कसरी जोगियो इन्फान्टिनोको कुर्सी ?

कसरी जोगियो इन्फान्टिनोको कुर्सी ?
सुन्नुहोस्

विश्वकपको व्यावसायिक अधिकार निजी लगानीकर्तालाई बेच्ने विवादित योजना फिर्ता, माफी र अफ्रिका–एसियाको समर्थनले तत्काल पद जोगियो

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो पछिल्ला केही सातायता आफ्नो कार्यकालकै सबैभन्दा ठूलो राजनीतिक संकटमा परेका थिए। विश्वकपका व्यावसायिक अधिकार व्यवस्थापन गर्ने नयाँ कम्पनीमा २० प्रतिशत हिस्सेदारी निजी लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव सार्वजनिक भएपछि युरोपेली फुटबल महासंघ (यूईएफए), इङ्लिस फुटबल संघ (एफए), उत्तर तथा मध्य अमेरिकी महासंघ (कन्काकाफ) र एसियाली फुटबल महासंघ (एएफसी) का केही सदस्यबाट तीव्र असन्तुष्टि देखिएको थियो। पारदर्शिताको अभाव र पर्याप्त परामर्श नगरी प्रस्ताव अघि बढाइएको आरोप लागेपछि इन्फान्टिनोको नेतृत्व नै संकटमा परेको थियो।

यही संकटकाबीच मोरक्कोको रबाटमा इन्फान्टिनोले फिफा व्यवस्थापन बोर्ड र महासचिव माटियास ग्राफस्ट्रोमसँग आकस्मिक बैठक बोलाएका थिए। धेरैले यो बैठकलाई उनको राजनीतिक भविष्यको निर्णायक परीक्षा मानेका थिए। बैठकअघि विभिन्न सञ्चारमाध्यममा असाधारण फिफा कंग्रेस बोलाएर नेतृत्व परिवर्तन हुन सक्ने चर्चासमेत चलेको थियो। तर, बैठकको अन्त्यमा सार्वजनिक गरिएको संयुक्त बक्तव्यले परिस्थिति नै बदलिदियो। फिफा व्यवस्थापन बोर्ड र महासचिवले इन्फान्टिनोप्रति पूर्ण समर्थन रहेको घोषणा गरेका थिए। बक्तव्यमा २११ सदस्य राष्ट्रबाट निर्वाचित अध्यक्षका रूपमा इन्फान्टिनोप्रति विश्वास कायम रहेको उल्लेख गरिएको थियो भने इन्फान्टिनोले पनि महासचिव र प्रशासनिक टोलीप्रति आफ्नो पूर्ण समर्थन दोहोर्‍याएका थिए।

माफीले घटायो दबाब

मोरक्को बैठकअघि इन्फान्टिनोले विवादित प्रस्ताव अघि बढाउने प्रक्रियामा कमजोरी भएको स्वीकार गर्दै सदस्य राष्ट्रसँग माफी मागेका थिए। विश्वकपको व्यावसायिक अधिकारसम्बन्धी योजना पूर्ण रूपमा फिर्ता लिएको घोषणा पनि गरेका थिए। उनले भविष्यमा यस्ता विषयमा अझ पारदर्शी प्रक्रिया अपनाउने, सदस्य राष्ट्रसँग व्यापक परामर्श गर्ने तथा सुशासन प्रणालीको समीक्षा गर्ने प्रतिबद्धता जनाएका थिए। यही लचकताले तत्कालका लागि उनीमाथिको दबाब कम गर्न महत्वपूर्ण भूमिका खेलेको विश्लेषण गरिएको छ।

अफ्रिका–एसियाको साथ निर्णायक

इन्फान्टिनोको अर्को बलियो आधार अफ्रिका र एसियाका सदस्य राष्ट्र बनेका थिए। युरोपका केही प्रभावशाली संघले समर्थन फिर्ता लिए पनि अफ्रिका र एसियाका धेरै सदस्य संघ उनको पक्षमा उभिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। विशेषगरी मोरक्को फुटबल महासंघ पहिलेदेखि नै इन्फान्टिनोको बलियो समर्थक रहँदै आएको छ। आगामी फिफा अध्यक्षीय निर्वाचनका लागि पनि मोरक्कोले औपचारिक समर्थन जनाइसकेको छ।

विपक्षी एकजुट हुन सकेनन्

इन्फान्टिनोविरुद्ध असन्तुष्टि बढे पनि हालसम्म उनको विकल्पका रूपमा कुनै बलियो उम्मेदवार सार्वजनिक हुन सकेको छैन। यही कारण पनि तत्काल नेतृत्व परिवर्तनको सम्भावना टरेको हो। इङ्लिस एफएले फिफाको सुशासन प्रणालीमाथि पूर्ण समीक्षा आवश्यक रहेको बताएको छ भने क्यानडाका प्रधानमन्त्रीलेसमेत इन्फान्टिनोप्रति विश्वास गुमाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए। यद्यपि आलोचना मात्र पर्याप्त भएन, किनभने त्यसलाई नेतृत्व परिवर्तनसम्म पुर्‍याउने साझा रणनीति भने बन्न सकेन।

चुनौती भने कायमै मोरक्को बैठकले इन्फान्टिनोको तत्कालीन संकट टारे पनि उनको राजनीतिक यात्रा सहज भने बनिसकेको छैन। सन् २०२७ मा हुने फिफा अध्यक्षीय निर्वाचनअघि उनले सदस्य राष्ट्रको विश्वास पुनः जित्नुपर्नेछ। यसका लागि फिफाको सुशासन प्रणाली सुधार्ने, निर्णय प्रक्रियालाई पारदर्शी बनाउने र सदस्य राष्ट्रसँगको सम्बन्ध पुनः सुदृढ गर्ने चुनौती उनीसामु छ। आगामी महिनामा यस्ता सुधार देखिएनन् भने अहिले शान्त देखिएको असन्तुष्टि पुनः चर्किन सक्ने विश्लेषण भइरहेको छ।

मोरक्को बैठकले एउटा सन्देश भने स्पष्ट दिएको छ, आलोचनाको घेरामा परे पनि इन्फान्टिनो अझै फिफाभित्र पर्याप्त राजनीतिक समर्थन राख्छन्। विवादित योजना फिर्ता लिनु, सार्वजनिक रूपमा कमजोरी स्वीकार्नु, अफ्रिका र एसियाको साथ कायम राख्नु तथा वैकल्पिक उम्मेदवार नदेखिनुले तत्कालका लागि उनले पद जोगाउन सफल बनाएको विश्लेषण गरिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.