वीरगन्ज : मधेसमा पछिल्लो समय बढ्दै गएको धार्मिक तथा साम्प्रदायिक विद्वेषप्रति चिन्ता व्यक्त गर्दै वीरगन्जका स्थानीय बुद्धिजीवी, नागरिक समाज र शिक्षा क्षेत्रका अगुवाहरूले मधेसको मौलिक पहिचान विभाजन नभई आपसी सद्भाव, सहअस्तित्व र भाइचारा रहेको स्पष्ट पारेका छन्।
चाडपर्वका नाममा हुने देखावटी प्रदर्शन, सामाजिक सञ्जालमा फैलिने भ्रामक अफवाह र व्याप्त गरिबी–बेरोजगारीका कारण अविश्वास बढेको औंल्याउँदै उनीहरूले धर्मलाई व्यक्तिगत आस्थामा मात्रै सीमित राखी सामाजिक एकता कायम राख्न, रोजगारीको सिर्जना गर्न र सबै समुदायले संयमता अपनाउनुपर्नेमा जोड दिएका छन्।
उत्सवलाई आस्थामा मात्रै सीमित राखौं
डा. सुष्मा तिवारी - उपप्राध्यापक, वीरगन्ज
जहाँसम्म मलाई सम्झना छ, आजभन्दा दुई दशकअघिसम्म मधेसमा अहिलेको जस्तो धार्मिक र साम्प्रदायिक द्वन्द्व हुँदैनथ्यो। तर, केही वर्षयता वीरगन्जलगायत मधेसका विभिन्न ठाउँमा बेला–बेलामा हिन्दु र मुस्लिमका नाममा तनावका घटना भइरहेका छन्। धार्मिक द्वन्द्वका नाममा अहिले सामाजिक विखण्डन बढिरहेको छ, जसले मिलेर बसेको हाम्रो समाजमा खलल पुर्याइरहेको छ।
नेपालमा लोकतन्त्र छ। संविधानले पनि सबै जातजाति र धर्मलाई समान व्यवहार गरेको छ। वीरगन्जमा पहिले पनि मुस्लिमहरूले आफ्नो पर्व मोहर्रममा ‘दाहा’ खेल्ने गर्थे। तर, त्यसबेला दाहामा उनीहरूले तरबार, भाला, खुँडाजस्ता हतियार प्रदर्शन गर्दैनथे। अहिले त्यस्ता हतियार बोकेर प्रदर्शन गरिन्छ। त्यसैगरी हिन्दुहरूको हनुमान जयन्ती वा विभिन्न रथयात्रा निकै शान्त र सौहार्दपूर्ण तरिकाले निकालिन्थ्यो। तर, अहिले ठूला–ठूला डिजे बजाउँदै निकालिन्छ।
मैले भन्न खोजेको के हो भने हिन्दु वा मुस्लिम दुवै पक्षका धार्मिक चाडपर्व वा उत्सवमा अर्को पक्षलाई जिस्क्याउने र होच्याउने खालका गतिविधि हुन थालेका छन्। आफ्नो धर्मप्रतिको आस्थाभन्दा पनि अर्को समुदायलाई जिस्क्याउने नियत बढी देखिन्छ। त्यही कारण बेला–बेलामा यस्ता अप्रिय घटना हुने गरेका छन्। धार्मिक चाडपर्व र उत्सवलाई प्रदर्शन र देखावाटका रूपमा नभई आफ्नो आस्थामा मात्रै सीमित राखिनुपर्छ। अनि मात्र सामाजिक सद्भाव कायम हुन्छ।
पछिल्ला घटनाले पहाडका जिल्लाहरूमा मधेस र मधेसीबीच नकारात्मक सन्देश गइरहेको छ, जुन देख्दा साह्रै दुःख लाग्छ। अतः मधेसमा सामाजिक सद्भाव कायम राख्न सबैभन्दा पहिले हिन्दु वा मुस्लिम कुनै पनि समुदायले एकअर्कालाई होच्याउने वा जिस्क्याउने नियतका गतिविधि बन्द गर्नुपर्छ। त्यसका लागि दुवै धर्मका अगुवाहरू अगाडि सरेर आआफ्नो समुदायमा सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्नुपर्छ। मधेसले पनि यही सामाजिक सद्भाव चाहेको छ।
मधेसलाई विभाजन होइन, भाइचारा चाहिएको छ
तबरेज अहमद -उपप्राध्यापक, मधेस विश्वविद्यालय
मधेस विविध जातजाति र धार्मिक समुदायको बसोबास भएको विविधतायुक्त समाज हो। यहाँका हरेक समुदायको आफ्नो धर्मप्रति प्रगाढ आस्था र रीतिरिवाज छ। तर, मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि केही वर्षयता धार्मिक द्वन्द्वहरू देखिन थालेका छन्। यसको भित्री तथ्य केलाएर हेर्दा प्रविधिको पहुँच, भारतका बिहार र युपीजस्ता ठूला राज्यसँग जोडिएको खुला सीमा, त्यहाँ हुने अतिवादी गतिविधि र धार्मिक हिंसाका बाछिटा यहाँ पनि पर्न गएको भान हुन्छ।
मधेसमा बेला–बेलामा भइरहने धार्मिक द्वन्द्वका पछाडि विभिन्न कालखण्डमा आयातित जनसंख्या र धर्मका नाममा खुलेका जातीय संगठनहरू पनि एक कारण रहेको मेरो बुझाइ छ। हुन त अहिले सामाजिक सञ्जालमा देखिएजस्तै यहाँको भाइचारा र आपसी सद्भाव पूरै खलबलिएको त छैन, तर राज्यले बेलैमा ध्यान दिएन भने आगामी दिनमा यसले अझ विकराल रूप नलिएला भन्न सकिन्न।
मधेसमा सदियौंदेखि मिलेर बसेका समुदायहरू छन्। एकअर्काका सामाजिक कार्यमा सहभागिता र सहयोगको भावना रहिआएको छ। यहाँको सामाजिक सद्भाव खलबलिन नदिन दुवै समुदाय अग्रसर देखिन्छन्। यही नै मधेसी समाजको सुन्दर पक्ष हो। मधेसमा मनाइने हिन्दुको छठ, दीपावली, दसैं, होली तथा मुस्लिमको इद, बकरइदलगायतका चाडपर्वमा दुवै समुदायको सहभागिता भेटिन्छ।
मधेसले जात र धर्मका आधारमा विभाजन होइन, आपसी एकता, सम्मान र सहअस्तित्वमा आधारित भाइचारा चाहन्छ। यहाँ बस्ने प्रत्येक नागरिकले समान अवसर, सम्मान र न्यायको अनुभूति गर्न पाउनुपर्छ। विविधता हाम्रो मधेसी समाजको कमजोरी होइन, शक्ति हो भन्ने सोचका साथ सबै समुदायबीच विश्वास, सद्भाव र सहयोगको वातावरण निर्माण हुनु आवश्यक छ। आपसी द्वेष र विभाजनभन्दा माथि उठेर शान्ति, प्रगति र मानवताको मार्गमा अघि बढ्नु नै आजको मधेसको आवश्यकता हो।
गरिबी र बेरोजगारी हटे सद्भाव आफैँ फर्कन्छ
हरि गौतम अध्यक्ष, वीरगन्ज उद्योग वाणिज्य संघ
मधेस सबै जातजाति र धर्मका समुदाय मिलेर बसेको भूगोल हो। तर, दुर्भाग्यवश, बेला–बेलामा यहाँको सामाजिक सद्भाव खलबलिने गरेको छ। कुनै एक ठाउँमा साम्प्रदायिक तनाव भयो भने त्यो अन्य स्थानमा पनि सर्ने गरेको देखिन्छ। यसको मूल कारण मधेसमा व्याप्त गरिबी र बेरोजगारी नै हो। आर्थिक अवस्था कमजोर हुँदा र मानिसहरू बेरोजगार हुँदा यस्तै खालका विकृतिहरू आउँछन्। अर्को कारण अराजकता पनि हो। माने पनि नमाने पनि सबै क्षेत्रमा अराजकता बढेको छ। कसैले कसैलाई नटेर्ने अवस्था छ, जसको असर सामाजिक सद्भावमा परेको छ।
मधेसमा साम्प्रदायिक दंगाको व्यवस्थापनमा सरकारले उचित ढंग नपुर्याउँदा पनि समस्याले ठूलो रूप लिने गरेको छ। कहीँकतै घटना भइहालेमा सरकारले सिधै हतियारधारी सुरक्षाकर्मीलाई अगाडि सार्छ, जसका कारण स्थिति अझ विकराल बन्न पुग्छ। अर्को कारण, यहाँका राजनीतिक दलहरूमा धार्मिक सहिष्णुताप्रति संवेदनशीलता र प्रतिबद्धता नदेखिनु हो। कुनै दंगा वा हिंसा भइहालेमा उनीहरू सरकारमाथि दोष थोपरेर पन्छिने काम गर्छन्।
तर, मधेसले जात वा धर्मका नाममा झगडा वा दंगा गर्न चाहँदैन। न त यहाँका नागरिकमा त्यस्तो कुनै आपसी कटुता नै छ। यहाँका नागरिक आपसी सद्भाव र भाइचारा कायम रहोस् भन्ने चाहन्छन्। सबै मिलेर मधेसलाई समृद्ध बनाउनुपर्छ भन्ने भावना सबैमा छ। यदि यहाँ आर्थिक विकास भयो र प्रशस्त रोजगारीको सिर्जना गर्न सकियो भने मधेसमा स्वतः सद्भाव कायम हुन्छ।
