अन्तर्राष्ट्रिय मासा सम्मेलनमा नविनाले गरिन् अनुसन्धान पत्र प्रस्तुत
सिमरा : अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री नविना बुढाथोकी मगरले बेलायतमा आयोजित मार्सल आटर्स स्टडिज एसोसिएसन (मासा) को १०औं वार्षिक सम्मेलनमा आफ्नो अनुसन्धान पत्र प्रस्तुत गरेकी छन्।
युनिभर्सिटी अफ ब्राइटनमा जुलाई अन्तिम साता आयोजित सम्मेलनमा नविना र रोजी महर्जनले संयुक्त रूपमा तयार पारिएको ‘नेपालमा मानसिक तथा मनोवैज्ञानिक सुस्वास्थ्य प्रवद्र्धनमा तेक्वान्दोको भूमिका बारे एक गुणात्मक अध्ययन’ शीर्षकको अनुसन्धान पत्र प्रस्तुत गरेकी हुन्।
गत जनवरीमै सम्मेलनका लागि छनोट भएको उक्त अनुसन्धान प्रस्तुतिका लागि नविना बेलायत पुगेकी थिइन्। सम्मेलनमा विश्वका २६ देशका ६८ भन्दा बढी शोधकर्ताहरूको सहभागिता रहेको थियो। अनुसन्धान पत्र छनोट भएका शोधकर्ताहरू सम्मेलनमा सहभागी हुने अवसर पाएका थिए।
सम्मेलन समापनपश्चात् प्रतिक्रिया दिँदै नविनाले यो सहभागिता अत्यन्तै उपलब्धिमूलक र फलदायी रहेको बताइन्। सम्मेलनका क्रममा थप प्राज्ञिक ज्ञान, अनुभव हासिल हुनुका साथै अन्तर्राष्ट्रिय स्तरका विज्ञ तथा अनुसन्धानकर्ताहरूसँग भावी सहकार्यका लागि अवसरहरू प्राप्त भएको उल्लेख गरिन्।
‘अन्तर्राष्ट्रिय मञ्चमा नेपाली तेक्वान्दोको खेल पक्षका साथै यसको मनोवैज्ञानिक र मानसिक स्वास्थ्यसँग जोडिएका प्रभावकारी पक्षहरूलाई उजागर गर्न पाउँदा खुसी लागेको छ’, नविनाले अन्नपूर्ण पोस्ट्सँग भनिन्, ‘यस अनुभवले आगामी दिनमा खेलकुद, प्रशिक्षण र अनुसन्धानको क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गर्ने हौसला दिएको छ।’
प्रतिक्रिया दिनुहोस !