धादिङमा डेङ्गीविरुद्ध ‘खोज तथा नष्ट’ अभियान
धादिङ : डेङ्गी रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले धादिङको गजुरी गाउँपालिकामा ‘साउन महिना डेङ्गी महिना खोज तथा नष्ट अभियान’ सुरु गरिएको छ ।
गजुरी गाउँपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय धादिङको समन्वयमा सञ्चालन गरिएको अभियानअन्तर्गत डेङ्गी सार्ने एडिस जातका लामखुट्टेले प्रजनन गर्न सक्ने स्थानहरूको खोजी गरी नष्ट गर्ने, घर–आँगन तथा सार्वजनिकस्थलमा जमेको पानी हटाउने र समुदायमा डेङ्गी रोकथामसम्बन्धी जनचेतना फैलाउने काम भइरहेको छ ।

अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको गाउँपालिकाले जनाएको छ । अभियानका क्रममा पानी जम्ने भाँडा, टायर, ड्रम, गमला, कुलर तथा अन्य जोखिमयुक्त स्थानहरूको निरीक्षण गरी लामखुट्टेको लार्भा नष्ट गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले वर्षायाममा डेङ्गी संक्रमणको जोखिम बढ्ने भएकाले प्रत्येक शुक्रबार कम्तीमा १० मिनेट आफ्नो घर र वरपर सरसफाइ गरी पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्ने र ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस !