ग्यास आपूर्ति कम भएको हो ?
आधा सिलिन्डर ग्यास दिँदा बजारमा खासै समस्या थिएन, तर अहिले ‘भरी सिलिन्डर ग्यास पाइने’ भन्नेबित्तिकै ग्यास पसलहरूमा लामो लाइन देखिन्छ। यस्तो किन भइरहेको छ, नागरिकलाई थाहा छैन। ग्यास आपूर्तिमै कमी आएको हो कि व्यापारीले चलखेल गरेका हुन् ? सम्बन्धित निकायले तत्काल अनुगमन गरी सत्यतथ्य जनतालाई जानकारी गराउनुपर्यो।
आधा सिलिन्डर ग्यास वितरण गर्दा तौल धेरै कम आउने गरेको गुनासो थियो। कम्तीमा अहिले पूरा सिलिन्डर पाइने भयो भनेर नागरिक खुसी भएका थिए। तर, बिडम्बना ! अहिले ग्यास नै पाइँदैन। अब के गर्ने ? कसलाई भन्ने ? नेपाल आयल निगमले बजारमा ग्यास पर्याप्त छ भनिरहँदा किन खाना पकाउने ग्यासको यति धेरै अभाव भएको छ ? एक सिलिन्डर ग्यास लिनका लागि एक महिनाअघिदेखि नाम लेखाउनुपर्ने बाध्यता छ। त्यति गर्दा पनि सहजै पाइँदैन, घण्टौं लाइन बस्नुपर्छ।
ज्यालादारी गर्ने सर्वसाधारणलाई दिनभरि काम गर्न जाने कि ग्यासको लाइनमा बस्ने भन्ने पिरलो छ। ग्यास पसलेहरूले भने आफ्ना नजिकका मान्छे र पहुँचवालालाई लुकाएर ग्यास दिइरहेका छन्। अभाव नै हो भने सबैका लागि हुनुपर्ने होइन र ? पैसा तिरेर पनि सहज रूपमा किन्न नपाइने यो कस्तो व्यवस्था हो ? अर्कोतर्फ, सरकारले बिजुलीमा ३ प्रतिशत अतिरिक्त कर लगाएको छ। सरकार र मन्त्रीहरूलाई महँगी भत्ता आउला, उनीहरूलाई यसले खासै फरक नपर्ला तर यसको प्रत्यक्ष मार सर्वसाधारणलाई परेको छ। एकातिर बिजुली बाल्न नसक्ने गरी महँगो भएको छ भने अर्कोतिर बजारमा ग्यास पाइँदैन। अनि, गरिब जनताले बिहान–बेलुका भात चाहिँ कसरी पकाएर खाने सरकार ?
पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
प्रतिक्रिया दिनुहोस !