मधेसमा ट्रान्सफर्मर चोरी भयावह

मधेसमा ट्रान्सफर्मर चोरी भयावह
सुन्नुहोस्

जनकपुरधाम : महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरास्थित पञ्चधुरा खानेपानीको ट्रान्सफर्मर चोरी भएको छ। साउन १९ गते रात्रिकालीन समयमा ट्रान्सफर्मरभित्रको तामा निकालेर फालिएको अवस्थामा फेला परेको हो। विद्युत् आपूर्ति अवरुद्ध भएपछि पञ्चधुरा खानेपानीको वितरण रोकिन गई २ सय घरमा खानेपानीको हाहाकार भएको एक स्थानीयलेजानकारी दिए।

धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित नेपाल विद्युत् प्राधिकरणले जडान गरेको ट्रान्सफर्मर गत सोमबार राति चोरी भयो। ढल्केबर–जनकपुरधाम सडक खण्डको मुख्य सडकस्थित हजरा चोकमा रहेको जनता माध्यमिक विद्यालयका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी हुँदा गर्मीयाममा स्थानीयसँगै स्कुलका बालबालिकालाई दैनिक जीवनयापन गर्न असहज भएको स्थानीय विनोदकुमार महतो कुशवाहाको भनाइ छ।

धनुषाकै मिथिला नगरपालिका–२ नक्टाझिजस्थित खानेपानी आयोजनाको विद्युतीय ट्रान्सफर्मर गत महिना पनि चोरी भएको थियो। खानेपानी उपभोक्ता समितिका अध्यक्ष सूर्यनारायण महतोले खानेपानी आयोजनामा जडान गरिएको ५० केभीको ट्रान्सफर्मर चोरी हुँदा ७ सय घरपरिवारको धारामा पानी आपूर्ति बन्द भएको बताए। घटनाबारे जानकारी दिँदै उनले पोलमा जडान गरिएको ट्रान्सफर्मर भुइँमा झारेर त्यसभित्र रहेका तामाका तार र तेल चोरी गरेर लगेको र ट्रान्सफर्मरको बाँकी भाग भने सोही ठाउँमा छोडिएको अवस्थामा फेला परेको जनाए।

कतिपय अवस्थामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको अवस्थामा चोरले लाइन सर्ट गराएर ट्रान्सफर्मर खोली त्यसमा भएको कपरको क्वाइल चोरेर लाने गरेको नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रका प्रमुख इन्जिनियर उमेशप्रसाद यादवले बताए।

चोरहरूले ट्रान्सफर्मरबाट तामाको क्वाइल निकालेर कवाडमा बेच्ने गरेका छन्। ट्रान्सफर्मर चोरी हुँदा खोजिदिन भन्दै हामीले प्रहरीमा उजुरी गरेका छौं। चोरले तामाको क्वाइल निकालेर कवाडमा बेच्ने गरेको केही तथ्यहरू फेला परे पनि यथेष्ट प्रमाणको अभावमा उनीहरू कानुनी दायराभन्दा टाढा छन्। 
ई. शम्भु कुसियैत यादव - प्रमुख, नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेश

२ वर्षभित्रै नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्र महोत्तरीअन्तर्गतको क्षेत्रबाट १७ वटा ट्रान्सफर्मर चोरी भएका छन्।  ११ हजार भोल्टको विद्युत् प्रवाह भएको हाइटेन्सन तारमा अन्य तार फ्याकेर सर्ट गराएर चोरी भएको छ। 
उमेशप्रसाद यादव - नेपाल विद्युत् प्राधिकरण, गौशाला वितरण केन्द्र, महोत्तरी

११ हजार भोल्टको विद्युत् प्रवाह भएको हाइटेन्सन तारमा अन्य तार फ्याकेर सर्ट गराउने र विद्युत् लाइन अवरुद्ध भएको अवस्थामा चोरले ट्रान्सफर्मर खोल्ने गरेको इन्जिनियर यादवको भनाइ छ।

‘चोरले ट्रान्सफर्मरमा रहेको कपरको क्वाइल मात्र झिकेर लाने गरेको छ,’ यादवले भने, ‘ट्रान्सफर्मरको बाँकी सबै चिज त्यहीँ तल फालेर भागेको पाइयो। अझ कतिपय अवस्थामा त प्यानल नै काटेर तल झार्ने र सबैभन्दा महŒवपूर्ण मानिने कपर क्वाइल तार चोरी गरेर लाने समस्या छ।’

गौशाला वितरण केन्द्र महोत्तरीका प्रमुख इन्जिनियर यादवका अनुसार खुला स्थान तथा चौरमा जडान भएको ११ हजार भोल्टको लाइभ लाइनलाई समेत सर्ट गराएर एमसीबी झरेको अवस्थामा ट्रान्सफर्मर चोरी गर्ने गरिएको छ। आफ्नो ज्यानकै पर्वाह नगरी जोखिममा राखेर त्यसरी चोरी गर्नेहरू रहेको उनले दाबी गरे। उनले भने, ‘म मलंगवा वितरण केन्द्रमा हुँदा चोरी गर्ने गिरोहमध्येका १० जना पक्राउ परेका थिए। जसमा वीरगन्ज, बर्दिबास र केही भारतका व्यक्तिहरूको समेत संलग्नता रहेको थियो।’null

