको देवनरा ग्रुपको चाँदी कारोबारसँग सम्बन्धित विषय पनि अनुसन्धानको दायरामा पर्न सक्ने अनुमान गरेका थिए । प्रहरी स्रोतका अनुसार कुनै उद्योगी व्यवसायीकै विशेष सूचनाका आधारमा छापा मारिएको थियो । एसपी कटवालले लामो समयसम्म खोजतलास गर्दा पनि कुनै नगद,कागजात वा अन्य सामग्री बरामद नभएको बताए ।  उनले भने, ‘विशेष सूचनाका आधारमा घर र कार्यालयमा विस्तृत खानतलासी गरेका थियौं । तर कुनै पनि प्रमाण वा सामग्री फेला परेन । त्यसपछि प्रहरी टोली फर्किएको हो । कहिलेकाहीँ प्राप्त सूचना पूर्ण रूपमा सही नहुन पनि सक्छ ।’

प्रहरीको यति ठूलो परिचालनपछि पनि कुनै उपलब्धि हासिल हुन नसक्दा विराटनगरको उद्योग तथा व्यापारिक क्षेत्रमा यस घटनाले व्यापक चर्चा पाएको छ । प्राप्त सूचनाको विश्वसनीयता, अनुसन्धानको आधार र यति ठूलो स्तरको अपरेसनको औचित्यमाथि समेत प्रश्न उठ्न थालेको छ । यसैबीच, उद्योगी व्यवसायी वृत्तमा मुन्दडा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग निकट भएको चर्चा पनि भइरहेको छ । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका उम्मेदवारलाई आर्थिक सहयोग गरेको चर्चा भए पनि त्यसको आधिकारिक पुष्टि भएको छैन । 

मुन्दडाको नाम यसअघिदेखि नै कर छली, हुण्डी कारोबार तथा विभिन्न आर्थिक गतिविधिसँग जोडिएर सार्वजनिक चर्चामा आउने गरेको थियो । यद्यपि,आरोपहरूको कुनै आधिकारिक पुष्टि भएको छैन । यस विषयमा प्रतिक्रिया लिन बारम्बार सम्पर्क गर्न खोज्दा मुन्दडासँग सम्पर्क हुन सकेन । उनले फोन उठाएनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.