साउन, प्रकृति र जीवनशैली
साउन सनातन धर्मावलम्बी एवं नेपाली समाजका लागि केवल आध्यात्मिक महिना, हरियो पहिरन, सौभाग्य र व्रत उपासनाको मात्र होइन । यो प्रकृतिको पुनर्जागरण, जीवनको उत्सव र आध्यात्मिक जागरणको प्रतीक हो । भनिन्छ– असारको वर्षापछि धर्तीले हरियो वस्त्र धारण गर्छ, वनजंगल, खेतबारी, नदीनाला र पहाडहरू नयाँ जीवनले मुस्कुराउन थाल्छन्। चारैतिर फैलिएको हरियालीले केवल वातावरणलाई मात्र होइन, मानव मनलाई पनि शान्त, आनन्दित र आशावादी बनाउँछ।
साउनको वर्षाले धुलो पखाल्छ, वातावरणलाई शुद्ध बनाउँछ र जीवनलाई नयाँ ऊर्जा दिन्छ। यही कारणले नेपाली संस्कृति, हिन्दु दर्शन र वैदिक परम्परामा साउनलाई भगवान् शिवको आराधना, व्रत, ध्यान, योग, जप, तप र आत्मशुद्धिको महिनाका रूपमा विशेष महत्व दिइएको छ। प्रकृतिको हरियाली र मानवको आन्तरिक हरियालीबीच गहिरो सम्बन्ध रहेको कुरा हाम्रो सभ्यताले हजारौं वर्षदेखि सिकाउँदै आएको छ।
आजको आधुनिक युगमा मानिससँग भौतिक सुविधा धेरै छन्, तर आन्तरिक शान्तिको कमी छ। प्रविधिले संसारलाई सानो बनाएको छ, तर मानिसको मन झन् जटिल बन्दै गएको छ। तनाव, चिन्ता, प्रतिस्पर्धा, एक्लोपन र मानसिक असन्तुलन बढिरहेका छन्। यस्तो अवस्थामा साउनले हामीलाई एउटा सरल तर गहिरो सन्देश दिन्छ– प्रकृतिसँग जोडिऔं, आफूभित्र फर्किऔं र जीवनलाई पुन : सन्तुलित बनाऔं।
हरियालीको विज्ञान र दर्शन : हरियो रङ जीवनको रङ हो । वनस्पतिको हरियालीले पृथ्वीमा अक्सिजन उत्पादन गर्छ, वातावरणलाई सन्तुलित राख्छ र जैविक विविधताको संरक्षण गर्छ। वैज्ञानिक अनुसन्धानहरूले पनि हरियाली वातावरणमा केही समय बिताउँदा तनाव कम हुने, रक्तचाप नियन्त्रणमा रहने, मानसिक थकान घट्ने र सिर्जनात्मक सोच बढ्ने देखाएका छन्। तर हाम्रो पूर्वीय दर्शनले हरियालीलाई केवल जैविक प्रक्रिया मानेको छैन। हरियाली समृद्धि, करुणा, धैर्य, सन्तुलन र निरन्तर विकासको प्रतीक हो ।
एउटा सानो बिउले समय, धैर्य र उचित वातावरण पाएपछि विशाल वृक्षको रूप लिन्छ। त्यसैगरी मानिसको चेतना पनि निरन्तर साधना, अनुशासन र आत्मविकासबाट परिपक्व बन्छ। साउनको वर्षाले जस्तै मनमा जमेको अहंकार, ईष्र्या, क्रोध र नकारात्मकतालाई पनि धोइदिन सक्यो भने मात्र वास्तविक हरियाली हाम्रो जीवनमा फुल्न सक्छ।
साउन र स्वस्थ जीवनशैली : प्रकृतिसँग तादात्म्य बनाएर बाँच्नु नै स्वस्थ जीवनको आधार हो । साउनको मौसमले शरीर र मन दुवैलाई विश्राम र पुनर्जागरणको अवसर दिन्छ। बिहानको स्वच्छ हावा, वर्षापछिको सुगन्ध, हरियाली वातावरण र चिसो मौसमले ध्यान, योग र प्रार्थनाका लागि अनुकूल वातावरण सिर्जना गर्छ। आजको जीवनशैलीमा अनियमित खानपान, निद्राको कमी, अत्यधिक डिजिटल प्रयोग र तनावले मानिसको मानसिक स्वास्थ्य कमजोर बनाइरहेको छ।
साउनले हामीलाई फेरि प्रकृतिको लयसँग जोडिन आग्रह गर्छ। प्रकृतिको लयसँग जोडिनु भनेकै स्वस्थ जीवनशैलीको सुरुवात गर्नु हो । जस्तै–बिहान चाँडै उठ्ने, नियमित योग र प्राणायाम गर्ने, मन्दिर जाने, ध्यान र मौनको अभ्यास गर्ने अनि मौसमी, ताजा र सन्तुलित भोजन ग्रहण गर्ने । साथै, हरियाली वातावरणमा हिँड्ने, परिवारसँग समय बिताउने अनि प्रकृतिको संरक्षणमा योगदान गर्ने। यी अभ्यासहरू कठिन छैनन् र यी अभ्यासहरूले जीवनमा असाधारण परिवर्तन ल्याउन सक्छन्।
ध्यान, प्रार्थना, योग र आत्मनिरीक्षण : मानिसले संसार जित्न सक्छ, तर आफ्नो मनलाई जित्न सकेन भने वास्तविक सफलता अधुरो रहन्छ। ध्यान, प्रार्थना, योग, स्वाध्याय र आत्मनिरीक्षणले मानिसलाई आफ्नो मनसँग मित्रता गर्न सिकाउँछन्। मनको नियन्त्रणबिना बाहिरी उपलब्धिहरूले स्थायी सुख दिन सक्दैनन्। ध्यानले विचारहरूको भिडलाई शान्त बनाउँछ। योगले शरीर र मनबीचको सम्बन्धलाई सन्तुलित गर्छ। प्रार्थनाले विनम्रता र विश्वास जगाउँछ। स्वाध्यायले ज्ञान बढाउँछ भने आत्मनिरीक्षणले आफ्ना कमजोरी र सम्भावनालाई चिन्ने अवसर दिन्छ। साउनभरि जसरी हरियो, पहेंलो फिरन र सौभाग्यमा ध्यान दिन्छन्। त्यसलाई पुष्टि गर्न साउनको प्रत्येक बिहानमा केही समय मौन बसेर आफ्नै श्वासलाई अनुभव गर्नु पनि एउटा ठूलो आध्यात्मिक अभ्यास बन्न सक्छ।
करुणा र जागरणको महिना साउन : भगवान् बुद्धले भन्नुभएको छ— ‘मानिसको जीवनमा दु : ख छ, तर दु : खबाट मुक्त हुने मार्ग पनि छ।’ सदाबहार जीवनमा बुद्धको यो मार्मिकता लागू हुन्छ। बुद्धका अनुसार दु : खको मूल कारण तृष्णा, आशक्ति र अज्ञान हो । मानिसले सबै कुरा आफ्नो इच्छाअनुसार हुनुपर्छ भन्ने अपेक्षा त्याग्न सकेपछि मन हलुका बन्छ।
बुद्धको यही मध्यम मार्गले सन्तुलित जीवनको शिक्षा दिन्छ। साउनको शान्त वातावरणमा बुद्धको सन्देश अझ बढी सान्दर्भिक देखिन्छ। वर्षाको थोपा झैं प्रत्येक क्षण नयाँ हुन्छ। यदि हामी वर्तमानलाई स्वीकार गर्न सिक्यौं भने जीवन सहज बन्छ। करुणा, मैत्री, मुदिता र उपेक्षा–यी चार ब्रह्मविहारहरू आज पनि मानसिक स्वास्थ्यका आधारस्तम्भ हुन्।
ओशोको वर्तमानमा बाँच्ने कला : ओशोले जीवनलाई निरन्तर बगिरहेको नदीसँग तुलना गर्दै भन्नुहुन्छ– ‘जीवनलाई नियन्त्रण गर्ने होइन, अनुभव गर्ने कला सिक।’ ओशोका अनुसार अधिकांश मानिस विगतको पश्चात्ताप र भविष्यको चिन्तामा बाँच्छन्। त्यसैले वर्तमानको आनन्द हराउँछ।
साउनको वर्षा हिजो भएकोमा गणना होला, भोलि हुने सम्भावना रहला। तर वर्षा सधैं अहिले पर्छ, वर्षाको तपतप पानीको आवाज अहिले कानमा गुञ्जिन्छ, अहिलेको वर्तमानको अनुभूतिमा हुन्छ । जीवन पनि वर्तमानमा मात्र बाँचिन्छ। जब मानिस पूर्ण जागरणका साथ वर्तमान क्षणमा बाँच्न सिक्छ, तब दु : खले पनि उसलाई लामो समयसम्म बाँध्न सक्दैन।
गीताको समत्व योग : भगवान् श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ– ‘समत्वं योग उच्यते ।’ अर्थात् सुख–दु : ख, लाभ–हानि, जय–पराजय सबै अवस्थामा मनको सन्तुलन कायम राख्नु नै वास्तविक योग हो । गीताको सन्देश संघर्षबाट भाग्नु होइन, समभावका साथ आफ्नो कर्तव्य पूरा गर्नु हो ।
साउनको वर्षा जस्तै जीवनमा पनि कहिले घाम त कहिले बादल अनि बादल पछि वर्षा आउँछ। परिस्थितिहरू बदलिन्छन्, तर समत्वको अभ्यासले मन स्थिर रहन्छ। आजको प्रतिस्पर्धात्मक समाजमा गीता केवल धार्मिक ग्रन्थ होइन, जीवन व्यवस्थापनको उत्कृष्ट मार्गदर्शक हो ।
