गगनको राजनीतिक बाटो

गगनको राजनीतिक बाटो

यतिबेला नेपाली कांग्रेसभित्रै असहमतिलाई सम्मान गर्ने संस्कृति क्रमश :  कमजोर भइरहेको छ।

साउनको पहिलो हप्ता बीपी स्मृति दिवस सम्पन्न भयो। हालसालै सकिएको विश्वकप फुटबलदेखि नै सानो छोरा श्रुहितले खेलकुद र राजनीतिबारे बहस पैरवी भइरहन्थ्यो। विश्वकप सकिएपछि स्मृति दिवसको अपडेट लिएको रहेछ । प्रसंगवश उसले प्रश्न गर्‍यो, बीपी कोइरालालाई नयाँ पुस्ताले कसरी सम्झने ? 

१० कक्षामा पढ्दै गरेको छोराले गरेको यो गम्भीर प्रश्नले मलाई तीन दशकअघिको राजनीतिक परिवेशसम्म डोर्‍यायो। आजभन्दा ३६ वर्षअघि मैले नेपाली कांग्रेसका पूर्वसांसद रामजीवन सिंहसँग दोलखामा यही प्रश्न गरेको थिएँ। मेरो प्रश्नको उत्तरको बदलामा सिंहले बीपी कोइरालाका दर्जनौं पुस्तक, दस्तावेज पढ्न दिनु भएको थियो। मेरो किशोरवय बीपीकै विचार र पुस्तकको सेरोफेरोमा बितेको थियो। त्यतिबेला मेरो आफ्नो युवाकालीन समयलाई राजनीतिक चेतनाका दृष्टिकोणले परिपक्व बनाउन पाएको थिएँ। यतिबेला सम्झँदा त्यो समय मेरो जीवनको एक स्वर्णिम समय थियो।

आज त्यही प्रश्न मेरो सानो छोराले गरिरहेको छ। तर, कहाँबाट सुरु गरौं मेरो छोराको उत्तर ? म अलिकति अलमलिएको छु। नेपाली कांग्रेसका संस्थापक, लोकतान्त्रिक समाजवादका प्रणेता विश्वेश्वरप्रसाद कोइराला एक महान् राजनीतिक चिन्तकमात्र होइन आधुनिक नेपालको अत्यन्तै प्रभावशाली नेता हुनुहुन्थ्यो।

राष्ट्रियता प्रजातन्त्रका लागि कसैसँग सम्झौता नगर्ने बीपी सहिष्णुता र वैचारिक बहसका लागि एक असाधारण व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो।
बीपी कोइरालाका अनुसार ‘लोकतन्त्र भनेको असहमतिलाई सम्मान गर्ने संस्कृति हो।’ तर यतिबेला नेपाली कांग्रेसभित्रै असहमतिलाई सम्मान गर्ने संस्कृति क्रमश :  कमजोर भइरहेको छ।

देशभरका कांग्रेस कार्यकर्ताहरूको गुनासो छ– कांग्रेसमा बीपीको तस्बिर बाँकी छ, तर बीपीको विचार क्रमश :  हराउँदै गएको छ। नयाँ पुस्ताका लागि त के कुरा दोस्रो पुस्ताकै नेताका लागि समेत ‘प्रजातान्त्रिक समाजवाद’ कुन चराको नाम हो थाहा छैन। बीपीले अवलम्बन गर्नु भएको राजनीतिक चरित्र र विचारको स्थानमा तिकडम, छलकपट र दम्भले ठाउँ लिएको छ, संवादको स्थान कुण्ठा र सत्तामोहले दिग्भ्रमित भएको छ।

नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस एक असामान्य अवस्थामा खुलेको पार्टी हो। नेपाली कांग्रेसले २००७ सालको प्रजातान्त्रिक क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६२÷६३ को ऐतिहासिक आन्दोलनको नेतृत्व गरेको गौरव बोकेको छ। नेपाली कांग्रेसको निर्माण बीपीका विचारसँगै हजारौं नेता र कार्यकर्ताको बलिदान, जेल, निर्वासन र त्यागको अभूतपूर्व जनबलबाट भएको हो।

बीपीले नेपाली कांग्रेसलाई जबरजस्ती निर्वाचन जितेर सरकार बनाउन मरिमेट्ने पार्टीका रूपमा होइन, राष्ट्र निर्माणको एक अथक अभियानका रूपमा परिकल्पना गर्नुभएको थियो। उहाँका लागि लोकतन्त्र सत्ता प्राप्तिको साधन होइन। नागरिक स्वतन्त्रता, सामाजिक न्याय र राष्ट्रियताको आधार थियो।
बीपीको राजनीतिक चिन्तन र बुझाइ यति सरल थियो कि जो कोहीले सजिलै बुझ्न सक्दथ्यो। समाजवाद र साम्यवादको फरकका विषयमा उहाँको स्पष्ट धारणा थियो– ‘समाजवाद भनेको पनि साम्यवाद नै हो त्यसमा प्रजातन्त्र थपिएको हुन्छ, साम्यवाद भनेको पनि समाजवाद नै हो त्यसमा प्रजातन्त्र झिकिएको हुन्छ।’ उहाँले नेपाली कांग्रेसलाई मजदुर, किसान, गरिब र मध्यमवर्गीय सवैको प्रिय बनाउनु भएको थियो।

दलित, महिला र पिछडिएका वर्गका लागि नेपाली कांग्रेसले अभिभावकत्व प्रदान गरेको थियो।उहाँले अवलम्बन गर्नुभएको प्रजातान्त्रिक समाजवाद तत्कालीन नेपालका लागि अत्यन्त महŒवपूर्ण राजनीतिक दर्शन थियो। सबैका घरमा एउटा दुहुनु गाई, एक हल गोरु, खाना र बस्ने बास होस् भन्ने परिकल्पना आजभन्दा आठ दशक अगाडि कति धेरै सान्दर्भिक थियो होला अनुमान गर्न सकिन्छ। 

बीपीको सपनामाथि राजा महेन्द्रले ‘राजनीतिक कू’ नगरेको भए आज नेपाल संसारका विकसित राष्ट्र«भन्दा कम हुने थिएन। तर, दुर्भाग्यवश नेपालको राजसंस्था न त नागरिक मैत्री बन्न सक्यो, न त देशको कुशल राजसंस्थाको रूपमा नेतृत्व प्रदान गर्न सक्यो। आज नेपाली कांग्रेसको नेतृत्वमा पुग्नेहरूमध्ये धेरैजसोलाई न त प्रजातान्त्रिक समाजवादको मर्म थाहा छ, न त बीपीले आत्मसात् गरेको राष्ट्रियता र राष्ट्रिय मेलमिलापको।

यतिबेला नेपाली कांग्रेस विग्रहको घडीमा पुगेको छ। यतिसम्म कि पार्टीका संस्थापक नेता बीपी कोइरालाको ४४औं स्मृति दिवससमेत नेताहरूले पार्टीको आधिकारिक मञ्चमा मनाउन सकेनन्। नेपाली कांग्रेसले जलवायुको विषयलाई जोडेर ‘ग्रिन रन’ कार्यक्रम आयोजना गर्‍यो। विशेष महाधिवेशनलाई अस्वीकार गर्ने समूहले कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाएनन्। राजनीतिक आदर्शको दुहाइ दिने पूर्णबहादुर खड्कामात्र होइन बीपीकै सुपुत्र पूर्वमहामन्त्री डा. शशांक कोइराला स्वयं पनि ‘ग्रिन रन’मा सहभागी भएनन्। यसका विपरीत नेपाल प्रज्ञा प्रतिष्ठानमा छुट्टै कार्यक्रमको आयोजना गरेर देउवा निकटले बीपी स्मृति दिवस मनाए। 

निवर्तमान सभापति शेरबहादुर देउवा लामो समयदेखि देश बाहिर छन्। उपचारका लागि भनिए पनि देउवा सम्भावित गिरफ्तारी टार्नका लागि देश बाहिरै बसेको तथ्य छिपेको छैन। उनको अनुपस्थितिमा उनको राजनीतिक रेखदेखको जिम्मा पाएका पूर्णबहादुर खड्काले देउवा समूहको नेतृत्व गरेका छन्। र, उनकै नेतृत्वमा छन् तीन दशकदेखि पार्टी र सत्ताको नेतृत्वमा बसेर रमाइरहेका सुकिलामुकिलाहरू। यही सुकिलामुकिलाहरूको समूहले साउन २९ गते विशेष भेलासमेत बोलाइएको छ। भेला आयोजना गर्ने जिम्मा प्रकाशमान सिंहले पाएका छन्। विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको सर्वोच्चमा उक्त निर्णयमाथि पुनरावलोकन गर्न देउवा पक्षले सर्वोच्चको ढोका ढकढक्याएको छ।

बीपी स्मृति दिवस मनाउन भनेर प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको भेलामा धेरै कांग्रेस इतर नेताहरूले नेपाली कांग्रेस पार्टी फोरेर नयाँ पार्टी बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। तर, साउन ७ गते नेपाली कांग्रेसले गरेको नयाँ अभियानको शुभारम्भ कार्यक्रममा नेताहरूले बीपीको स्मृति र चिन्तनका विषयमा महŒवपूर्ण छलफल गरेका थिए। सधैं सत्ताको स्वार्थमा रमाउँदा रमाउँदै धृतराष्ट्रका आँखा हालिसकेका पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालाई फेरि पनि चाहिएको छ सत्ताको सिरानी। त्यसका लागि कान्छाराम तामाङको चाबीभित्र खुम्चिएको छ पूर्णबहादुर खड्काको राजनीतिक भविष्य।

नेपाली कांग्रेसलाई सधैं गुटैगुटको चक्रव्यूहमा राखेर लोकतन्त्र, विकास र सामाजिक रूपान्तरणलाई तिलाञ्जली दिने यो समूहकै कारण यो पार्टी दिनदिनै मरेतुल्य बन्न पुगेको छ।

देउवाको लबेदाको फेर समातेर कांग्रेसको राजनीतिमा लागेका, लामो समयदेखि नेतृत्वपंक्तिमा रहेर पटक–पटक अवसर पाउँदासमेत डेलिभरी गर्न नसकेका असफलहरूको भिडबाहेक कुनै नयाँपन पूर्णबहादुर समूहले देखाउन सकेको छैन। नेपाली कांग्रेसलाई आफ्नो कब्जामा लिनेबाहेक खड्का समूहको कुनै एजेन्डा छैन। न राजनीतिक दृष्टिकोणमा नयाँपन छ, न सामाजिक उत्तरदायित्वको भूमिकामा नै। कांग्रसको दोस्रो पुस्ता भनिने यो समूह नेपाली कांग्रेसकै इतिहासमै सबैभन्दा ‘निकम्मा समूह’ बन्न पुगेको छ। नेपाली कांग्रेसलाई सधैं गुटैगुटको चक्रव्यूहमा राखेर लोकतन्त्र, विकास र सामाजिक रूपान्तरणलाई तिलाञ्जली दिने यो समूहकै कारण नेपाली कांग्रेस दिनदिनै मरेतुल्य बन्न पुगेको छ।

स्वस्थानी व्रतकथामा एउटा प्रसंग उल्लेख छ। स्वस्थानीको प्रसाद सकेसम्म आफ्ना पतिलाई दिने, पति नभए छोरालाई, छोरा नभए मित छोरालाई र मित छोरा पनि नभए खोलामा बगाइदिनू भने जस्तै सकभर आफू, आफू नभए आफ्नो गुट, त्यो पनि नभए लोकतन्त्रकै विरुद्धमा खडा हुनु नै यिनको राजनीतिक चरित्र भएको छ। अझ नयाँ पुस्ता भनिने केही युवाहरू कांग्रेसका नाममा ‘टोले ठेकेदार’ भन्दा माथि उठ्न सकेनन्। यिनीहरूको दैनिकी दाइहरूको चाकडीबाट सुरु भएर साँझको अन्त्य दाजुहरूकै निकटतम कुनै ठेकेदारले स्पन्सर गरेको ‘निम्नकोटीको दारु’ बाट हुने गरेको छ।

यिनीहरू नेपाली कांग्रेसका सभापति गगन थापासँग न राजनैतिक संवाद गर्न सक्षम छन् न गगनसँग राजनीतिक मुकाबिला गरेर आफ्नो स्थान बनाउन सक्षम छन्। उनीहरू नै घोक्रो सुक्ने गरी चिच्याउँदैछन् नेपाली कांग्रेसले बीपीको राजनीतिक सिद्धान्तलाई बोक्न सक्दैन भनेर। यतिबेला नेपाली कांग्रेस महत्वपूर्ण मोडमा आइपुगेको छ। 

राजनीतिको नाममा पुरानो विचारलाई बोकिराख्ने वा नयाँ सुसंस्कृत राजनीतिको सुरुवात गर्ने ? सम्भवत नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको टिमले राजनीतिक संस्कार र मान्यतालाई अगाडि सार्ने दृष्टता गरेका छन्। जुन नेपाली कांग्रेसप्रति भरोसा बढ्ने निश्चित प्राय :  छ।

यतिबेला नेपाली कांग्रेसको पुनर्गठन र रूपान्तरण कांग्रेस सभापति थापाका मुख्य चुनौती र एजेन्डा हुन्। यही एजेन्डाका आधारमा विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भए । विशेष महाधिवेशनबाट प्रारम्भ भएको कांग्रेसको रूपान्तरण प्रक्रियाले राजनीतिक सन्तुलन, धैर्य, परिपक्व निर्णय क्षमता र पार्टीलाई पूर्र्ण ‘मासबेस’ पार्टीमा रूपान्तरण गर्न गगन कति सफल हुन्छन् त्यसैमा नेपाली कांग्रेसको भविष्य निर्धारण गर्दछ। 

नेपाली कांग्रेसलाई असन्तुष्ट गुटैगुटको चक्रव्यूहबाट बाहिर निकालेर बीपीले अवलम्बन गर्नुभएको सैद्धान्तिक धरातललाई अझै फराकिलो बनाउने जिम्मेवारी पनि गगनले पाएका छन्। दसतिर टाउको फर्काएर बसेका ‘दशमुख’ लाई कांग्रेसको मूलधारमा ल्याउन आजको अवस्था अत्यन्तै कठिन देखिएको छ। तर, कुनै समय सर्वशक्तिमान राजा ज्ञानेन्द्रका सामु नझुकेका गगनले आफ्नो राजनैतिक कुशलतालाई पक्कै पनि कमजोर हुन दिने छैनन्।

बीपीको समयभन्दा एक्काइसौं शताब्दीको वर्तमान समय धेरै अर्थमा फरक भएको छ। राजनैतिक चेतना र सामाजिक आर्थिक परिवेशले समेत नागरिकका आधारभूत आवश्यकतामा व्यापक परिवर्तन भएको छ।  त्यसैले बीपीको प्रजातान्त्रिक समाजवादको मूल मर्मलाई बुझेर कांग्रेसले लिने राष्ट्रियता, लोकतन्त्र, सैद्धान्तिक अडान र सार्वभौम नागरिकको गरिमाले नै अबको लोकतन्त्रलाई मजबुत बनाउन सक्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.