जेलमा इमरान खान, सात महिनादेखि भेट्न नपाएका छोराहरू के भन्छन् ?
पाकिस्तान : पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानका छोराहरू कासिम खान र सुलेमान खानले पछिल्ला सात महिनादेखि आफूहरूलाई आफ्ना बुवासँग भेट्न अनुमति नदिइएको आरोप लगाएका छन् । दुवैले अमेरिकी समाचार च्यानल सीएनएनसँगको अन्तर्वार्तामा इमरान खानको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका छन् ।
कासिम र सुलेमानले भने, ‘हाम्रो बुवासँग अन्तिम पटक मार्चमा फोनमा कुरा भएको थियो । त्यसपछि परिवारका कुनै पनि सदस्यलाई उहाँसँग भेट्न वा कुरा गर्न अनुमति दिइएको छैन ।’ उनीहरूका अनुसार अदालतको आदेशअनुसार प्रत्येक दुई सातामा परिवारलाई इमरान खानसँग कुरा गराइनु पर्ने भए पनि यस पटक सबैभन्दा लामो समयसम्म सम्पर्क हुन सकेको छैन ।
दुवैले आफूहरूलाई बुवासँग भेट्न पाकिस्तानको भिसा समेत नदिइएको दाबी गरेका छन् । उनीहरूले भने, ‘हाम्रो पाकिस्तानी राहदानी (पासपोर्ट) को म्याद सकिएको छ । अहिलेसम्म किन भिसा दिइएको छैन भन्ने हामीलाई बुझ्न सकिएको छैन ।’ उनीहरूले इमरान खानसँग कानुनअनुसार व्यवहार नगरिएको आरोप लगाउँदै यसलाई ‘एक प्रकारको हिंसा’ भनेका छन् ।
भ्रष्टाचारसम्बन्धी मुद्दामा इमरान खानलाई सजाय सुनाइएकाबारे कासिम र सुलेमानले भने, ‘हाम्रा बुवाले सानैदेखि हामीलाई भ्रष्टाचारविरुद्ध उभिन सिकाउनु भएको थियो । हामी पाँच र सात वर्षका हुँदा पनि उहाँले इमानदारीको पाठ पढाउनु भएको थियो । यस्तो व्यक्तिलाई भ्रष्टाचारको आरोपमा जेलमा देख्नु हाम्रो लागि अत्यन्त पीडादायी छ ।’
उनीहरूले इमरान खानलाई जेलमा राख्नु उनका करोडौं समर्थक र मतदातामाथि पनि अन्याय भएको बताएका छन् । रिहाइका लागि कुनै सम्भावित सम्झौताबारे सोधिएको प्रश्नमा दुवैले भने, ‘बुवा आफ्नो रिहाइका लागि कुनै पनि प्रकारको सम्झौता गर्ने पक्षमा हुनुहुन्न ।’
प्रतिक्रिया दिनुहोस !