प्रमुख यादवका अनुसार २ वर्षभित्रै नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्र महोत्तरीअन्तर्गतको क्षेत्रबाट मात्र १७ वटा ट्रान्सफर्मर चोरी भएका छन्। उनका अनुसार प्रतिकिलो ४ हजार रूपैयाँसम्ममा बिक्री हुने कपर क्वाइलका लागि मुख्यतया ट्रान्सफर्मर चोरी हुने गरेको छ।

आवश्यकताअनुसार २ लाखदेखि २५ लाख रूपैयाँसम्म मूल्य पर्ने ट्रान्सफर्मर प्राधिकरणले जडान गर्ने गरेको छ। चोरहरूले ट्रान्सफर्मरबाट तामाको क्वाइल निकालेर कवाडमा बेच्ने गरेको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुख इन्जिनियर शम्भु कुसियैत यादवले बताए। ‘ट्रान्सफर्मर चोरी हुँदा खोजिदिन भन्दै वितरण केन्द्रले प्रहरीमा उजुरी गर्ने गरेको भए पनि हालसम्म एकाधबाहेक अपराधमा संलग्नसम्म प्रहरी पुग्न सकेको छैन।’ चोरहरूले ट्रान्सफर्मरबाट तामाको क्वाइल निकालेर कवाडमा बेच्ने गरेको केही तथ्यहरू फेला परे पनि यथेष्ट प्रमाणको अभावमा उनीहरू कानुनी दायराभन्दा टाढा रहेको उनले खुलाए।

‘उनीहरूले विद्युत् लाइन सर्ट गराएर ट्रान्सफर्मर तल झारेर क्वाइल चोरी गर्ने गरेको पाइएको छ,’ नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रशासकीय प्रमुख कालीचरणप्रसाद यादवले (केसी) भने, ‘ट्रान्सफर्मरबाट कपरको क्वाइल मात्र चोरी हुने गरेको छ। तर क्वाइल मात्र झिक्दा बाँकी ट्रान्सफर्मर पनि काम नलाग्ने गरी क्षतिग्रस्त हुन्छ।’

चोरी भएपछि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरीमा जानकारी दिएको उनले बताए। ‘अहिले केही चोरहरू क्वाइलसहित पक्राउ परेका तथा अनुसन्धान जारी नै रहेको भनेर हामीलाई खबर गरिएको छ,’ केसी यादवले भने।

जडान गरिएका १५ केभिएदेखि २०० केभिएसम्मका ट्रान्सफर्मर चोरी हुने गरेको विद्युत् प्राधिकरण मधेस प्रदेशको तथ्यांक छ। २५ केभिए ट्रान्सफर्मरको बजार मूल्य भ्याटबाहेक ४ लाख ४० हजार रुपैयाँ हुने गर्छ। त्यसबाहेक अन्य सरकारी निकायले जडान गरेका ट्रान्सफर्मर पनि चोरी भइरहेको केसी यादवले बताए। निजी क्षेत्रले खरिद गरेका ट्रान्सफर्मर पनि चोरी हुने गरेको पाइएको छ। अझ कतिपय क्षेत्रमा निजी र समुदाय स्तरमा खानेपानी तथा सिँचाइका लागि खरिद गरिएका ट्रान्सफर्मर चोरीको उजुरी नहुँदा कतिपय घटना बाहिर आउनै सकेका छैनन्।

मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले अन्य सामग्री चोरेजस्तै ट्रान्सफर्मर चोरी सबैले गर्न नसक्ने भएकाले यसमा प्राविधिक (स्किलफुल) मानिसको संलग्नता हुने बताए। उनले चोरीमा संलग्न हुने व्यक्ति प्राविधिक रूपमा विद्युत्का दक्ष जनशक्ति नै हुने गरेको जनाए। उनले भने, ‘ट्रान्सफर्मर चोरीमा पक्राउ परेकाहरूको प्रारम्भिक अनुसन्धान गर्दा एउटै नेक्ससमा जोडिएका व्यक्तिहरूबाट चोरी हुने गरेको देखिन्छ। चोरीको घटना मुख्यतया एकान्तमा जडान गरिएका ट्रान्सफर्मरमा हुन्छ, जहाँ रात्रिकालीन समयमा आम समुदायको पहुँच हुँदैन। त्यसैले लाइन कट्नेबित्तिकै प्रहरीसँगै प्राधिकरणले पनि यसमा चासो देखाउनुपर्‍यो।’

डीआईजी अधिकारीले पूर्वयोजना र पूर्वतयारीका साथ ट्रान्सफर्मर चोरी हुने गरेको बताउँदै भने, ‘पक्राउ परेकाहरूको अनुसन्धान गर्दा प्रहरीलाई दिने बयानको समेत पूर्वतयारी गरेर चोरीमा संलग्न हुने गरेको पाइन्छ। जसलाई रोक्न प्रहरीसँगै विद्युत् प्राधिकरण र आम नागरिकको सचेतना उत्तिकै 
आवश्यक छ।’

कृषि ट्रान्सफर्मर बढी चोरी
कृषि प्रयोजनका लागि डिप बोरिङ सञ्चालन गर्न गाउँगाउँमा जडान गरिएका ट्रान्सफर्मर चोरी हुने क्रम बढेको छ। पर्याप्त पानीको अभावमा मधेसका किसानहरूले सिँचाइ सुविधा प्राप्त गर्न खेतमा जडित बोरिङबाट पानी तान्न लगाइएका ट्रान्सफर्मर बढी मात्रामा चोरी हुने गरेको पाइएको छ।

महोत्तरीको जलेश्वर विद्युत् प्राधिकरण वितरण केन्द्रको एरियामा सबैभन्दा बढी विद्युत् चोरी हुने गरेको छ। कृषि सिँचाइका लागि विद्युत्ीकरण गरिएका ट्रान्सफर्मर चोरी हुने गरेको धनुषाका नेपाली कम्युनिस्ट पार्टीका नेता सरोज यादवको भनाइ छ। उनका अनुसार गत सातामात्र धनुषाको मिथिला बिहारी नगरपालिकामा सिँचाइका लागि जडित ५० केभिएको ट्रान्सफर्मर चोरी भएको थियो। सिँचाइका लागि डिप बोरिङ सञ्चालन गर्न कृषि यान्त्रिकीकरण आयोजना नक्टाझिजले जडान गरिदिएको ट्रान्सफर्मर चोरी भएको हो। यस गाउँमा दुई वर्षभित्र दुईवटा ट्रान्सफर्मर चोरी भइसकेका छन्।

धनुषा, महोत्तरी, सिरहालगायतका जिल्लामा एक महिनाभित्र ८ वटाभन्दा बढी ट्रान्सफर्मर चोरीका घटना सार्वजनिक भएका छन्। सिँचाइ सुविधा नभएको क्षेत्रमा किसानहरूका लागि डिपबोरिङ वरदान साबित भएको बेलामा ट्रान्सफर्मर चोरी भएपछि सिँचाइको अभावमा रोपेको धान सुक्न थालेको छ।

ट्रान्सफर्मर चोरीका कारण सिँचाइ सुविधाबाट वञ्चित भएका किसानहरू पीडामा छन् भने डिपबोरिङ बन्द भएपछि धान खेतमा धाँजा फाट्न थालेको छ। नहर, कुलोलगायतका सिँचाइ सुविधाबाट वञ्चित किसानहरूका लागि संघ र प्रदेश सरकारले भूमिगत जलस्रोत सिँचाइअन्तर्गत डिप बोरिङ जडान गरेर खेत–खेतमा सिँचाइ सुविधा दिने गरेको छ। तर ट्रान्सफर्मर चोरी हुँदा किसानको बिजोग भएको गौशाला नगरपालिका–१ रामनगरका किसान हरिचन्द्र महतोको भनाइ छ।

उनका अनुसार ५ लाख बराबरको ५० केभीको एउटा ट्रान्सफर्मर जडान गरेर लगभग ५० लाखको लागतमा डिप बोरिङ सञ्चालन हुने गर्दछ। तर, लाख–दुई लाखको लोभमा ट्रान्सफर्मरभित्र रहेको तामाको तार चोरेर डिपबोरिङलाई चोरले बेकाम बनाइदिने गरेको उनको भनाइ छ।

मधेस प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/०८३ मा ट्रान्सफर्मर चोरीका ५७ वटा घटना भएकोमा २२ वटा मात्र मुद्दा दर्ता भएका छन्। जसमा एक जना व्यापारीसहित १९ जना पक्राउ ‍परेका छन्।

महोत्तरीमा सबैभन्दा बढी २८ वटा ट्रान्सफर्मर चोरीका घटना भए पनि एक जना पनि पक्राउ परेका छैनन्। गाउँबाहिर सुनसान स्थानमा जडान गरिएका ट्रान्सफर्मर संगठित रूपमै चोरी हुने गरेको घटनाले सुरक्षा चुनौती बढाएको छ। एउटै गिरोहमा संलग्न व्यक्तिहरूले भारतीय नम्बर प्लेटको गाडीसमेत प्रयोग गर्ने गरेको स्थानीयको भनाइ छ। रातिको समयमा सुनियोजित रूपमा हुने गरेको ट्रान्सफर्मर चोरीको घटनाले सुरक्षा चुनौती बढाएको किसान हरिचन्द्र महतो बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.