सिरहा : सुनसरीको घटनालाई लिएर सिरहाका विभिन्न ठाउँमा प्रदर्शन चर्कियो। गोलबजारमा त गोली नै चल्यो र एक जनाको ज्यान गयो। तर आन्दोलनको उद्गमस्थल मानिने लहानमा यसपटक ठूलो अप्रिय घटना भएन। केही ठाउँमा प्रहरी र आन्दोलनकारीबीच सामान्य झडप भए पनि कोही घाइते भएनन्। स्थानीयवासीले संयमता अपनाएकाले दुई समुदायबीचको सम्भावित मुठभेड टर्यो।
अहिले हिन्दु–मुस्लिम द्वन्द्व शान्त देखिए पनि त्रास भने उस्तै छ। समस्याको दीर्घकालीन समाधानका लागि बेलैमा ठोस कदम चाल्नुपर्छ। जोखिमयुक्त क्षेत्रहरूमा जातीय, धार्मिक र राजनीतिक अगुवासहितको स्थानीय संयन्त्र बनाउनु आवश्यक छ। यस्तो संयन्त्र बनेमा भविष्यमा हुने घटनाहरूलाई द्रुत रूपमा साम्य पार्न सकिन्छ।
पछिल्लो समय मधेसमा साम्प्रदायिक द्वन्द्व भड्काउने समूह नै सक्रिय देखिन्छ। सरकारले त्यस्ता तत्त्वहरूको सूक्ष्म छानबिन गरी कडा कारबाही गर्नुपर्छ। दोषी जुनसुकै समुदायको भए पनि छुट पाउनु हुँदैन। कानुनी कारबाही नभएकै कारण यस्ता घटनाहरू पटक–पटक दोहोरिएका हुन्।
आन्दोलनको उद्गमस्थल लहानको आवाज
सुनसरी प्रकरणको राप सिरहाका सडकहरूसम्म पुग्दा गोलबजारमा गोली चल्यो। र, एक जनाले ज्यान गुमाए। हरेक आन्दोलनको उद्गमस्थल बन्दै आएको लहानले भने यसपटक सोचेविपरीत संयमताको परिचय दियो। केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य धक्कामुक्काबाहेक ठूलो अप्रिय घटना भएन।
स्थानीयवासीकै परिपक्वताका कारण दुई समुदायबीच हुन सक्ने सम्भावित साम्प्रदायिक मुठभेड टरेको छ। तथापि, सतहमा स्थिति साम्य देखिए पनि सिरहाका सडकहरूमा त्रासको भुसको आगो अझै निभिसकेको छैन। हिन्दु–मुस्लिम समुदायबीच बढेको अविश्वासलाई समयमै सम्बोधन नगरे यो पुन: भड्किने खतरा छ। मधेस मन्थनमा अन्नपूर्णले सद्भाव कायमको उपायबारे लहानमा बहस गरेको छ।
हातेमालो र सहकार्य जरुरी
सुनीलकुमार साह, अधिकारकर्मी
मधेसमा बढ्दै गएका साम्प्रदायिक द्वन्द्वले सामाजिक अन्तरघुलनमा गम्भीर असर पारेका छन्। पटक–पटकका आन्दोलनले थलिएको मधेस फेरि अशान्त हुने हो कि भन्ने चिन्ता बढेको छ। विभिन्न धार्मिक समुदायबीच बढेको अविश्वास र असमझदारी यसको मुख्य कारण हो।
हाम्रो समाज वर्षौंदेखि भाइचारा, सहिष्णुता र सद्भावमा आधारित रहँदै आएको छ। हरेक चाडपर्वमा शुभकामना साटासाट गर्ने परम्परालाई जोगाउनु अहिलेको दायित्व हो। त्यसैले वर्तमान द्वन्द्व समाधानका लागि सामाजिक, धार्मिक र राजनीतिक पक्षबाट तत्काल पहल हुनुपर्छ।
घटना भइसकेपछि पछुताउनुभन्दा पूर्वतयारी र रोकथाममा ध्यान दिनु बुद्धिमानी हुन्छ। राज्यले धार्मिक अगुवा, नागरिक समाज, युवा र स्थानीय राजनीतिज्ञहरूसँग समन्वय गर्नुपर्छ। पूर्वआंकलन र द्रुत निर्णयबाट मात्र साम्प्रदायिक हिंसा रोक्न सकिन्छ। सम्भावित जोखिमयुक्त क्षेत्र पहिचान गरी नागरिक समाजले पनि सहजकर्ताको भूमिका खेल्नुपर्छ। भुसको आगोझैं गुम्सिएको यो द्वन्द्व कुनै पनि वेला सल्किन सक्छ। त्यसैले साम्प्रदायिक हिंसा भड्किन नदिन सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छ। समाजमा शान्ति कायम गर्न हातेमालो र सहकार्य गर्नु नै आजको मुख्य आवश्यकता हो।
ooo
अन्तरसमुदाय समिति गठन गरौं
रवीन्द्र श्रेष्ठ - महासचिव, जिल्ला उद्योग वाणिज्य संघ
धार्मिक तथा साम्प्रदायिक द्वन्द्व सुल्झाउन स्थानीयस्तरमै समिति बनाउनुपर्छ। यस्तो समितिले भड्किएको स्थिति तत्काल साम्य पार्न मद्दत गर्छ। अचानक हुने झडपमा प्रहरी आउँदा भिड अझ आक्रोशित हुने गर्छ। यसको सोझो मार व्यापारी र तिनका व्यवसायमा पर्ने गरेको छ।
समस्याको स्थायी समाधानका लागि ‘अन्तरसमुदाय नागरिक समिति’ अनिवार्य छ। राजनीतिक दलहरूले पनि वडास्तरमै द्वन्द्व व्यवस्थापन टोली खटाउनुपर्छ। साम्प्रदायिक मुद्दामा राजनीति गर्ने प्रवृत्ति बढ्नु अत्यन्तै दु: खद् कुरा हो। आपसी सद्भावबाट मात्र समाज र देशको प्रगति सम्भव छ।
सरकारले आन्दोलनबाट क्षति भोगेका व्यवसायीलाई राहत र हौसला दिनुपर्छ। तोडफोड र आगजनीबाट पीडित भएका व्यापारीलाई भेट्न अहिलेसम्म सरकारी प्रतिनिधि पुगेका छैनन्। राज्यको यस्तो उदासीनताले व्यवसायीहरूमा निराशा बढाएको छ।
ooo
आन्दोलनमा बालबालिकाको प्रयोग रोकौं
आशिषलाल दास, विद्यार्थी नेता
अहिले जुनसुकै प्रदर्शनमा कलिला बालबालिकाको प्रयोग बढेको देखिन्छ। राजनीतिक दलहरूले उनीहरूलाई आन्दोलनमा ढाल बनाउनु गलत हो। बालबालिकालाई विरोध प्रदर्शनमा प्रयोग गर्ने जुनसुकै समूह वा दललाई कडा कारबाही हुनुपर्छ।
राजनीतिक चेतना नभएका बालबालिकाको सहभागिताले आन्दोलनलाई विध्वंसत्मक बनाउँछ। विगतका घटनामा धेरै बालबालिकाले अकालमा ज्यान गुमाउनु परेको छ। अभिभावकहरूले पनि आफ्ना बालबच्चाको गतिविधिमा विशेष निगरानी राख्नुपर्छ।
बालबालिकाको रगतमाथि राजनीति गर्ने परिपाटी तत्काल बन्द हुनुपर्छ। यसले उनीहरूको भविष्य बिगार्नुका साथै समाजमा नकारात्मक असर पार्छ। बालबालिकाको दुरुपयोग रोक्नु देश र समाज दुवैको हितमा हुन्छ।
ooo
पत्रकारिताले समाज जोड्ने काम गर्नुपर्छ
मनोज बनैता यादव अध्यक्ष, नेपाल पत्रकार महासंघ
सुनसरी र सिरहामा भएका हालैका घटनाहरू अत्यन्तै दु: खद् छन्। कुनै पनि विवाद हिंसामा परिणत हुनु सभ्य समाजका लागि शुभ संकेत होइन। यस्ता घटना भविष्यमा दोहोरिन नदिने साझा संकल्प आजको आवश्यकता हो।
सामाजिक सद्भाव कायम राख्न नियमित संवाद र सहिष्णुताको संस्कृति बसाल्नुपर्छ। असहमतिहरूलाई कानुनी र शान्तिपूर्ण माध्यमबाट मात्र सुल्झाउनुपर्छ। अफवाह र अपुष्ट सूचनाको भरमा प्रतिक्रिया दिने बानीले समाजलाई झन् विभाजित बनाउँछ।
राज्यले द्वन्द्वको पूर्वसूचना पाएर समयमै प्रभावकारी कदम चाल्नुपर्छ। दोषीमाथि निष्पक्ष छानबिन गरी कारबाही र पीडितलाई न्याय दिनु राज्यको कर्तव्य हो। संवेदनशील समयमा सूचना प्रवाह गर्दा पत्रकारहरू झनै जिम्मेवार र सन्तुलित हुनुपर्छ।
पत्रकारिताले समाजमा घृणा होइन, सद्भाव र राष्ट्रिय एकता बढाउनुपर्छ। सामाजिक सञ्जालका भ्रामक सूचना परीक्षण गरी सत्य तथ्य जनतासामु ल्याउनु पत्रकारको दायित्व हो। सम्प्रदायिक द्वेष फैलाउने जोकोहीलाई कानुन र आचारसंहिताअनुसार निष्पक्ष अनुसन्धान गरी कारबाही गरिनुपर्छ।
ooo
निष्पक्ष छानबिन र कडा कारबाही होस्
मोहम्मद मुस्ताक, स्थानीय व्यवसायी
मधेसमा दिनहुँजसो यस्ता घटना किन भइरहेका छन् ? वीरगन्जदेखि सुनसरीसम्मका घटनाबारे छानबिन कहाँ पुग्यो ? साम्प्रदायिक द्वन्द्व भड्काउनेहरूमाथि सरकारले अहिलेसम्म कडा कदम चालेको देखिँदैन।
कारबाही नहुँदा अपराधीहरूको मनोबल बढेको छ र घटना दोहोरिएका छन्। दोषी जुनसुकै धर्म वा समुदायको भए पनि सरकारले कडा कारबाही गर्नुपर्छ। निष्पक्ष कारबाही भएमा मात्र समाजमा शान्ति र अमनचयन कायम हुन सक्छ।
अहिले एकअर्कालाई दोष दिने र जुध्ने काम भइरहेको छ। वर्षौंदेखिको धार्मिक सद्भाव बिगारेर कसैको हित हुँदैन। रोहिंग्या वा अन्य विवादित मुद्दामा सरकारले कानुनबमोजिम कडा कदम चालोस्।
हामीजस्ता सर्वसाधारणले अनाहकमा सास्ती भोग्नुपरेको छ। हिन्दु राष्ट्रको माग गर्नेहरूसँग हाम्रो कुनै विरोध छैन। साम्प्रदायिक दुस्मनी फैलाउने तत्त्वहरूको पहिचान गरी सरकारले दीर्घकालीन शान्ति कायम गरोस्।
प्रतिक्रिया दिनुहोस !