राजनीतिक संकटमा इन्फान्टिनो
एजेन्सी /जुरिच: विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो अहिले आफ्नो एक दशक लामो कार्यकालकै सबैभन्दा ठूलो राजनीतिक संकटसँग जुधिरहेका छन्।
विश्वकप तथा अन्य व्यावसायिक अधिकारलाई निजी लगानीकर्तासँग जोड्ने ‘फिफा फरवार्ड इन्टरप्राइज योजना’ (एफएफई) ले विश्व फुटबलमा तीव्र विवाद निम्त्याएपछि उनीमाथि राजीनामाको दबाब बढेको छ। अझ लामो समयसम्म उनका निकट मानिएका केही उच्च अधिकारी र सहयोगीहरूले समेत सार्वजनिक रूपमा दूरी बनाउन थालेपछि इन्फान्टिनोको नेतृत्व थप संकटमा परेको छ।
यही परिस्थितिमा उनले मोरक्कोको राजधानी रबाटमा फिफाका वरिष्ठ अधिकारी तथा विभिन्न सदस्य राष्ट्रका प्रतिनिधिहरूको आकस्मिक बैठक बोलाएका छन्। यो बैठकले उनको राजनीतिक भविष्य निर्धारण गर्नेछ।
किन संकटमा परे इन्फान्टिनो ?
विवादको केन्द्रमा रहेको एफएफई योजनाअन्तर्गत फिफाले नयाँ व्यावसायिक निकायको करिब २० प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव अघि सारेको थियो। त्यसबाट प्राप्त हुने अरबौं डलर सदस्य राष्ट्रहरूलाई वितरण गर्ने दाबी गरिए पनि प्रक्रियाको पारदर्शिता, सुशासन र निर्णय शैलीमाथि गम्भीर प्रश्न उठेपछि उनको तीव्र विरोध भएको थियो। त्यसपछि इन्फान्टिनोले आफ्नो योजना फिर्ता लिन बाध्य भए पनि विवाद रोकिएको छैन। यसले फिफा नेतृत्वमाथिको विश्वास झनै कमजोर बनाएको छ।
आफ्नै टिममा असन्तुष्टि
यसपटक इन्फान्टिनोलाई सबैभन्दा ठूलो धक्का आफ्नै आन्तरिक टोलीबाट लागेको छ। फिफाको विकास कार्यक्रमको प्रमुख जिम्मेवारी सम्हालिरहेका आर्सेन वेंगरले आफूलाई योजनाबारे जानकारी नै नदिइएको बताएका छन्। महासचिव म्याथियास ग्राफस्ट्रोम पनि नेतृत्वप्रति असन्तुष्ट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोलगायतका केही प्रभावशाली व्यक्तिहरू पनि उनीबाट टाढिएका छन्। यसले इन्फान्टिनोको निर्णय प्रक्रिया अत्याधिक केन्द्रीकृत भएको आलोचनालाई थप बल पुर्याएको छ।
युरोपको विद्रोह
इन्फान्टिनोविरुद्ध सबैभन्दा कडा मोर्चा युरोपबाट खुलेको छ। युरोपेली फुटबल महासंघ (यूईएफए) का धेरै सदस्य राष्ट्रले उनलाई आगामी निर्वाचनमा समर्थन नगर्ने घोषणा गरेका छन्। इङ्लिस फुटबल संघले पनि प्रस्तावको प्रक्रिया र पारदर्शिताप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। केही युरोपेली संघहरूले आवश्यक परे बहिष्कारसम्मको चेतावनीसमेत दिएका छन्।
मोरक्कोमा बैठक किन ?
मोरक्को इन्फान्टिनोका लागि केवल बैठकस्थल होइन, राजनीतिक रूपमा पनि महत्वपूर्ण आधारभूमि हो। अफ्रिकी फुटबल महासंघभित्र उनले वर्षौंदेखि बलियो समर्थन निर्माण गरेका छन्। मोरक्को फुटबल महासंघले यसअघि नै सन् २०२७ को निर्वाचनका लागि इन्फान्टिनोलाई औपचारिक समर्थन जनाइसकेको छ। त्यसैले रबाट बैठकलाई अफ्रिकी समर्थन सुरक्षित गर्ने रणनीतिक प्रयासका रूपमा पनि विश्लेषण गरिएको छ।
अझै टिकिराख्ने दाउमा इन्फान्टिनो
युरोपमा उनको लोकप्रियता निकै घटेको छ। तर, पनि उनी पुनः अध्यक्षमा दोहोरिने अभियानमा छन्। फिफाका २११ सदस्य राष्ट्रमध्ये प्रत्येकसँग समान मताधिकार हुन्छ। त्यसैले अफ्रिका, एसिया, ओसियाना र साना सदस्य राष्ट्रहरूको समर्थन कायम राख्न सके इन्फान्टिनो पुनः निर्वाचित हुने सम्भावना भने अझै छ। अहिलेसम्म उनीविरुद्ध बलियो उम्मेदवार पनि सार्वजनिक भइसकेका छैनन्।
यद्यपि रबाट बैठकले इन्फान्टिनोको भविष्यबारे स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ। उनले विभाजित सदस्य राष्ट्रहरूलाई पुनः एकजुट गर्न सके भने सन् २०२७ को निर्वाचनसम्म आफ्नो नेतृत्व जोगाउन सक्छन्। तर, युरोपको विरोध अझ सशक्त बन्दै गयो र आन्तरिक असन्तुष्टि पनि चुलियो भने उनको दशक लामो शासन अन्त्य उन्मुख हुनसक्ने विश्लेषण गरिएको छ।
फुटबल इतिहासमा धेरै अध्यक्षहरू बाह्य दबाबभन्दा आफ्नै सहयोगीको असन्तुष्टिका कारण कमजोर बनेका छन्। अहिले इन्फान्टिनो पनि त्यही मोडमा आइपुगेका छन्। त्यसैले मोरक्कोमा भएको यो बैठक केवल एउटा नियमित प्रशासनिक बैठक मात्रै होइन, विश्व फुटबलको भावी नेतृत्वको दिशा तय गर्ने राजनीतिक संघर्षको महत्वपूर्ण अध्याय बन्न सक्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस !