समयको कसीमा कांग्रेस नेतृत्व
बेदमा एउटा अमर मन्त्र छ, ‘चरैवेति, चरैवेति’। यसको अर्थ केवल हिँडिरहनू भन्ने आग्रह होइन, यो जीवन, समाज र सभ्यताको दर्शन हो। यसको अर्थ हो— नरोकिनू, निरन्तर अघि बढिरहनू, सिकिरहनू, परिवर्तनलाई आत्मसात् गरिरहनू।
राजनीति पनि यही दर्शनबाट जीवित रहन्छ। जो समयसँगै बदलिन्छ, उसैले भविष्यको नेतृत्वको जिम्मेवारी ग्रहण गर्छ। राजनीतिक इतिहासका निर्णायक क्षणहरू केवल घटनाले निर्माण गर्दैनन्, ती समयको सही पहिचान गर्ने नेतृत्वले निर्माण गर्छन्। समयले हरेक पुस्तालाई एउटा अवसर दिन्छ— या त परिवर्तनको नेतृत्व गर या परिवर्तनको दर्शक बन।
नेपाली राजनीतिमा समय–समयमा यस्ता मोडहरू आउँछन्, जहाँ निर्णयभन्दा पनि निर्णय गर्ने समयको महत्त्व बढी हुन्छ। राजनीति केवल सिद्धान्तको अभ्यास होइन; यो समयको गति बुझ्ने कला पनि हो। समयको घोडा एकपटक दौडिन थालेपछि त्यसलाई रोक्न खोज्नेहरू इतिहासका दर्शक त बन्छन्, तर इतिहासका निर्माता बन्न सक्दैनन्।
नेपाली कांग्रेसभित्र देखिएको बहस पनि यही सन्दर्भमा बुझ्नुपर्ने विषय हो। विधानले व्यवस्था गरेको विशेष महाधिवेशनको अभ्यास, विधानको व्याख्या, नेतृत्व परिवर्तनको प्रश्न र संगठनात्मक बहस लोकतान्त्रिक पार्टीका स्वाभाविक अभ्यास हुन्। तर ती सबै बहस पार्टीको विधान, संस्थागत प्रक्रियाको सम्मान र यथार्थ राजनीतिक आवश्यकताभित्र सीमित हुनुपर्छ। जब मागहरू विधानको स्पष्ट मर्मभन्दा बाहिर गएर केवल शक्ति परीक्षण वा राजनीतिक दबाब सिर्जना गर्ने माध्यम बन्छन्, त्यतिबेला त्यसले समाधानभन्दा अन्योल बढी जन्माउँछ।
राजनीतिमा एउटा नेपाली उखान छ, ‘हलो अड्काएर गोरु कुट्नु।’ खेत जोत्नुपर्ने समयमा हलो नै अड्काइयो भने गोरुलाई कुटेर उत्पादन बढ्दैन। त्यस्तै, संगठन अघि बढ्नुपर्ने बेला प्रक्रियालाई अवरुद्ध गरेर पार्टी बलियो हुँदैन। त्यसले केवल कार्यकर्ता अन्योलमा पर्छन्, जनतामा नकारात्मक सन्देश जान्छ, र राजनीतिक ऊर्जा आन्तरिक विवादमै खर्च हुन्छ। अन्तत : यसको मूल्य पार्टीले मात्र होइन, लोकतन्त्रले पनि चुकाउनुपर्छ। लोकतान्त्रिक दलमा फरक मतको सम्मान हुनुपर्छ। इतर समूहको अस्तित्व पनि लोकतन्त्रको स्वस्थ पक्ष हो। तर फरक मत र फरक उद्देश्य एउटै कुरा होइनन्। फरक मतले संस्थालाई बलियो बनाउँछ; संस्थागत प्रक्रियालाई कमजोर बनाउने प्रयासले भने संगठनको आधार नै कमजोर बनाउन सक्छ।
त्यसैले असहमति आवश्यक छ, तर असहमतिको पनि विधि र मर्यादा हुन्छ। प्रतिस्पर्धा आवश्यक छ, तर प्रतिस्पर्धा संस्थाभित्र हुनुपर्छ। आलोचना आवश्यक छ, तर आलोचना समाधानमुखी हुनुपर्छ। महŒवाकांक्षा स्वाभाविक हो, तर त्यो संगठनको हितभन्दा माथि हुन सक्दैन। संगठनको एकता, विधिको सम्मान, कार्यकर्ताको मनोबल, युवाको विश्वास र जनताको आशालाई केन्द्रमा राखेर अघि बढ्ने साहस देखाउनुपर्छ। प्रतिस्पर्धा आवश्यक छ, तर प्रतिस्पर्धा संस्थाभित्र हुनुपर्छ। आलोचना आवश्यक छ, तर आलोचना समाधानमुखी हुनुपर्छ। महŒवाकांक्षा स्वाभाविक हो, तर त्यो संगठनको हितभन्दा माथि हुन सक्दैन।
आज नेपाली कांग्रेसमाथि केवल आफ्ना कार्यकर्ताको होइन, समग्र लोकतान्त्रिक समाजको अपेक्षा छ। देश आर्थिक पुनरुत्थान, रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन, संघीयताको प्रभावकारी कार्यान्वयन र युवामा बढ्दो निराशाजस्ता चुनौतीसँग जुधिरहेको छ। यस्तो समयमा जनताले पार्टीभित्रको अन्तहीन शक्ति संघर्ष होइन, स्पष्ट दिशा, स्थिर नेतृत्व र परिणाममुखी राजनीति खोजिरहेका छन्। यस्तो बेला पार्टीभित्रको सम्पूर्ण ऊर्जा प्रक्रियागत अवरोधमा खर्च गर्नु जनअपेक्षासँग मेल खाँदैन। नेतृत्वको मूल्यांकन आन्तरिक निर्वाचन, कार्यसम्पादन र संस्थागत प्रक्रियाबाट हुन्छ। लोकतन्त्रमा नेतृत्वको परीक्षण सडकको नाराले होइन, संस्थाले गर्छ। त्यसैले विधानले तोकेको बाटो छोडेर समानान्तर बाटो बनाउन खोज्नु संगठनात्मक स्थायित्वका लागि लाभदायक हुँदैन।
इतिहासले परिवर्तनलाई कहिल्यै पर्खेर बसेको छैन। बीपी कोइरालादेखि गणेशमान सिंहसम्मका नेताहरूले समयको आवश्यकता बुझेर प्रजातान्त्रिक विचारलाई आत्मसात् गर्ने निर्णय लिए। उनीहरूले परिवर्तनको लागि कसैको डर मानेनन् र आन्दोलनको नेतृत्व गरे। हरेक पुस्ताले आफ्नै जिम्मेवारी बोक्नुपर्छ। नयाँ समयले नयाँ सोच, नयाँ ऊर्जा र नयाँ कार्यशैली माग्छ। पुस्तान्तरण कसैको विरुद्धको अभियान होइन; यो समयको स्वाभाविक यात्रा हो।, चरैवेति। यसको अर्थ हो— हिँडिरहू, अघि बढिरहू। यो केवल यात्राको सन्देश होइन; परिवर्तनलाई स्वीकार गर्ने चेतना हो। राजनीतिक संगठन पनि निरन्तर गतिमै जीवित रहन्छ। जो समयसँगै अघि बढ्छ, उसैले भविष्य निर्माण गर्छ। जो समय रोक्न खोज्छ, समयले उसैलाई पछि छोड्छ।
नेपाली कांग्रेस आज एउटा नयाँ मोडमा उभिएको छ। यो मोडमा कसैले समयको घोडाको लगाम समातेर अगाडि बढ्ने साहस देखाउनुपर्छ, कसैले त्यसको रफ्तार रोक्ने प्रयास गर्नु हुँदैन। लोकतन्त्रमा प्रतिस्पर्धा आवश्यक छ, तर प्रतिस्पर्धा प्रक्रियाभित्र हुनुपर्छ। संस्थाभन्दा माथि कुनै व्यक्ति वा समूह हुन सक्दैन। अन्तत : राजनीति गन्तव्यभन्दा पनि यात्राको निरन्तरता हो। समय कसैका लागि रोकिन्न। त्यसैले आजको सबैभन्दा ठूलो राजनीतिक सन्देश एउटै हुन सक्छ, हलो अड्काएर गोरु कुट्ने होइन, खेत जोत्नुपर्छ। समयको घोडा रोक्ने होइन, त्यससँगै दौडिनुपर्छ। र, त्यसैको सार हो— चरैवेति गगन, चरैवेति।
प्रतिक्रिया दिनुहोस !