नोटमा डिजिटल युग
मुद्राको सिर्जना नगर्दासम्म समाजमा वस्तु विनिमयकै चलन थियो। सामान दिएर सामान लिने गर्दाका बोझ मुद्राको आविष्कारले गर्यो। सुन र चाँदीका मुद्राको विश्वव्यापी स्वीकार्य भएकैले युरोपदेखि एसियासम्म वा सातवटै महादेशमा व्यापार, कारोबार सम्भव भयो।
हाम्रै नेपालमा लिच्छवि राजा मानदेवले पहिलोपटक मुद्रा प्रचलनमा ल्याउनु उनको युगकै एउटा महत्त्वपूर्ण कोसेढुंगा बनेको थियो। लिच्छविकाल स्वर्णयुग हुन सक्नुमा कतै न कतै मुद्राको प्रचलनले पनि योगदान गरेको हुनुपर्छ। त्यसो त तिब्बतका लागि नेपालले मल्लयुगदेखि पृथ्वीनारायण शाहकै पालासम्म मुद्रा पठाउँथ्यो। आज भने हामी कागजका नेपाली मुद्रासमेत विदेशमा छाप्छौं, आफैं छाप्न सक्दैनौं। त्यसका निम्ति अर्बाैं रुपैयाँ विदेश पठाउँछौं। जमाना भने धातुबाट कागज हुँदै डिजिटल युगमा प्रवेश गरिसकेको छ। समयको पदचाप पछ्याउँदै अब नेपाल त्यतै सोझिएको छ, जता विश्व। अर्थात् डिजिटल मुद्रा प्रचलनको तयारीमा छ। त्यससम्बन्धी वैधताका लागि नेपाल राष्ट्र बैंक ऐन संशोधन गर्न बनेको विधेयक संसदीय समितिमा छलफलमा छ। जसमा सहमति नजुट्ने सम्भावना हुने देखिन्न।
डिजिटल मुद्रा भनेको अभौतिक हो। जसरी वस्तु विनियमलाई धातुकै मुद्राले हल्का र सजिलो पार्यो। त्यसलाई पनि अझै हल्का कागजले बनायो। अब कागजका नोटको भारीलाई डिजिटल अर्थात् तौल नै नहुने मुद्राले प्रतिस्थापन गर्ने युग आइसक्यो। चीनमा डिजिटल मुद्राको प्रचलन चलिसक्यो। युरोपेली देशहरूसँगै अमेरिका, बेलायत पनि त्यही दिशामा छन्। क्रिप्टो करेन्सी भनिने मुद्रा त हाम्रोमा अवैध भए पनि अन्त चल्तीमै छन्। तर नेपालले प्रचलनमा ल्याउन लागेको डिजिटल मुद्रो क्रिप्टो वा त्यस्तै प्रकृतिको होइन। यो नेपालको केन्द्रीय बैंकले कागजी नोटको सट्टामा जारी गर्ने मुद्रा हो। क्रिप्टोजस्तो मानिसहरूको मनोभावका आधारमा मूल्य घटबढ हुने होइन, केन्द्रीय बैंकले नै निश्चित रूपमा निर्धारण गर्ने मूल्य धारण गर्ने मुद्रा हो।
डिजिटल मुद्राले नेपाली मौद्रिक प्रणालीलाई नयाँ युगमा प्रवेश गराउँछ। केन्द्रीय बैंकले नोट छपाइ, ढुवानी र सुरक्षामा गर्ने वार्षिक २ देखि ३ अर्ब रुपैयाँको खर्च कटौती गर्छ। उल्टै पुराना र झुत्रा नोट धुल्याउनुपर्छ। डिजिटलमा त्यो समस्या रहन्न। डिजिटल नोट भनेको अहिलेको मोबाइल बैंकिङ सेवाजस्तो पनि होइन। बैंकमा रहेको पैसा यताउता गर्ने सेवामात्रै मोबाइल बैंकिङ हो। तर केन्द्रीय बैंकले जारी गर्ने डिजिटल नोट सीबीडीसी कानुनी सुनिश्चितयुक्त मुद्रा हो। जसरी कागजी नोटमा राष्ट्र बैंकले भुक्तानी ग्यारेन्टी गर्छ, डिजिटल नोटमा पनि त्यही सुनिश्चितता हुन्छ। डिजिटल नोट, कागजीभन्दा सुरक्षित हुन्छ भौतिक रूपमा। तर यसको डिजिटल सुरक्षाचाहिँ संवेदनशील हो, त्यो पाटो भने ग्यारेन्टीयुक्त नै हुनुपर्छ। डिजिटल ट्र्याकिङसमेत हुने हुँदा कालोधनको कारोबार रोक्न कामयाबी हुन सकिन्छ।
डिजिटल रुपैयाँले नेपाली अर्थतन्त्रलाई विश्वव्यापी भुक्तानी प्रणालीसँग समेत जोड्छ। तर सबै प्रक्रिया पुर्याएर अनि सुरक्षा सुनिश्चितता गरेरमात्रै डिजिटल मुद्रा प्रचलनमा ल्याउनुपर्छ। जस्तो चीनले सार्वजनिक यातायात र अन्तर्राष्ट्रिय कार्यक्रममा प्रयोग गर्दै सफल परीक्षण गर्यो। भारतले ई–रूपीलाई यूपीआईसँग अन्तरआबद्ध बनाउने रणनीति अपनायो। नाइजेरियाले भने केवल प्रविधि पर्याप्त नहुने पाठ सिकायो। नेपालले तिनै अनुभवबाट सिकेर अघि बढ्नु मनासिब हुन्छ। नोट वा मुद्रा भनेको कागज वा धातु होइन, राज्यमाथिको विश्वास हो। डिजिटल मुद्रा चल्तीका लागि पनि त्यही विश्वास सिर्जना गर्दै अघि बढ्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !