मधेस मन्थन : सद्भावको संकल्प

उक्साहट र अफवाहबाट जोगिँदै मधेस

मधेस चाहन्छ सद्भाव

उक्साहट र अफवाहबाट जोगिँदै मधेस
सुन्नुहोस्

पछिल्ला केही घटनाक्रमका कारण अशान्त र त्रसित बनेको मधेस यतिबेला पुनः सद्भाव, सहअस्तित्व र समृद्धिको खोजीमा छ । राजनीतिक प्रतिशोध र धार्मिक सन्तुलन बिगार्ने प्रयासहरू भइरहँदा मधेसका बुद्धिजीवी, नागरिक समाज र धार्मिक अगुवाहरूले बाहिरी उक्साहट र अतिवादबाट जोगिन आह्वान गरेका छन् । राज्यको सकारात्मक दृष्टिकोण, दोषीमाथि निष्पक्ष छानबिन र वैचारिक चेतनाको विकासबाट मात्रै मधेसको वास्तविक शान्ति र समृद्धि सम्भव हुने उनीहरूको निष्कर्ष छ ।

जनकपुरधाम : मधेस यतिबेला हिंसात्मक घटनाका कारण त्रासदीमा छ।  पछिल्ला वर्षहरूमा विभिन्न राजनीतिक द्वन्द्व र प्रतिशोधहरूको सिकार मधेस बन्न पुग्यो। यहाँको विकास र समृद्धिलाई मतलब नै नगरी वैमनस्यको भूमिका रूपमा चित्रण गर्ने प्रयास भइरहेको छ। तर, यो सत्य होइन। अब मधेसले सद्भाव चाहेको छ, समृद्धि खोजेको छ, हार्दिकता चाहेको छ। यहाँका मानिसहरूले अवसर र सम्भावना चाहेका छन्।

अन्नपूर्ण डायलगमा हामीले ‘मधेस मन्थनः सद्भावको संकल्प’ शृंखलाबद्ध रूपमा सुरु गरेका छौं। यही क्रममा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूसँग भएको संवाद यहाँ प्रस्तुत गरिएको छः

मधेसलाई राज्यले सकारात्मक दृष्टिकोणले हेर्नुपर्‍यो

- जीवनाथ चौधरी
अध्यक्ष, मैथिली विकास कोष, जनकपुरधाम

मधेसमा विगत र अहिलेको अवस्था फरक छ। यो भूमिलाई राजनीतिका लागि मात्रै प्रयोग गर्ने गरिन्छ। मधेस आन्दोलनभन्दा अगाडिको परिवेश भिन्दै थियो। तर, नागरिकता टोलीबाट टोलपिच्छे नागरिकता बाडिँदा सीमापारिबाट आएर नागरिकता बनाउनेहरूले यस भूमिलाई आफ्नो ठानेकै छैनन् जस्तो मलाई लाग्छ।

पछिल्ला आन्दोलनहरूमा एउटा कुरा निकै विचार गर्नुपर्ने थियो। यहाँका सार्वजनिक सम्पत्तिहरू नाश गर्ने र उत्पात मच्चाउनेहरूमा ती बाहिरबाट आएका तत्वहरूको पनि हात छ जस्तो मलाई लाग्छ। त्यसैले यी कुराहरूको पनि विश्लेषण हुनु जरुरी छ।

अर्कोतर्फ मधेसलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक र सद्भावपूर्ण हुनुपर्छ। यो धर्तीलाई मात्रै राजनीतिका लागि प्रयोग नगरेर विकास र समृद्धिका लागि पनि प्रयोग गरिनुपर्छ। पछिल्लो पटक भएका द्वन्द्वका घटनामा क–कसको संलग्नता रह्यो भन्ने विषयमा जाँचबुझ गर्न उच्चस्तरीय समिति नै बनाएर सरकारले गहन छानबिन गर्नु जरुरी छ। दोषीहरूलाई कडाभन्दा कडा कारबाही भयो भने मात्रै आगामी दिनहरूमा गलत क्रियाकलाप र हिंसा फैलाउनेहरूको मनोबल निस्तेज गर्न सकिन्छ। 

धार्मिक सहिष्णुता र अपनत्वको विकास चाहिएको छ

- रामरोशन दास
उत्तराधिकारी महन्थ, जानकी मन्दिर

यो देश बहुभाषिक र बहुधार्मिक भए पनि बहुसंख्यकहरूको आस्थाको सम्मान गरिनुपर्छ। कुनै समय थियो, जब यहाँ हिन्दुहरूको घरमा छठको तयारी भइरहँदा मुस्लिम समुदायका छिमेकीहरू त्यसमा सघाउन आउँथे। यहाँ दसैं र दाहाको मेला सँगसँगै लाग्थ्यो। तर, अहिले अवस्था फरक छ।

धर्मका नाममा एकअर्कालाई लडाएर आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थ पूर्ति गर्न खोज्नेहरूले रोपेको बिउलाई हामी मधेसवासीहरूले मलजल गर्नु हुँदैन। जबसम्म हामी एकअर्काको सम्मान गर्दैनौं, तबसम्म समाज बलियो र सबल हुन सक्दैन। 

सबै धर्मले एउटै बाटो देखाएका छन् र त्यो हो शान्ति र सद्भावको बाटो। हामी अब सद्भावको बाटोमा गएनौं भने यसको विपरीत परिस्थितिले हाम्रा पुस्ताहरूलाई प्रभावित पार्छ। त्यसैले सबै मिलेर गलत क्रियाकलाप, गलत मनोभावना र गलत प्रयोगहरूलाई निस्तेज गर्न लाग्नुपर्छ। 

हाम्रो पवित्र भूमिलाई बदनाम नगरौं

​​​​​​​- असगर अली
पूर्वउपप्रमुख, जनकपुरधाम उपमहानगरपालिका

म मधेस प्रदेशवासी भएर सधैं गौरवान्वित हुन्छु। यो पवित्र जनकपुरधाम विश्वकै हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो। यो प्रेम र सद्भावको स्थल हो। यहाँ हरेक पर्व समान हर्षोल्लासका साथ मनाइन्छ। यो त दुनियाँकै दस्तुर हो कि बहुसंख्यकलाई प्राथमिकता दिनुपर्छ, सम्मान गर्नुपर्छ र अल्पसंख्यकहरू तिनीहरूसँगै मिलेर बस्नुपर्छ। तर, यस्ता सम्मानहरूमा कमी ल्याउने प्रयास बाहिरी तत्वहरू र केही अतिवादीहरूबाट हुन्छ।

यस्ता मधेस विरोधी व्यक्ति, शक्ति र षड्यन्त्रकारीहरूलाई पहिचान गरिनुपर्छ। यस्ता दोषीहरूलाई समाजले कडाइका साथ नियन्त्रण गर्नुपर्छ। अफवाहहरूको पछाडि नलागी हामी सबैले सद्भाव कायम गरेर जनकपुरधाम र मधेसलाई बदनाम नगरी शान्तिपूर्वक बसोबास गर्नु नै हामी सबैका लागि कल्याणकारी हुन्छ। 

हामी अर्काको लहलहैमा लागेर मधेस बिगार्ने काम नगरौं

​​​​​​​- शिला मिश्रा
पूर्वसदस्य, मधेस नीति आयोग, मधेस प्रदेश
अहिले हाम्रो समाजमा मानवताको भावना नै हराएको छ जस्तो लाग्छ। वास्तविक जनताले कुनै पनि हिंसा, द्वन्द्व वा प्रतिशोध चाहेका छैनन्। तर, आफ्नो मुद्दा साध्नका लागि केही समूह, केही राजनीतिक दल र केही व्यक्तिहरूले अशान्तिको वातावरण सिर्जना गर्दै आएका छन्।

एउटा कुरा बुझ्न आवश्यक छ— यदि हाम्रै घरमा बाहिरबाट आएका कसैले फुट ल्याउन खोज्दा हामीले आफ्नो बुद्धि–विवेक पुर्‍याएनौं भने हामी बर्बाद हुन्छौं। समाजमा पनि यही अवस्था छ। अर्काले भनेअनुसार हामी प्रयोग हुनुहुँदैन, आफ्नो विवेक प्रयोग गर्नुपर्छ। यो हरेक कुरामा लागू हुन्छ। यदि राजनीतिमै गलत अभ्यास भइरहेको छ भने हामी त्यसमा लाग्नु भएन।

धर्मकै मामिलामा यदि कसैले हामीलाई बहकाउन खोजेको छ भने हामी सचेत भएर पहिला सोच्नुपर्छ। मधेसवासीले अब आफ्नो हितमा सोच्नुपर्छ, न कि अर्काको हितका लागि प्रयोग हुनुपर्छ।

सहअस्तित्व, सद्भाव र संयमता जरुरी

दिवाकर उप्रेती
युवा अभियन्ता, जनकपुरधाम

मधेसमा अहिले सहअस्तित्व, सद्भाव र संयमताको आवश्यकता छ। तर, यो सब कायम गर्नका लागि हामीले एउटा चेतनाशील समाज निर्माण गर्न सक्नुपर्छ।

चेतनाशील समाज निर्माणमा चुनौती कहाँ छ भने, हामी लोकतान्त्रिक अभ्यासमा गएदेखि नै सरकारमा रहेका नेतृत्वकर्ताहरूले मठमन्दिर, गुम्बा, चर्च र मदरसा निर्माणका लागि बजेट त छुट्याए, तर त्यसमा सहअस्तित्व कायम गराउनका लागि पुस्तकालय र पठन संस्कृतिको विकास हुने ठाउँहरू (जहाँ युवा र बौद्धिक वर्गहरूले गएर आफ्नो चेतनाको विकास गर्न सक्थे) निर्माणमा ध्यान दिन सकेनन्।

जसले गर्दा विचारमाथिका छलफलहरू रोकिए, सद्भावपूर्ण वातावरण निर्माणमा बाधा उत्पन्न भयो, अनि धर्मकै विषयमा जुन खुलस्त छलफलहरू हुनुपर्ने थियो, त्यो हुन सकेन। यसले गर्दा आजको दिनमा मधेसको सद्भावलाई थप बलियो बनाउने आधार गुमेको जस्तो लाग्छ। अबको आवश्यकता मधेसमा चेतनाको अभिवृद्धि र बौद्धिक विकासमा लगानी गर्नु हो। यसतर्फ सरकार लाग्नुपर्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.