रुपन्देहीमा तीन अर्बमा ७१ वटा पक्की पुल
बुटवल : रुपन्देहीका नदीहरुमा पक्की पुल निर्माण हुने क्रम बढ्दै गएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि चालु आर्थिक वर्ष २०८३/०८४ सम्म निर्माण सम्पन्न र निर्माणाधीन अवस्थाका पुलको संख्या ७१ पुगेको हो । त्यसमध्ये ५८ वटा पुलहरु निर्माण सम्पन्न भइसकेका छन् भने १३ वटा पुलहरु निर्माणाधीन अवस्थामा रहेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका सिनियर डिभिजनल इन्जिनियर लालु गिरीले जानकारी दिए ।
‘लुम्विनी प्रदेश सरकार स्थापना भइसकेपछि यी पुलहरु रुपन्देहीमा निर्माण भएका हुन्’, गिरीले भने, ‘स्थापनाकालमा कपिलवस्तु र नवलपरासी, बर्दघाट सुस्ता पश्चिम पनि हेर्नु पर्दथ्यो ०७५ सालदेखि कार्यक्षेत्र रुपन्देही जिल्ला मात्र भएको छ ।’ प्रदेश सरकार मातहत अहिले लुम्विनीका १२ वटै जिल्लामा सडक पूर्वाधार विकास कार्यालय स्थापना भएका छन् ।
कतिपय निर्माण व्यवसायीहरुले सम्झौता अगावै पुलहरु निर्माण सम्पन्न गरेको गिरीले जानकारी गराए । लुम्विनी प्रदेश सरकारले पाँच करोडभन्दा माथिका योजनाहरु समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीहरुलाई गरेको सम्मान कार्यक्रममा रुपन्देहीका मात्रै तीन जना व्यवसायीहरु छनौट भएको गिरीले बताए । तीनै जना व्यवसायीहरुले पक्की पुल निर्माण गरेका थिए । नदीहरुमा सानाठूला गरी न्यूनतम ६ देखि अधिकतम एक सय मिटर लम्वाईसम्मका पक्की पुलहरु निर्माण भएका छन् ।
सिद्धार्थनगर नगरपालिका–१० रुपन्देहीको बागेश्वरी ओमकार ओम जेभीले लुम्विनी साँस्कृतिक नगरपालिका–१० स्थित तपोवन नजिकको वडौला खोलामा ६ करोड १४ लाख ३१ हजार ९ सय २९ रुपैयाँमा पक्की पुल निर्माण गरेको छ । यो पुल उक्त निर्माण कम्पनीले सम्झौता अवधिको दुई महिनाअघि नै पुरा गरेको थियो । एसियाटिक लुम्बिनी जेभी बुटवल उपमहानगरपालिका–३ ले तेलाहार खोलामा बृहत लुम्विनी चक्रपथ सडकमा जोडी अर्थात दुई वटा पक्की पुल कुल १९ करोड ४७ लाख ७० हजार ९ सय ४० रुपैयाँमा निर्माण गरेको छ । सम्झौता अवधि सकिन एक दिन बाँकी हुँदा निर्माण कम्पनीले उक्त पुल पुरा गरेको थियो ।
सैनामैना नगरपालिका–७ स्थित श्रीराम सैनामैना जेभीले मायादेवी गाउँपालिका–३ स्थित हरनामपुर खडवा नालामा ५ करोड २७ लाख १७ हजार ८ सय ४१ रुपैयाँ लागतमा पुल निर्माण गरेको छ । २०८१ असार २१ गते भएको उक्त योजनाको सम्झौता सम्पन्न गर्नुपर्ने अन्तिम समय २०८३ असार २१ गते थियो तर निर्माण कम्पनीले २०८३ जेठ १८ गते नै पुल निर्माण गरिसकेको थियो । समयमै काम गरेको भन्दै लुम्विनी प्रदेश सरकारले यी निर्माण व्यवसायीहरुलाई मन्त्रालयमा कार्यक्रमको आयोजना गरी मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ ।
‘धेरै कामको जिम्मा लिएर बीचमै अलपत्र पार्नुभन्दा थोरै गर्ने तर राम्रो गर्ने भन्ने मान्यताबाट मैले काम गरिरहेको छुु’, श्रीराम सैनामैना जेभीका आधिकारीक प्रतिनिधि रामप्रसाद पाण्डेयले भने, ‘मैले धेरै काममा ठेक्का हालेको छैन्, थोरै हाल्छु तर समयमै काम गरेर देखाउँछु । यसैमा मलाई गर्व लाग्छ ।’ धेरै कामको जिम्मा लिएर लथालिङ्ग पार्नुभन्दा थोरै लिएर समयमै सम्पन्न गर्दा त्यसले दीर्घकालसम्म सन्तोष र फाइदा दिने पाण्डेयले अनुभव सुनाए । २०५२ सालदेखि आफू निर्माणको क्षेत्रमा क्रियाशिल रहेको समेत उनले बताए ।
रुपन्देहीका मुख्य नदी तिनाउ र दानव सहित बान्द्रा, तेलाहार, वडौला, हरनामपुर खडवा, इन्गुरिया, सुखौरा, कन्चन र पहिलाखोलामा पक्की पुल निर्माण गरिएको कार्यालयका प्राविधिक तथा सामाजिक सुरक्षा अधिकृत एवं पुल इन्जिनियर गोविन्द खड्काले जानकारी दिए । खड्काका अनुसार क्रमागत पुलहरुमा कुल मुल्य अभिवृद्धि कर (भ्याट) सहित ९९ करोड १२ लाख १९ हजार १ सय ३२ रुपैयाँ बजेट विनियोजन छ । चालु आर्थिक वर्षमा ८ वटा पुलहरु बहुवर्षीय योजना अन्तर्गत स्वीकृत भएर निर्माणको प्रक्रियामा छन् ।
प्रतिक्रिया दिनुहोस !