साम्प्रदायिक द्वन्द्व मधेसको संस्कार होइन
प्रकाश थारू, सामाजिक अभियन्ता
मधेसमा विभिन्न जातजाति र धार्मिक समुदायका मानिस बस्छन्। ती समुदाय सदियौंदेखि आपसी भाइचारा र सद्भावका साथ एकअर्कासँग मिलेर बसेका थिए। यहाँका कतिपय गाउँ वा सहरमा हिन्दुको मन्दिर र मुस्लिमको मस्जिद १० मिटरको दूरीमा मात्रै छन्। यसले के प्रस्ट पार्छ भने, यहाँ वर्षौंदेखि एकअर्काको धर्म वा आस्थाप्रति कुनै इष्र्या वा कटुता थिएन। तर, केही वर्षयता मधेसमा धर्मका नाममा बेलाबेलामा द्वन्द्व र झगडाका घटना भइरहेका छन्। एकले अर्कालाई देख्नै नसक्ने द्वेष पलाएको देखिन्छ, जुन मधेसको चरित्र र संस्कार होइन।
केही वर्षयता खुला सीमाको फाइदा उठाउँदै नेपालमा अवैध घुसपैठ भइरहेको छ। त्यसरी छिरेर बसोबास गर्दै आएका व्यक्तिहरूको दुरुपयोग गर्दै यहाँका केही सीमित व्यक्तिहरूले हिन्दु र मुस्लिमबीच द्वन्द्व गराएर सामाजिक सद्भाव भाँड्ने हर्कत गरिरहेका छन्।
मधेसमा सदियौंदेखि सबै जातजाति र धर्मका समुदाय मिलेर बसेको समाज हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ। म आफ्नै गाउँठाउँको कुरा गर्छु— पहिले पनि मुस्लिमको मोहर्रममा ताजिया निस्किन्थ्यो, तर त्यसमा अहिलेको जस्तो तरबार, भाला र खुँडाजस्ता हतियार प्रदर्शन हुँदैनथे, लाठी मात्र प्रदर्शन गरिन्थ्यो। त्यस्तै पहिले पनि हिन्दुहरूको महावीर जयन्तीमा अहिलेको जस्तो चर्को डिजे बज्दैनथ्यो, धार्मिक झाँकी र जयकारा लगाउँदै श्रद्धालुहरू देखिन्थे।
तर केही वर्षयता एकअर्काको धर्मप्रतिको सम्मानमा कमी आएको देखिन्छ। आपसी भाइचारा र सद्भावबीचको खाडल बढ्दै गएको छ। जबसम्म एकअर्काको धर्म र आस्थाप्रतिको सम्मान कायम हुँदैन, तबसम्म यस्ता साम्प्रदायिक द्वन्द्व भइनै रहन्छन्, जुन मधेस र मधेसीले कदापि चाहँदैनन्।
मधेसी समाज दिगो शान्तिको पक्षमा छ
मनोज राम - दलित अभियन्ता, वीरगन्ज
मधेस विविध धार्मिक, सांस्कृतिक र भाषिक पहिचान बोकेको प्रदेश हो। यहाँ हिन्दु र मुस्लिम समुदाय शताब्दीयौंदेखि आपसी सद्भाव र भाइचाराको सम्बन्ध बनाएर बस्दै आएका छन्। पछिल्ला केही वर्षयता हिन्दु र मुस्लिम समुदायबीच तनाव तथा झडपका घटना भइरहेका भए पनि यस्ता घटनालाई सम्पूर्ण मधेसको संस्कार र चरित्रसँग जोडेर हेर्नु जायज होइन।
समयक्रमसँगै अहिले मधेसका धेरै गाउँमा मुस्लिम धर्मावलम्बीहरूका मस्जिद निर्माण भएका छन्, मदरसाहरू खुलेका छन्। मुस्लिम समुदायबाट निर्वाचित जनप्रतिनिधिको संख्या र राज्यमा उनीहरूको पहुँच पनि बढेको छ। अर्कोतर्फ, हिन्दु समुदायमा पनि पहिलाको तुलनामा धार्मिक पूजापाठलगायतका गतिविधिहरू बढेका छन्। धेरै गाउँ र चोकहरूमा ‘जय श्रीराम’ लेखिएका बोर्डहरू राखिएका छन्। मेरो बुझाइमा, छिमेकी मुलुकको सत्तामा धार्मिक एजेन्डा बोकेको दल आएपछि यता मधेसमा हिन्दु–मुस्लिमबीचको द्वन्द्व सिर्जना हुन थालेको हो।
तनावका प्रमुख कारणहरूमा धार्मिक जुलुस, त्यसको मार्ग प्रयोग, ध्वनि व्यवस्थापन, धार्मिक स्थल वरपरका गतिविधि तथा साना विवादलाई समयमै समाधान गर्न नसक्नु हुन्। यसैगरी, कहीँकतै विवाद भइहालेमा सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह, भ्रामक सूचना वा भड्काउ सामग्रीले स्थिति अझ चर्काउने गरेको छ। कतिपय अवस्थामा बाह्य प्रभाव, राजनीतिक स्वार्थ वा कट्टर सोच भएका व्यक्तिहरूले पनि असमझदारी बढाउन चलखेल गर्दै आएका छन्।
मधेसका जनता धर्मका आधारमा विभाजन होइन, शान्तिपूर्ण सहअस्तित्व र आपसी सम्मान चाहन्छन्। बेला–बेलामा देखिने विवादले दैनिक जीवन, व्यापार, शिक्षा, रोजगारी र सामाजिक सम्बन्धमा प्रत्यक्ष असर पार्ने भएकाले यहाँका नागरिक दीर्घकालीन शान्ति र सद्भावको पक्षमा छन्। सामाजिक सञ्जालमार्फत फैलिने अफवाह र भड्काउ प्रचारलाई नियन्त्रण गरिनुपर्छ भन्ने अपेक्षा पनि नागरिकको छ।
धर्मले विभाजन होइन, मानवता सिकाउनुपर्छ
सलाउद्दिन अहमद - शिक्षक, वीरगन्ज
मेरो विचारमा धर्म मूलतः व्यक्तिगत आस्था, विश्वास र अन्तरात्मासँग सम्बन्धित विषय हो। प्रत्येक व्यक्तिलाई आफ्नो धर्म मान्ने, नमान्ने वा परिवर्तन गर्ने स्वतन्त्रता हुनुपर्छ। त्यसैले धर्मलाई व्यक्तिगत जीवनको सीमाभित्र राख्नु नै उपयुक्त हुन्छ। जब धर्मलाई सामाजिक वा राजनीतिक प्रतिस्पर्धा, विभाजन वा घृणा फैलाउने माध्यम बनाइन्छ, तब यसले समाजमा द्वन्द्व र असहिष्णुता निम्त्याउँछ।
तराई–मधेसका धेरै क्षेत्रमा हिन्दु र मुस्लिम समुदाय वर्षौंदेखि आपसी विश्वास, सम्मान र सहकार्यका साथ बसोबास गर्दै आएका छन्। हाम्रो बाल्यकालका सम्झनाले पनि यही कुरा पुष्टि गर्छन्। हामी एउटै टोलमा हुर्कियौं, सँगै खेल्यौं, सँगै दुःख–सुख बाँड्यौं। धर्म फरक भए पनि हाम्रो सम्बन्धमा कहिल्यै विभेद वा वैमनस्यको भावना थिएन। तर पछिल्लो समय धार्मिक कट्टरता, गलत सूचना र अफवाहका कारण अनावश्यक तनाव सिर्जना हुने प्रवृत्ति देखिन थालेको छ, जुन हाम्रो समाजको मौलिक चरित्रसँग मेल खाँदैन।
हामीले सबैभन्दा पहिले आफूलाई नेपालीका रूपमा चिन्नुपर्छ। धर्म, जाति वा समुदाय पहिचानका महत्वपूर्ण पक्ष हुन्, तर राष्ट्रिय एकता र सामाजिक सद्भाव सबैभन्दा माथि हुनुपर्छ। आज सामाजिक सञ्जालबाट भड्काउने सामग्री छिटो फैलिने अवस्था छ। त्यसैले कुनै पनि सूचना विश्वास गर्नुअघि सत्यता जाँच्ने र अफवाह फैलाउनबाट बच्ने दायित्व हामी सबैको हो।
विश्वका विभिन्न मुलुकहरूमा धार्मिक असहिष्णुता र सामाजिक विभाजनका उदाहरणहरू देखिएका छन्, तर हामीले त्यस्ता नकारात्मक प्रवृत्तिलाई आफ्नो समाजमा प्रवेश गर्न दिनु हुँदैन। हामी बस्ने गाउँ, टोल र सहरमा वर्षौंदेखि कायम रहेको सद्भावलाई अझ बलियो बनाउनु आजको आवश्यकता हो। संवाद, सहयोग र पारस्परिक सम्मानको संस्कृतिलाई अघि बढाउँदै सबै समुदाय मिलेर शान्तिपूर्ण र समावेशी समाज निर्माण गर्नुपर्छ, जहाँ धर्मले विभाजन होइन, नैतिकता र मानवताको प्रेरणा देओस्।
प्रतिक्रिया दिनुहोस !