विकासको मूल्य धुलो होइन, स्वच्छ वातावरण
काठमाडौं उपत्यका नेपालको राजधानीमात्र होइन, देशको विकास, आर्थिक गतिविधि, प्रशासनिक निर्णय र सहरीकरणको केन्द्र पनि हो। विगत दुई दशकयता यहाँ सडक विस्तार, खानेपानी आयोजना, ढल प्रणाली, विद्युत् तथा सञ्चारका तार भूमिगत गर्ने कार्य, पुल तथा फ्लाइओभर निर्माण, निजी तथा सार्वजनिक भवनहरू निर्माणजस्ता पूर्वाधार विकासका काम तीव्र गतिमा भइरहेका छन्। विकासका यी गतिविधिहरूले आधुनिक सहर निर्माणको संकेत त अवश्य दिएको छ, तर त्यससँगै एउटा गम्भीर प्रश्न पनि जन्मिएको छ त्यो भनेको के हामीले विकाससँगै स्वच्छ वातावरणको अधिकारलाई पनि समान महत्व दिएका छौं त ?
आज काठमाडौंमा बिहान घरबाट निस्कने अधिकांश मानिसको पहिलो आवश्यकता छाता वा ज्याकेट होइन, मास्क बनेको छ। सडकमा केही समय हिँड्दा आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने र सास फेर्न असहज हुने अनुभव धेरैका लागि सामान्यजस्तै बनिसकेको छ। यो अवस्था कुनै संयोग होइन; अव्यवस्थित सहरीकरण, कमजोर निर्माण व्यवस्थापन र प्रभावकारी वातावरणीय शासनको अभावले सिर्जना गरेको वास्तविकता हो।
विकासका नाममा उठेको धुलोले आज नागरिकको स्वास्थ्यमाथि मौन आक्रमण गरिरहेको छ। पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यका अन्तर्राष्ट्रिय वायु गुणस्तर सूचकांकमा पटक–पटक विश्वकै अत्यधिक प्रदूषित सहरहरूमध्ये पर्ने गरेको छ। यद्यपि यस्तो सूचकांक दिनअनुसार परिवर्तन हुन्छ, यसले एउटा स्थायी सन्देश भने दिन्छ काठमाडौंको वायु प्रदूषण अब मौसमी समस्यामात्र रहेन; यो सहरी व्यवस्थापनको संरचनागत चुनौती बनिसकेको छ। यदि अहिले नै प्रभावकारी कदम चालिएन भने विकासको मूल्य भावी पुस्ताले आफ्नो स्वास्थ्यबाट चुकाउनु पर्नेछ।
विश्व स्वास्थ्य संगठनले सन् २०२१ मा सार्वजनिक गरेको एयर क्वालिटी गाइडलाइन्सले वायु प्रदूषणलाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकटका रूपमा व्याख्या गरेको छ। विशेषगरी सूक्ष्म धुलोका कण मानव स्वास्थ्यका लागि अत्यन्त जोखिमपूर्ण मानिन्छन्। असाध्यै साना धुलोका कणहरू नाक वा घाँटीमा मात्र अडिँदैनन् फोक्सो हुँदै रगतसम्म पुग्न सक्छन्। वैज्ञानिकहरूको अध्ययनले यस्ता कणहरूले दम, दीर्घ श्वासप्रश्वास रोग, मुटुरोग, मस्तिष्काघात तथा समयअगावै मृत्युको जोखिमसमेत बढाउने देखाएका छन्। यसको अर्थ धुलो केवल सडक फोहोर बनाउने समस्या होइन; यो अस्पतालको बढ्दो चाप, घट्दो श्रम उत्पादकत्व, बालबालिकाको स्वास्थ्य, ज्येष्ठ नागरिकको जीवन र समग्र सार्वजनिक स्वास्थ्यसँग जोडिएको राष्ट्रिय चुनौती हो। स्वच्छ हावा गुमाउनु भनेको केवल वातावरण बिग्रनु होइन, राष्ट्रको मानव पुँजी कमजोर हुनु पनि हो।
नेपालको संविधानले यस विषयलाई अत्यन्त गम्भीर रूपमा लिएको छ। संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ। यसले राज्यलाई वातावरण संरक्षण गर्ने संवैधानिक दायित्व दिएको छ। त्यसैगरी वातावरण संरक्षण ऐन, २०७६ ले विकास आयोजना सञ्चालन गर्दा वातावरणमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्नुपर्ने, प्रदूषण नियन्त्रणका उपाय अनिवार्य रूपमा अपनाउनुपर्ने तथा वातावरणीय व्यवस्थापन योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ। वातावरण संरक्षण नियमावली, २०७७ ले पनि वातावरणीय अध्ययन, अनुगमन र सुधारात्मक उपायलाई कानुनी रूपमा अनिवार्य बनाएको छ।
काठमाडौंको वायु प्रदूषणलाई बुझ्न यसको भूगोल पनि बुझ्न आवश्यक छ। चारैतिर पहाडले घेरिएको काठमाडौं उपत्यका प्राकृतिक रूपमा एउटा बटुकाको आकार जस्तो छ। यस्तो भौगोलिक बनावटमा हावा सहज रूपमा आवतजावत गर्न सक्दैन। विशेषगरी हिउँद र सुक्खा मौसममा हुने तापक्रम उल्टिने प्रक्रियाका कारण सामान्य अवस्थामा जमिन नजिकको तातो हावा माथि उठ्छ र माथिको चिसो हावा तल झर्दै हावाको प्राकृतिक मिश्रण हुन्छ। यस प्रक्रियाले धुलो, धुवाँ र अन्य प्रदूषणहरूलाई माथिल्लो वायुमण्डलतर्फ फैलिन मद्दत गर्छ। तर तापक्रमीय उल्टोपन भएको अवस्थामा यसको ठीक विपरीत, जमिन नजिक चिसो हावा थुनिन्छ र त्यसभन्दा माथि तातो हावाको तह बन्न पुग्छ। यो तातो तहले ढकनी जस्तै काम गर्दै तलको प्रदूषित हावालाई माथि उठ्न दिँदैन।
फलस्वरूप धुलो, धुवाँ, सवारीसाधनबाट निस्कने सूक्ष्म कण उद्योग तथा इँटा भट्टाबाट उत्सर्जित प्रदूषणहरू उपत्यकाभित्रै थुनिन्छन् र वायुको गुणस्तर तीव्र रूपमा बिग्रन्छ। प्रदूषित हावा माथि उठ्न नसकी जमिनको सतह नजिकै थुनिने कारण धुलो, धुवाँ र अन्य प्रदूषणहरू लामो समयसम्म उपत्यकामै जमिरहन्छन्। यही कारण समान मात्राको प्रदूषणले पनि काठमाडौंमा अन्य खुला भूभागको तुलनामा धेरै प्रभाव पार्छ।
यही अवस्थालाई इसिमोडले पनि हिमाली उपत्यकाहरूमा वायु प्रदूषण नियन्त्रणका लागि विशेष रणनीति आवश्यक हुने कारणमध्ये एक मानेको छ। काठमाडौंको धुलोका स्रोतहरू बहुआयामिक छन्। सबैभन्दा पहिलो स्रोत अव्यवस्थित निर्माण कार्य हो। सडक विस्तार, खानेपानी, ढल, विद्युत् र अन्य पूर्वाधार निर्माणका क्रममा निर्माणस्थललाई खुला छोड्ने, पानी नछर्किने र धुलो नियन्त्रणका अस्थायी संरचना नबनाउने प्रवृत्ति व्यापक छ। निर्माण सम्पन्न भएपछि सडकलाई समयमै कालोपत्रे नगर्दा सवारीको आवागमनसँगै ठूलो मात्रामा धुलो उड्छ।
दोस्रो ठूलो स्रोत निर्माण सामग्रीको ढुवानी हो। काठमाडौं उपत्यकाबाहिरबाट आउने टिप्पर र ट्रकहरूले बालुवा, गिट्टी, माटो तथा सिमेन्ट खुला रूपमा ढुवानी गर्ने गरेका छन्। धेरै सवारीसाधनका टायरमा टाँसिएको माटो सडकमा फैलिन्छ। त्यसपछि हजारौं साना–ठूला सवारीसाधनको आवागमनले त्यही माटोलाई सूक्ष्म धुलोमा परिणत गर्छ। यदि निर्माण सामग्री अनिवार्य रूपमा ढाकेर ल्याउने र काठमाडौं प्रवेश गर्ने प्रमुख नाकामा गाडी वास सिस्टम स्थापना गर्ने व्यवस्था लागू गर्न सकियो भने धुलोको ठूलो हिस्सा प्रारम्भिक चरणमै नियन्त्रण गर्न सकिन्छ।
तेस्रो स्रोत भनेका पुराना र अत्यधिक प्रदूषण गर्ने सवारीसाधन हुन्। डिजेलबाट चल्ने पुराना बस, ट्रक तथा अन्य सवारीसाधनले उत्सर्जन गर्ने धुवाँमा मिसिने सूक्ष्म कणहरूले धुलोको प्रभावलाई अझ गम्भीर बनाउँछन्। अत्याधिक धुवाँ फाल्ने सवारीसाधन काठमाडांैको सडकमा ठूलो संख्यामा गुड्छन्। यसका अतिरिक्त सडक किनारमा थुपारिएका निर्माण सामग्री, खुला जग्गा, नदी किनारका सुक्खा क्षेत्र तथा कच्ची सडकहरू पनि धुलोका स्थायी स्रोत बनेका छन्।
वास्तवमा काठमाडौंको समस्या धुलो उत्पादन हुनुमात्र होइन; धुलो उत्पादन गर्ने प्रत्येक स्रोतलाई नियन्त्रण गर्ने स्पष्ट प्रणालीको अभाव हो। विकास आयोजना सञ्चालन गर्ने निकाय, सडक विभाग, स्थानीय सरकार, निर्माण कम्पनी, यातायात व्यवसायी र नागरिक—सबैको जिम्मेवारी जोडिने विषयलाई अहिलेसम्म कसैले पनि समग्र रूपमा लिएको देखिँदैन। यही कारण विकासका प्रत्येक नयाँ आयोजनासँगै धुलो पनि समानान्तर रूपमा विस्तार हुँदै गएको छ।
काठमाडौंले विश्वका सफल सहरहरूबाट धेरै कुरा सिक्न सक्छ। सिंगापुरमा निर्माण अनुमति प्राप्त गर्नुअघि नै धुलो नियन्त्रणका उपायहरू स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्छ। निर्माणस्थल वरिपरि धुलो रोक्ने जाली, नियमित पानी छर्किने प्रणाली, सडक सफा गर्ने उपकरण तथा सामग्री ढाकेर मात्र ढुवानी गर्ने व्यवस्था कडाइका साथ लागू गरिन्छ। नियम उल्लंघन गर्ने कम्पनीलाई ठूलो आर्थिक जरिवाना र काम रोक्ने अधिकार सरकारसँग हुन्छ।
दक्षिण कोरियाको सियोलले अत्याधुनिक भ्याकुम रोड स्विपर, स्वचालित सडक धुने सवारी, हरित करिडोर र प्रदूषणको वास्तविक समय अनुगमन प्रणालीमार्फत सडकधुलो नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ। जापानको टोकियोमा निर्माण कम्पनीले धुलो नियन्त्रण योजना स्वीकृत नगरी कुनै ठूलो आयोजना सुरु गर्न पाउँदैन। निर्माण अवधिभर वातावरणीय मापदण्डको नियमित निरीक्षण गरिन्छ। यी माथिका देशहरूको उदहारण हेर्दा धुलो नियन्त्रण प्रविधिको मात्र होइन, कडा प्रशासनिक अनुशासनको पनि विषय हो।
नेपालले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (एसडीजी ११) अन्तर्गत सुरक्षित, समावेशी, लचिलो र दिगो सहर निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। तर दिगो सहरको पहिलो सर्त नै स्वच्छ हावा हो। यदि नागरिकले स्वस्थ भएर सास फेर्न सक्दैनन् भने स्मार्ट सिटी, नयाँ सहर, आधुनिक सडक वा अग्ला भवनको अर्थ सीमित हुन्छ।
अब प्रश्न उठ्छ—काठमाडौंलाई धुलोमुक्त बनाउन के गर्न सकिन्छ ? सबैभन्दा पहिले संघीय सरकारले राष्ट्रिय वायु गुणस्तर व्यवस्थापनलाई उच्च प्राथमिकता दिनुपर्छ। निर्माण आयोजनाका लागि डस्ट म्यानेजमेन्ट योजना अनिवार्य लागू गर्नुपर्छ। वातावरणीय प्रभाव मूल्यांकनमा धुलो नियन्त्रणको स्पष्ट मापदण्ड समावेश गर्नुपर्छ। स्वच्छ सार्वजनिक यातायातलाई प्रोत्साहन गर्ने, पुराना प्रदूषणकारी सवारीसाधन क्रमश : विस्थापन गर्ने तथा वायु गुणस्तर अनुगमन केन्द्रहरूको संख्या बढाउने काम संघीय सरकारको नेतृत्वमा हुनुपर्छ। बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा प्रवेश गर्ने निर्माण सामग्रीको ढुवानी व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ। प्रमुख प्रवेश नाकाहरूमा गाडी वास सिस्टम स्थापना गरी सवारीसाधनका टायर सफा गर्ने व्यवस्था गर्न सकिन्छ। निर्माणसामग्री अनिवार्य रूपमा ढाकेरमात्र ढुवानी गर्नुपर्ने नियम कडाइका साथ लागू गर्नुपर्छ। प्रदेशस्तरबाट अन्तरपालिका समन्वय गरी सडक मर्मत तथा प्रदूषण नियन्त्रण कार्यक्रम सञ्चालन गर्न सकिन्छ।
काठमाडौं महानगरपालिका तथा उपत्यकाका अन्य स्थानीय तहको भूमिका सबैभन्दा निर्णायक हुन्छ। नियमित सडक धुने, आधुनिक भ्याकुम रोड स्विपरको संख्या बढाउने, फुटपाथमा परमिएवल टायल्सको प्रयोग गर्ने, खुला रूपमा निर्माण सामग्री राख्न प्रतिबन्ध लगाउने, निर्माणस्थलमा धुलो नियन्त्रणको निरीक्षण गर्ने, हरित करिडोर विकास गर्ने र नदी किनारको पुनर्जीवनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ। निर्माण कम्पनीले नियम उल्लंघन गरे तत्काल आर्थिक दण्ड र काम रोक्ने अधिकार स्थानीय तहले प्रभावकारी रूपमा प्रयोग गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !