नेपाल भलिबल संघले अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने
काठमाडौं : नेपाल भलिबल संघले चालू आर्थिक वर्षमा ४ वटा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। सोमबार काठमाडौंमा आर्थिक वर्ष ०८३/०८४ को वार्षिक कार्यक्रम सार्वजनिक गर्दै संघले चालू आर्थिक वर्षमा नेपालमा सेन्ट्रल एशियन भलिबल एसोसियसन (काभा) महिला च्याम्पियन्स लिग, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा पुरुष च्यालेन्ज कप र थ्री नेसन्स कप प्रतियोगिता आयोजना गर्ने जनाएको हो। महिला च्याम्पियन्स लिग १ देखि ७ सेप्टेम्बरसम्म काठमाडौंमा हुने संघले जनाएको छ।
संघले ३५औंपुरुष तथा २५औं महिला राष्ट्रिय भलिबल प्रतियोगिता सुर्खेतमा, १०औं क्लब भलिबल च्याम्पियनसिप, काठमाडौंमा, ११ औं प्रधानमन्त्री कप र ७ औं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल आयोजना गर्ने समेत जानकारी गराएको छ।
त्यस्तै सेप्टेम्बरमा काभा बिच भलिबल खेल्न नेपाली टोली भुटान जानेछ भने जापानमा हुने २०औं एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टोलीले सहभागी जनाउने संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए। अन्तर्राष्ट्रिय र संघले गर्ने प्रतियोगिताहरू इन्डोरमै गर्नुपर्ने भएकाले भौतिक पूर्वाधारको आवश्यकता रहेको भन्दै उनले निजी साझेदारीलाई अवलम्बन गर्दै क्यालेन्डर सार्वजनिक गरिएको बताए।
उनले राष्ट्रिय खेल भलिबलको भौतिक पूर्वाधार निर्माणमा नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषदको ध्यान जानुपर्ने बताए। नोभेम्बरमा आयोजना हुने काभा महिला च्याम्पियन्स लिग जितेमा नेपाली क्लबले सन् २०२७ को एसियन च्याम्पियन्स लिगमा स्थान बनाउन सक्ने उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !