सैनिक गणको पर्खाल भत्काउन सांसदको बलमिच्याइँ

गोकर्णेश्वर नगरपालिकाका मेयर भन्छन्, ‘सांसद पाण्डेले स्टन्ट गरे’

सैनिक गणको पर्खाल भत्काउन सांसदको बलमिच्याइँ
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डे नेपाली सेनाको गणमा लगाइएको पर्खाल भत्काउने क्रममा सेनाका क्याप्टेनसँग चर्किएका छन्। काठमाडौं क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद पाण्डेले गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा बाटो विस्तार गर्ने क्रममा थर्काउने शैलीमा नेपाली सेनाका अधिकारीसँग गरेको कुराकानी सामाजिक सञ्जालमा भाइरल भएको छ।

बाटो विस्तार गर्ने भन्दै राजुनाथ पाण्डे सोमबार डोजर लिएर उक्त स्थानमा पुगेका थिए। उक्त स्थानमा नेपाली सेनाको गण रहेको र सेनाले लगाएको पर्खाल जबरजस्ती भत्काइएको थियो। नेपाली सेनालाई थाहै नदिई र पत्रसमेत नबुझाई रास्वपा सांसद पाण्डेको नेतृत्वमा डोजर चलाइएको थियो।

ब्यारेकमा सेना बसिरहेको अवस्थामा सेनालाई जानकारी नदिई र प्रक्रिया पूरा नगरी पाण्डेले पर्खाल भत्काएको भन्दै चौतर्फी विरोध भएको छ। पाण्डेले नेपाली सेनाका क्याप्टेनलाई पेलेर, जबरजस्ती गर्दै ‘एकैछिन रोक्नुहोस्’ भन्दाभन्दै नमानी पर्खाल भत्काएको देखिन्छ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सामाजिक सञ्जालमा भाइरल भएको भिडियोका विषयमा सम्बन्धित निकायमा जानकारी गराइएको बताए। उनी भन्छन्, ‘यो विषयमा के भएको हो नेपाली सेनाको पर्खाल पनि भत्किएको छ। आवश्यक अनुसन्धान हुँदैछ।’
गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले पर्खाल भत्काएको ठाउँमा बाटो साँघुरो भएको भन्दै गुनासो आइरहेको बताए। ‘त्यहाँ पर्खाल सार्न र अन्य पुलहरू बनाउन भन्दै नगरपालिकाले यसपालि बजेट पनि छुट्ट्याएको छ,’ उनले भने, ‘असार १ गते नगरपालिकाले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्र लेखेको थियो।’

नेपाल ट्रस्टको नाममा रहेको जग्गामा बनेको पर्खाल सार्नका लागि सहमति उपलब्ध गराइदिन भन्दै नगरपालिकाले नेपाल ट्रस्टको कार्यालयलाई पनि पत्र पठाएको थियो। गत जेठ ४ गते पठाएको पत्रमा गोकर्णेश्वर–४ माकलबारीदेखि गोकर्ण मन्दिरसम्मको दुई सय मिटर क्षेत्रमा नेपाल ट्रस्टको पर्खाल रहेका कारण करिडोर सडक साँघुरो भई सामान्य सवारीसाधनसमेत आवतजावत गर्न गाह्रो भएको भन्दै पर्खाल सार्न अनुमति मागिएको थियो।

गोकर्णेश्वर नगरपालिकाको १७औं नगरसभाले उक्त बाटो निर्माण तथा स्तरोन्नतिका लागि यो वर्ष २५ लाख बजेटसमेत छुट्ट्याएको थियो। ‘प्रक्रिया पूरा गरेर हुन लागेको उक्त बाटोमा जबरजस्ती गएर पर्खाल भत्काउन जरुरी नै थिएन,’ उनले भने, ‘चर्चाका लागि जे गरे पनि हुने हो र ? नेपाली सेनाको ब्यारेक भत्काउनुअघि जानकारी गराउनुपर्ने होला, पत्र पठाउनुपर्ने होला। कुनै न कुनै प्रक्रिया त होला नि !’

सांसद राजुनाथ पाण्डे भने उक्त बाटो साँघुरो भयो भनेर पटक–पटक स्थानीयको गुनासो आएकाले भत्काउन गएको बताउँछन्। ‘प्रक्रिया पूरा गरेर बनाउन यत्रो वर्ष केले रोकेको थियो ? त्यति सामान्य काम थियो। उपत्यका विकास प्राधिकरणले गरे पनि हुन्थ्यो, नेपाली सेना आफैंले सारे पनि हुन्थ्यो। कसलाई कुरेर बसेको ? पर्खाल भत्काउँदा तत्कालीन समस्या समाधान हुने भएकाले प्राधिकरणकै सहभागितामा भत्काइएको हो। त्यत्रो भिड जम्मा भएको ठाउँमा नेपाली सेना पोसाक लगाएर आउन भएन नि,’ उनले प्रतिप्रश्न गरे, ‘क्याप्टेनसाबलाई क्याप्टेनसाब नै भनेको छु, मैले के नराम्रो भनें र ?’

नेपाल ट्रस्टको जग्गामा नेपाली सेनाको ब्यारेक बसेको छ। उक्त ब्यारेकको पर्खालमा पाण्डेको अगुवाइको टोलीले डोजर चलाएपछि नेपाली सेनाले रोक्न खोजेको थियो। सो ठाउँमा बाटो साँघुरो रहेको भन्दै स्थानीयले लामो समयदेखि फराकिलो बनाइदिन माग गर्दै आएका थिए। तर, ट्रस्टको जग्गा रहेकाले बाटो विस्तार हुन सकेको थिएन।

आफैं डोजर लिएर पुगेका पाण्डेले पर्खाल भत्काउने क्रममा आधिकारिक पत्र माग्ने नेपाली सेनाका अधिकृतलाई हप्कीदप्की गरेका थिए। ‘पत्र आउँदै गर्छ, भत्काउने काम रोकिँदैन’ भन्दै जबरजस्ती भत्काएका थिए। नेपाली सेनाका क्याप्टेनले निकुञ्ज क्षेत्रमा रहेको बाटो भएकाले प्रक्रिया पुर्‍याएर भत्काउन अनुरोध गरेका थिए। गोकर्णेश्वर नगरपालिका–४ माकलबारीदेखि गोकर्ण मन्दिरसम्मको करिब दुई सय मिटर सडकअन्तर्गत नेपाली सेनाको निगरानीमा रहेको ठाउँमा डोजर लगाइएको हो।

नेपाली सेनाले वन्यजन्तुको संरक्षणका लागि गोकर्णदेखि दक्षिणढोकासम्म पर्खाल लगाई वनभित्र गण नै राखेर सुरक्षा दिएको थियो। निकुञ्जमा विभिन्न जनावर, वन्यजन्तु तथा चराचुरुंगी रहेकाले उनीहरूको चोरी–निकासी रोक्न र संरक्षण गर्नका लागि नेपाली सेनाले पर्खाल लगाएको थियो।

प्रधानमन्त्रीको ध्यानाकर्षण
प्रधानसेनापति अशोक सिग्देलले मंगलबार पाण्डेको हर्कतको विषयमा प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन्। लगत्तै प्रधानमन्त्रीले नेपाली सेनाका अधिकृतलाई हप्कीदप्की गरेका सत्तारूढ रास्वपाका सांसद राजुनाथ पाण्डेलाई प्रधानमन्त्री कार्यालय बोलाएर सचेत गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.