पहिरोको जोखिममा रहेका घरका परिवारको उद्धार
दोलखा : दोलखाको विगु गाउँपालिका–४ वलीटारमा बुधबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा पिर्लोखोला उर्लिएर दुई घर उच्च जोखिममा परेका छन् । जोखिम बढेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा दुवै परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको छ ।
पहिरो र खोलाको कटानका कारण स्थानीय कमलप्रसाद ओली र रत्नकुमारी ओलीको घर बस्न नसकिने अवस्थामा पुगेपछि उनीहरूका परिवारलाई तत्काल उद्धार गरिएको सशस्त्र प्रहरी नायब शेखर कार्कीले बताए । घटनाको जानकारी प्राप्त हुनासाथ विपद् प्रतिकार्य बेस सिंगटीबाट सशस्त्र प्रहरी नायव निरीक्षक शेखर कार्कीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । टोलीले स्थानीयको सहयोगमा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा पुर्याएको जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार वलीटारका नौ घरधुरीमध्ये हाल अन्य घरहरू सुरक्षित छन् । यद्यपि निरन्तर वर्षा भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाइएको छ । यता, पिर्लोखोला बढेपछि अवरुद्ध बनेको सिंगटी–लामाबगर सडक पनि बिहीबार बिहान पहिरो पन्छाएपछि पुनः सञ्चालनमा आएको छ । सडक खुलेसँगै उक्त क्षेत्रमा सवारी आवागमन सुचारु भएको छ ।
प्रतिक्रिया दिनुहोस !