कोशीमा हिक्मतकै निरन्तरता, बागमतीमा राप्रपा निर्णायक

कोशीमा हिक्मतकै निरन्तरता, बागमतीमा राप्रपा निर्णायक
फाइल तस्बिर।

काठमाडौं : अन्ततः तत्काललाई कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता हुने भएको छ। अध्यक्ष केपी शर्मा ओलीसँग दुई दिनदेखि भइरहेको छलफलबाट हाललाई कार्कीलाई नै निरन्तरता दिने सहमति भएको छ।

एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले एमाले–नेकपा गठबन्धनको सरकारको नेतृत्व कार्कीले नै गर्ने सहमति भएको बताए। उनले भने, ‘हाललाई उहाँ (कार्की) कै निरन्तरता हुन्छ।’ ओलीको भनाइ उद्धृत गर्दै खतिवडाले थपे, ‘अध्यक्ष कमरेडले मुख्यमन्त्रीजीलाई ‘अहिले काम गर्दै गर्नुस्, उपयुक्त समयमा निर्णय गर्छु’ भन्नुभएको छ।’

मुख्यमन्त्री हिक्मत कार्की, एमाले कोशी अध्यक्ष खतिवडा र सचिव राजकुमार भण्डारीसँग दुई दिनदेखि ओलीले छलफल गरेका थिए। कार्कीसँग ओलीसँग एक्लाएक्लै पनि छलफल भएको थियो।

ओलीकै निर्वाचन क्षेत्रका कार्कीलाई हटाएर ताप्लेजुङबाट निर्वाचित तिलकुमार मेन्याङ्बोलाई ओलीको तर्फबाट नयाँ अनुहारका रूपमा मुख्यमन्त्रीका लागि अगाडि सारिएको थियो। त्यसका लागि पूर्वमुख्यमन्त्री समेत भइसकेका पार्टीका अर्का सचिव शेरधन राई नै खटिएका थिए।
कोशी प्रदेशको सबैभन्दा ठूलो दल एमाले नै हो। ९३ सिट रहेको कोशी प्रदेश सभामा एमालेको ४०, कांग्रेसको २९, नेकपाको १७, राप्रपाको ५ र जनता समाजवादी पार्टीको १ सिट छ।

बागमती प्रदेशको सरकार निर्माणमा राप्रपा तगारो भएको छ। राप्रपाको समर्थनबिना बागमती प्रदेशमा कसैको पनि बहुमत पुग्दैन। बागमती प्रदेशमा राप्रपाको मत नै निर्णायक छ। पछिल्लो समय कांग्रेस र एमालेको गठबन्धन भत्किएको छ। एमाले र नेपाली कम्युनिस्ट पार्टीले सहकार्य गर्ने सहमति गरेका छन्। तर बागमती प्रदेशमा एमाले र नेकपाको मत जोड्दा पनि बहुमत पुग्दैन।

१ सय १० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेस, एमाले, नेकपालगायतका ६ दल छन्। बहुमतका लागि ५६ सांसद चाहिन्छ। ३७ सिटसहित कांग्रेस पहिलो दल छ। नेकपा २७ र एमाले २७ सांसदसहित तेस्रो स्थानमा छन्। राप्रपासँग १३ सिट, नेमकिपासँग ३, हाम्रो नेपाली पार्टीसँग २ र लोकतान्त्रिक समाजवादी पार्टीसँग १ सिट रहेको छ।

एमालेको नेतृत्व राप्रपासँग संवादमा छ। तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने बताएका छन्। पार्टीको केन्द्रीय समितिको बैठकपछि अध्यक्ष लिङ्देनले भने, ‘केही प्रदेशहरूमा सरकार फेरबदलका सन्दर्भमा पनि छलफल गरेका छौं। यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी सामेल छैन र त्यस प्रकारको गतिविधिमा राप्रपा लालायित पनि छैन।’

उनले कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर जान पनि सुझाएका छन्। यतिले नभए राप्रपाले निर्णय नै गर्ने अवस्था आए उपयुक्त समयमा उपयुक्त निर्णय लिइने उनले बताए। राप्रपा मूलतः प्रदेश सरकारहरू कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीहरू मिलेरै बनाऊन् भन्ने धारणा राख्दछ। ‘उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्षलाई दिने भन्ने टुंगो लागेको छ,’ अध्यक्ष लिङ्देनले भने।

बागमतीमा एमालेको लफडा पनि सकिएको छैन। पार्टी सचिव बस्नेतको चाहना भक्तपुरकै किरण थापालाई मुख्यमन्त्री बनाउनेछ। तर संसदीय दलको नेता जगन्नाथ थपलिया भएका कारण उनी स्वतः हुने सहमति यसअघि नै भइसकेको हो। तर सोमबार सचिव बस्नेतको आग्रहमा गुण्डु बोलाइएका थपलिया बेहोस नै बने। थपलियालाई पन्छाउन खोजेपछि राति ओली निवास गुण्डुमा छलफलका क्रममा थपलिया बेहोस भएका थिए। पार्टी सचिव बस्नेतको बलमा थापाले हस्ताक्षर अभियान चलाएका थिए।

थापाले राप्रपालाई मिलाएर ल्याउने वाचा पनि गरेका थिए। बुधबार एकाएक राप्रपा उनको सम्पर्कबाट टाढिएको छ। पार्टी महामन्त्री राजेन्द्र गुरुङले बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई सरकारमा सहभागी हुनेबारे कुनै निर्णय नगर्न निर्देशन दिएका छन्। उता राप्रपा निर्णायक शक्ति भएका कारण मुख्यमन्त्री इन्द्र बानियाँ पनि फकाउन लागिपरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.