‘रेडियो अन्नपूर्ण’मा सुरु भयो एआई वाचिका वाणीद्वारा समाचार
काठमाडौं : रेडियो अन्नपूर्ण नेपाल ९४.० मेघाहर्जले बुधबारदेखि एआई (आर्टिफिसियल इन्टिलिजेन्स) वाचिकाबाट समाचार बुलेटिन सुरु गरेको छ। प्रविधिको उच्चतम प्रयोग गर्दै सञ्चारमाध्यमलाई सशक्त बनाउन एआई प्रविधिको नौलो प्रयोग थालनी भएको अन्नपूर्ण मिडिया नेटवर्क (एएमएन)ले जनाएको छ।
अहिलेलाई हरेक दिन बिहान ११ बजे र साँझ ५ बजे प्रसारण हुने बुलेटिन अन्नपूर्ण मिडियाको भ्वाइस् अफ अन्नपूर्ण न्यूज एण्ड इन्टिलिजेन्स् अर्थात् वाणीको आवाजबाट सुरु गरिएको हो।
यसलाई क्रमशः बढाउँदै लगिने र अन्य प्लेटफर्महरूमा समेत एआई प्रविधिको जिम्मेवार र उच्चतम तहको प्रयोग गरिने एएमएनले जनाएको छ।
वाणी एआई प्रविधिमार्फत समाचार वाचन गर्न अन्नपूर्णले प्रस्तुत गरेको नाम हो। सही सूचना र समाचारजन्य सामाग्रीलाई छिटोभन्दा छिटो जनमानसमा पुर्याउन प्रविधिलाई पहिलो प्राथमिकता दिइएको जानकारी अन्नपूर्ण मिडियाका प्रधानसम्पादक बालकृष्ण बस्नेतले दिए।
‘प्रविधि र पत्रकारिताको नयाँ संगमसहित नागरिकलाई तथ्यपरक समाचार दिन अन्नपूर्ण मिडियाले नयाँ सुरुवाता गरेको हो। विश्वका विकसित राष्ट्रमा प्रयोग भइरहेका प्रविधिलाई अन्नपूर्णले स्वागत गरेको हो,' बस्नेतले भने।
अन्नपूर्णले विभिन्न सूचनामूलक सामाग्रीसहित एआईमा आधारित डिजिटल प्लेटफर्म ‘सम्पूर्ण’ सुपर एप प्रयोगमा ल्याइसकेको छ। सम्पूर्णमा समाचार, विचार, विश्लेषण, तस्बिर, भिडियोसहित विभिन्न सूचनामूलक सामाग्रीहरु छन्। नेपाली सञ्चारमाध्यममा पहिलोपल्ट सृजित यस्तो प्लेटफर्मबाट नागरिकले आफ्ना सूचना र सन्देश आफै प्रवाह गर्न सक्नेछन्। यो डिजिटल प्लेटफर्मको शुभारम्भ समारोहको एआई होष्टसमेत वाणीबाटै भएको थियो।
प्रतिक्रिया दिनुहोस !