धर्मेन्द्र प्रधानको राजीनामापछि अब के हुन्छ ? अभिजीत दीपकेले उठाए ई–२० पेट्रोलको विषय
भारत : नीट प्रश्नपत्र चुहावटको विरोधमा जन्तर–मन्तरमा अभिजीत दीपकेको नेतृत्वमा चलेको लामो आन्दोलन समाप्त भएको छ । त्यसपछि धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । अब कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके आगामी रणनीति बनाउन व्यस्त छन् ।
दीपकेले सरकारको इथानोल मिश्रित इन्धन नीति (इ–२० पेट्रोल), बढ्दो बेरोजगारी तथा झारखण्डमा कथित परीक्षा अनियमितताविरुद्ध भइरहेको विद्यार्थी आन्दोलनलगायतका विषयमा चर्चा गरेका छन् । उनले राजनीतिमा प्रवेश गर्ने सम्भावना अस्वीकार गर्दै सीजेपी अहिले राजनीतिक दलका रूपमा नभई जनदबाब सिर्जना गर्ने समूह (प्रेसर ग्रुप) का रूपमा काम गर्ने र परिवर्तन ल्याउने जनआन्दोलन निर्माणमा केन्द्रित हुने बताए ।
महाराष्ट्रको छत्रपति सम्भाजीनगरमा सीजेपीको कोर टिम बैठकअघि पत्रकारहरूसँग कुरा गर्दै दीपकेले इथानोल मिश्रित इन्धन र बढ्दो बेरोजगारी जस्ता विषयमा बैठकमा विस्तृत छलफल हुने जानकारी दिए । उनका अनुसार जनताको राजनीतिक दलहरूप्रतिको विश्वास घट्दै गएको छ, त्यसैले अहिले भारतलाई राजनीतिक दलभन्दा प्रभावकारी जनदबाब समूहको आवश्यकता छ ।
दीपकेले भने, ‘जनताको न्यायपालिका, राजनीति, सञ्चारमाध्यम र निर्वाचन आयोगप्रतिको विश्वास कमजोर भएको छ । हाम्रो आन्दोलनलाई देशभरबाट समर्थन प्राप्त भयो । आन्दोलन विस्तार हुँदै जाँदा समर्थन केवल शिक्षा क्षेत्रका मुद्दामा सीमित रहेन, यी संस्थाहरूको जवाफदेहितासँग पनि जोडियो । त्यसैले यस्ता संस्थाहरूलाई जवाफदेही बनाउन जनदबाब समूह आवश्यक छ ।’
उनले राजनीतिक दलहरूको अवस्था पनि कमजोर भएको टिप्पणी गर्दै भने, ‘मानिसहरूले बिहान एउटा दललाई मत दिन्छन्, तर साँझसम्म अर्कैले सरकार बनाउँछ । अहिलेका लागि सीजेपी प्रेसर ग्रुपकै रूपमा रहनेछ, किनकि अहिले भारतलाई यही आवश्यक छ ।’ सीजेपीका प्रवक्ता सौरभ दासले पनि सीजेपी राजनीतिक दल नभई तल्लो तहबाट सञ्चालन हुने जनआन्दोलनका रूपमा अघि बढ्ने बताए । उनले भनेका छन्, ‘पहिलेदेखि नै धेरै राजनीतिक दल छन् । यदि जनताले अझै पनि पीडा र समस्या भोगिरहेका छन् भने यसको समाधान अर्को राजनीतिक दल होइन, बरु जनस्तरबाट उठ्ने सचेतना र आन्दोलन हो । सीजेपीले यही काम गरिरहेको छ ।’
दासले हालै नीट प्रश्नपत्र चुहावट र अन्य परीक्षा अनियमितताविरुद्ध सीजेपीको नेतृत्वमा भएका आन्दोलनमा सहभागी विद्यार्थीहरूमाथि दर्ता गरिएका एफआईआर फिर्ता गराउन दबाब जारी राखिने बताए । उनले यस विषयमा सरकारी प्रतिनिधिसँग छलफल भइरहेको जानकारी पनि दिए ।
उनका अनुसार आन्दोलनका क्रममा घाइते भएका विद्यार्थी तथा प्रदर्शनकारीलाई कानुनी र स्वास्थ्यसम्बन्धी सहयोग उपलब्ध गराउने काम पनि भइरहेको छ ।
दासले वातावरणविद् तथा शिक्षा अभियन्ता सोनम वाङ्चुक सीजेपीका मार्गदर्शक (मेन्टर) का रूपमा रहने र उनीसँग निरन्तर परामर्श लिइने बताए । झारखण्डमा जारी विद्यार्थी आन्दोलनबारे सोधिएको प्रश्नमा अभिजीत दीपकेले भने, ‘हामी निश्चित रूपमा झारखण्ड जानेछौं । त्यहाँका आन्दोलनकारीसँग एकजुट हुनेछौँ र उनीहरूको जायज मागको समर्थन गर्नेछौं ।’
प्रतिक्रिया दिनुहोस !