अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थासँग स्पष्टीकरण माग्ने निर्णयप्रति मानवअधिकारकर्मीको आपत्ति

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थालाई होइन, सरकारलाई जवाफदेही बनाउन आग्रह

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थासँग स्पष्टीकरण माग्ने निर्णयप्रति मानवअधिकारकर्मीको आपत्ति
कानुन समितिको बैठक

काठमाडौं : विभिन्न मानवअधिकारकर्मीहरूले संसदको कानून, न्याय तथा मानवअधिकार समितिले अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थासँग स्पष्टीकरण माग्ने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै सरकारलाई उठेका आरोपप्रति जवाफदेही बन्न आग्रह गरेका छन् । नेपालका मानवअधिकारकर्मीहरुले एक संयुक्त अपिल जारी गर्दै सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिसन अफ ज्युरिस्ट्सले साउन ८ गते संयुक्त वक्तव्य जारी गर्दै नेपालमा न्यायपालिकाको स्वतन्त्रता जोखिममा परेको तथा सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरूलाई राजीनामा दिन वा महाभियोगको दबाब दिइएको भन्ने विश्वसनीय जानकारी प्राप्त भएको बताएका थिए ।

यसै विषयमा प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिले साउन २० गते बसेको बैठकमा ती संस्थासँग ‘जानकारी लिन’ तथा स्पष्टीकरण माग्न महिला, बालबालिका तथा सामाजिक मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो । मानवअधिकारकर्मीहरूले संसदको संवैधानिक दायित्व सरकारलाई उत्तरदायी र जवाफदेही बनाउनु भएको बताउँदै आलोचना गर्ने स्वतन्त्र अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण माग्नु आवश्यक नभएको बताएका छन् । उनीहरूले संसद्को पहिलो जिम्मेवारी सरकारबारे उठेका आरोपबारे तथ्यपरक र सार्वजनिक जवाफ माग्नु हुनुपर्ने टिप्पणी गरेका छन् ।

उनीहरूले संविधानको धारा ९७ र प्रतिनिधिसभा नियमावली, २०८३ ले संसदीय समितिलाई सरकारका काम कारबाहीको अनुगमन, मूल्यांकन र उत्तरदायित्व सुनिश्चित गर्ने अधिकार दिएको बताएका छन् । समितिलाई सरकारमाथि संसदीय निगरानी गर्ने ‘मिनी संसद’ का रूपमा परिकल्पना गरिएको उनीहरूले बताएका छन् । 

वक्तव्यमा एम्नेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिसन अफ ज्युरिस्ट्स नेपाल सरकारका निकाय नभएको, उनीहरू स्वतन्त्र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था भएकाले मानवअधिकार, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी विषयमा सार्वजनिक रूपमा प्रश्न उठाउनु उनीहरूको वैधानिक भूमिका भएको बताइएको छ । संयुक्त अपिलमा सुशील प्याकुरेल, कनकमणि दीक्षित, चरणप्रसाद अधिकारी, सुबोधराज प्याकुरेल, डा. गोपालकृष्ण शिवाकोटी, डा. दिनेश त्रिपाठी, राजु चापागाईंलगायतका मानवअधिकारकर्मीहरूले हस्ताक्षर गरेका छन् । 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.