पथलैया युनाइटेडको विजयी सुरुवात
सिमरा : बाराको पथलैयामा सुरु भएको दोस्रो पथलैया टाउन कप फुटबल प्रतियोगितामा आयोजक पथलैया युनाइटेड क्लबले विजयी सुरुवात गरेको छ। पथलैयास्थित थानीमाई मन्दिरको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा पथलैयाले युवा स्पोर्टस् क्लब वीरगन्जलाई टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गरेको हो।
निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा सिधै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा वीरगन्जका एक खेलाडीको प्रहार पोष्टमा ठोक्किएर बाहिरिएपछि पथलैयाले जित दर्ता गर्यो । पथलैयाका गोलरक्षक खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए।
पथलैया टाउन एफसीको आयोजनामा सञ्चालित प्रतियोगितामा २२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को कार्यालय मुख्य प्रायोजक रहेको प्रतियोगितामा थानीमाई ढुवानी सेवा सहप्रायोजक, थानीमाई एफसी र पथलैया दिव्यज्योति क्लब सहयोगी संस्थाका रूपमा रहेका छन् भने भायानेटले इन्टरनेट पार्टनरको भूमिका निभाएको छ ।
यसअघि प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसकी युवा नेतृ मेघा शाहीले गरेकी थिइन्। आयोजक क्लबका अध्यक्ष दीप राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयबहादुर श्रेष्ठ र पूर्वजनप्रतिनिधि रामदास धौजुलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सुरेश विकले गरेका थिए।
प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुनेछन् । पहिलो खेल औराह फुटबल क्लब र बिवाईसीबीच हुनेछ भने दोस्रो खेलमा योङ ब्वाइज र तमु फुटबल क्लब आमनेसामने हुनेछन् ।
प्रतिक्रिया दिनुहोस !