विपद् तथ्यांक : सबैभन्दा बढी मृत्यु सर्पको टोकाइबाट
काठमाडौं : पछिल्लो समय मुलुकमा भित्रिएका विभिन्न विपद्का घटनामध्ये सर्पको टोकाइबाट सबैभन्दा धेरै मानवीय क्षति भएको छ। वर्षा सुरु भएसँगै दैनिक रूपमा बढ्दै गएको सर्पदंशका कारण देशका ६४ जिल्लामा हालसम्म ५५ जनाले ज्यान गुमाइसकेका छन् भने ७ सय १ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सरकारी प्रणालीमा दर्ता भएको तथ्यांकअनुसार मुलुकभर हालसम्म कुल ७ सय ५१ पटक सर्पदंशका घटना घटेका छन्।
प्राधिकरणको तथ्यांकअनुसार सर्पदंशबाट ज्यान गुमाउनेमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ। सर्पको टोकाइबाट २५ जना पुरुष र ३० जना महिला गरी कुल ५५ जनाको मृत्यु भएको छ भने घाइते हुनेमा ३ सय ६ पुरुष र ३ सय ९५ महिला रहेका छन्। जिल्लागत रूपमा सबैभन्दा बढी कञ्चनपुरमा ७२ वटा सर्पदंशका घटना दर्ता भएका छन् भने सबैभन्दा बढी ६ जनाको मृत्यु कैलालीमा भएको छ।
प्रादेशिक संरचनाअनुसार सबैभन्दा बढी मानवीय क्षति मधेश प्रदेशमा भएको छ। मधेसका आठै जिल्लामा गरी १ सय २० पटक सर्पदंशका घटना हुँदा २० जनाको मृत्यु र १ सय जना घाइते भएका छन्।
लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा गरी २ सय १८ पटक सर्पदंशका घटना घटेका छन्, जसबाट १५ जनाको मृत्यु र २ सय ३ जना घाइते भएका छन्। कोशी प्रदेशका धनकुटा र खोटाङबाहेक १२ जिल्लामा १ सय ९ वटा घटना हुँदा ८ जनाको मृत्यु र १ सय १ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी १ सय ६६ वटा घटना घटेका छन्, जहाँ ७ जनाको मृत्यु र १ सय ६४ जना घाइते भएका छन्। कर्णाली प्रदेशका कालीकोटबाहेक ९ जिल्लामा ४३ पटक घटना हुँदा ३ जनाको मृत्यु र ४० जना घाइते भएका छन्।
बागमती प्रदेशका १३ मध्ये पाँच जिल्ला सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र मकवानपुरबाहेक आठ जिल्लामा ३२ वटा सर्पदंशका घटना भएका छन्। बागमतीको दोलखामा एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। गण्डकी प्रदेशका लमजुङ, तनहुँ, पर्वत, स्याङ्जा, बागलुङ र नवलपुर गरी ६ जिल्लामा ६३ वटा घटना दर्ता भएका छन्। गण्डकीमा सर्पको टोकाइबाट ६३ जना नै घाइते भए पनि कसैको पनि मृत्यु नभएको तथ्यांकले देखाएको छ।
प्रतिक्रिया दिनुहोस !