उपनिषद्को आत्मज्ञान : उपनिषद्ले मानव जीवनको सर्वोच्च उद्देश्य आत्मज्ञानलाई मानेका छन्। बाहिरी संसार परिवर्तनशील छ। शरीर परिवर्तन हुन्छ, सम्बन्ध परिवर्तन हुन्छ, परिस्थिति परिवर्तन हुन्छ तर आत्मा शाश्वत छ। जब मानिसले आफ्नो वास्तविक स्वरूपलाई चिन्न थाल्छ, तब बाहिरी उतारचढावले उसको शान्तिलाई धेरै प्रभावित गर्न सक्दैन। उपनिषद्को सन्देशले सिकाउँछ–साँचो आनन्द बाहिर होइन, आफ्नै अन्तरमनमा छ।
प्रकृति संरक्षण हाम्रो साझा जिम्मेवारी साउनको हरियाली केवल हेर्ने वस्तु होइन, जोगाउने जिम्मेवारी पनि हो । वन विनाश, नदी प्रदूषण, प्लास्टिकको अत्यधिक प्रयोग, जलवायु परिवर्तन र अव्यवस्थित सहरीकरणले प्रकृतिको सन्तुलन बिग्रिरहेको छ। यदि प्रकृति स्वस्थ रहिन भने मानव जीवन पनि सुरक्षित रहँदैन। हरेक नागरिकले वर्षमा कम्तीमा एउटा बिरुवा रोप्ने, प्लास्टिकको प्रयोग घटाउने, पानीको संरक्षण गर्ने र जैविक विविधताको सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक छ। किनकि हरियो पृथ्वी नै भावी पुस्ताका लागि सबैभन्दा ठूलो सम्पत्ति हो ।
अन्तरमनको हराभरा : साउनले प्रकृतिलाई हरियालीले सजाउँछ, तर यसको वास्तविक सन्देश मानिसको अन्तरमनलाई पनि हराभरा बनाउनु हो । जीवनमा सुख र दु : ख, सफलता र असफलता, मिलन र बिछोड आउनु प्रकृतिको अनवरत चक्र हो । जसरी वर्षाको स्पर्शले सुक्खा धर्तीमा नयाँ पालुवा पलाउँछन्, त्यसरी नै जीवनका कठिन अनुभवहरूले मानिसलाई परिपक्व, सहनशील र विवेकी बनाउने अवसर दिन्छन्।
प्रत्येक चुनौतीले हामीलाई केही नयाँ सिकाउँछ, हाम्रो धैर्यको परीक्षा लिन्छ र भित्र लुकेको सामथ्र्यलाई उजागर गर्छ। जब मानिस प्रतिकूल परिस्थितिमा पनि आफ्नो मनको सन्तुलन, करुणा, धैर्य, विश्वास र सकारात्मक सोचलाई जोगाइराख्न सक्षम हुन्छ। साउनको हरियालीले हामीलाई यही प्रेरणा दिन्छ– जसरी प्रकृतिले वर्षाको प्रत्येक थोपालाई स्वीकार गरेर नयाँ जीवनको सृष्टि गर्छ, त्यसरी नै हामीले पनि जीवनका चुनौतीहरूलाई सहज रूपमा स्वीकार गर्दै आफ्नो मनमा आशा, प्रेम, करुणा र आत्मचेतनाको हरियाली फुलाउनुपर्छ।
जब हाम्रो अन्तरमन हराभरा हुन्छ, तब बाहिरी संसारका परिवर्तनहरूले हाम्रो शान्ति र आनन्दलाई डगमगाउन सक्दैनन्। यही भित्री हरियाली नै सुखी, सन्तुलित र अर्थपूर्ण जीवनको वास्तविक आधार हो । वर्षाको थोपा स्वीकार गरेर हरियाली फैलाउँछ, त्यसरी नै हामीले पनि जीवनका चुनौतीलाई स्वीकार गरेर चेतनाको नयाँ फूल फुलाउनुपर्छ।
यो साउनमा केवल धर्तीलाई मात्र होइन, आफ्नो मनलाई पनि हराभरा बनाउनु छ। ध्यानलाई जीवन बनाउनु छ, योगलाई अनुशासन अनि प्रार्थनालाई शक्ति बनाउनु छ। त्यसैगरी, स्वाध्यायलाई ज्ञान बनाऔं, आत्मनिरीक्षणलाई विकासको मार्ग बनाऔं र प्रकृतिलाई आफ्नो परिवार सम्झेर संरक्षण गरौं। यही नै साउनको वास्तविक उत्सव हो । यही हरियाली जीवनको सच्चा सम्पन्नता हो । यही आध्यात्मिक चेतना, सकारात्मक सोच र प्रकृतिप्रतिको प्रेमले मानव जीवनलाई सार्थक, सफल, स्वस्थ र आनन्दमय बनाउन सक्छ।
प्रतिक्रिया दिनुहोस !