बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भनिन्- २०२४ को विद्यार्थी आन्दोलन शान्तिपूर्ण थिएन
काठमाडौं : पूर्वप्रधानमन्त्री शेख हसिनाले बंगलादेशको विद्यार्थी राजनीति शान्तिपूर्ण नभएको बताएकी छन्। सन् २०२४ को जुलाईदेखि अगस्टसम्म भएको आन्दोलन शान्तिपूर्ण नभएको उनको दाबी छ।
दिल्लीबाट सञ्चारमाध्यमसँग भर्चुअल संवाद गर्दै हसिनाले पछिल्ला दुई वर्षमा आफूले ‘आफ्नो प्रिय बंगलादेशले ठूलो पीडा भोगिरहेको’ देखेको बताइन्। उनले भनिन्, ‘हामीले निर्माण गरेको बंगलादेश अहिलेको बंगलादेश होइन। सन् १९७१ मा ३० लाख मानिसले बलिदान दिएको देश पनि यो होइन।’
सन् २०२४ को विद्यार्थी आन्दोलनबारे बोल्दै हसिनाले सुरुदेखि नै आफ्नो सरकारले संवाद, कानुनी प्रक्रिया र धैर्यका माध्यमबाट समस्या शान्तिपूर्ण रूपमा समाधान गर्ने प्रयास गरेको दाबी गरिन्। उनका अनुसार सुधारको मागको आडमा केही संगठित समूह सक्रिय थिए, जसले विद्यार्थीका मागलाई हिंसात्मक राजनीतिक अस्त्रमा रूपान्तरण गर्न खोजेका थिए।
हसिनाले आफूले जीवनभर बंगलादेशका जनतासँगै बिताएको र देश छोड्न बाध्य भए पनि आफ्ना नागरिकसँग कहिल्यै अलग नभएको बताइन्।
प्रतिक्रिया दिनुहोस !