लक्ष्मीको शव १३ दिनदेखि अस्पतालमै अलपत्र

लक्ष्मीको शव १३ दिनदेखि अस्पतालमै अलपत्र
सुन्नुहोस्

वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाउँपालिका-१ सिद्धपुरमा साउन ६ गते बिहान मृत अवस्थामा भेटिएकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव नारायणी अस्पतालमै रहेको छ। 

पर्साकै ठोरी–३ रामनगरमा माइती भएकी दुई सन्तानकी आमा लक्ष्मी साउन ६ गते बिहान आफ्नै घर छेउको गोठमा मृत फेला परेकी थिइन्। तर, उनको मृत्यु आत्महत्याका कारण नभई हत्या गरेर शव गोठमा झुण्ड्याइएको माइती पक्षको आरोप छ। मृतक लक्ष्मीको शव नारायणी अस्पतालमा पोस्टमार्टम गरे पनि माइती पक्षले नबुझेका कारण लक्ष्मीको शव १३ दिन देखि अस्पतालकै शवगृहमा राखिएको छ। माइती पक्षले अस्पतालको पोस्टमार्टम रिपोर्ट गलत रहेको भन्दै शव बुझ्न मानेका छैनन्। 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार प्रहरीलाई गत शनिबार अस्पतालबाट प्राप्त पोस्टमार्टम रिपोर्टमा खड्काको मृत्युको कारण हत्या नभई लक्ष्मी आफैंले पासो लगाएर आत्महत्या गरेको भन्ने उल्लेख छ। यसैबीच माइती पक्षले सोमबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर लक्ष्मीको कुटपिट गरी हत्या गरिएको भए पनि अस्पतालको पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण पासो लगाएर आत्महत्या गरेको उल्लेख गरिएको बताएका छन्। उक्त रिपोर्ट नै गलत भएको माइती पक्षको आरोप छ। 

पत्रकार सम्मेलनमा मृतकका मामा इन्द्र बहादुर बस्नेतले खड्कालाई लक्ष्मीका पतिसहित सासु र ससुराले मिलेर कुटपिट गरि मारेर शव गोठमा झुण्ड्याइ दिएको अवस्थामा भेटिएको बताए। ‘साउन ६ गते बिहान गोठमा आफूहरू गोठमा पुग्दा लक्ष्मीको शव पासो काटेर भुइँमा सुताएर राखेको अवस्थामा भेटिएको, गोठमा लक्ष्मीका चुराहरु फुटेर छरिएको अवस्थामा भेटिएको , साउन ५ गते बेलुकी पति र पत्नीबीच झगडा भएको, झगडा भएको कोठाको बरन्डा बाहिर रगतको टाटा पनि देखिएको भन्दै मृतकका मामा बस्नेतले भने, घटनास्थलमा भेटिएका दसी प्रमाणले पनि आत्महत्या नभई हत्या नै भएको प्रष्ट देखिन्छ। तर पोस्टमार्टम रिपोर्टमा झुठो कारण देखाइएको छ।’ 

मृतक लक्ष्मीका आमा र बुबासमेत सहभागी पत्रकार सम्मेलनमा मामा बस्नेतले मृत्युको वास्तविक कारण खुल्ने गरी पोस्टमार्टम रिपोर्ट नआएसम्म र हत्यामा संलग्नहरूलाई कसुर अनुसारको कारबाही प्रक्रिया अगाडि नबढाएसम्म शव आफूहरूले नबुझ्ने बताए। 

उक्त घटनामा मृतक लक्ष्मीका पति सुधिर सिलवाल, सासु, ससुराका साथै सुधिरका दिदी र भिनाजु पनि संलग्न रहेको आरोप माइतीपक्षको छ। सोमबारको पत्रकार सम्मेलनमा ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली रेग्मी, रास्वपाका गाउँपालिका सभापति माधव बस्नेत, स्थानीय अगुवा धीर सिंह लगायतपनि सहभागी थिए। 

यसअघि साउन ११ गते पनि माइती पक्षका परिवारजन र गाउँलेहरूले र ठोरीबाट सदरमुकाम वीरगन्ज आएर प्रदर्शन गरेका थिए। त्यस दिन मृतक लक्ष्मीकी माइतीघर रहेको ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुलजी रेग्मीसहितका महिला अगुवाहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई भेटेर उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै ज्ञापनपत्र पनि बुझाएका थिए। 

मृतक लक्ष्मीका माइती पक्षका आफन्तका अनुसार लक्ष्मीका पति सुधिर नेपाली सेनाका अवकाश प्राप्त कर्मचारी हुन्। लागू पदार्थको सेवनकर्ता समेत रहेका सुधिरले र उनका परिवारका सदस्यले पत्नी लक्ष्मीसँग पटक-पटक झगडा गर्दै कुटपिट गर्ने गरेको माइती पक्षले बताउँदै आएका छन्। 

यता प्रहरीले भने मृतक लक्ष्मीका पति सुधिरलाई घटना भएकै दिन नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक मल्लले बताए। त्यस दिनै सासु र ससुरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको भए पनि वृद्ध अवस्थाका कारण मृतककै आफन्तहरूको सहमतिमा उनीहरू दुवै जनालाई प्रहरीले तारेखमा छाडेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.