कोमिन्ताङको बाटोमा कांग्रेस !
सन् १९१२ मा सन् यात–सेनले चीनमा स्थापना गरेको कोमिन्ताङ एक राष्ट्रवादी, शक्तिशाली र प्रगतिशील राजनीतिक दलका रूपमा उदाएको थियो। वर्तमान समयमा कांग्रेसभित्र आन्तरिक गुटबन्दी गहिरिँदै गएको छ। नेतृत्व चयन, नीति निर्माण र संगठन सञ्चालनका विषयमा निरन्तर हुने विवादले पार्टीलाई कमजोर बनाइरहेको छ। गत पुसमा एक पक्षले विशेष महाधिवेशन गरेर नेतृत्व त परिवर्तन ग¥यो, जसका कारण पार्टीको नेतृत्व गरिरहेको ठूलो समूह मूलधारबाट बाहिर रह्यो। अन्ततः निर्वाचनमा अनपेक्षित परिणाम आयो। नयाँ नेतृत्वले विशेष महाधिवेशन गर्दै गर्दा चमत्कारिक रूपमा पार्टी परिवर्तन हुन्छ र हामी फेरि ठूलो दल बन्छौं भन्ने महत्वाकांक्षा राखे पनि जनताले फेरिएको नेतृत्वलाई पत्याएको अवस्था देखिएन।
विशेष महाधिवेशनले न त नेतृत्व परिवर्तनको औचित्य पुष्टि गर्न सक्यो, न त आफ्ना एजेन्डालाई जनतामाझ स्वीकृत नै गराउन सक्यो। बरु विशेष महाधिवेशनपश्चात् कांग्रेस झन् कमजोर हुँदै वैचारिक रूपमा छिन्नभिन्न बनेको छ भने जनजीविकाका सबालमा समेत मूकदर्शक जस्तै बनेको छ। नेतृत्व परिवर्तन गरिए पनि त्यसले पार्टीलाई एकताबद्ध बनाउनुको सट्टा झन् विभाजनतर्फ धकेलेको देखिन्छ। अहिले अरूबेला जस्तै नेतृत्व स्वीकारेका आन्तरिक वैचारिक समूहहरू छैनन्, बरु पार्टी नै विभाजनको सम्भावनाका साथ विभाजित समूहहरू सक्रिय छन्।
कुनै समय कोमिन्ताङको इतिहासमा पनि यस्तै अवस्था आएको थियो। अत्यधिक केन्द्रीकृत नेतृत्व, आन्तरिक असन्तुष्टि र गुटगत संघर्षले पार्टीलाई क्रमशः कमजोर बनाएको थियो। जब कुनै दलभित्र आन्तरिक लोकतन्त्र कमजोर हुन्छ, विचारभन्दा व्यक्तिवाद हाबी हुन्छ र सहकार्यको सट्टा अनुचित प्रतिस्पर्धात्मक द्वन्द्व र पूर्वाग्रह बढ्छ, तब त्यो दल दीर्घकालीन रूपमा टिक्न सक्दैन। कांग्रेस त्यसै पनि वैचारिक विचलनबाट गुज्रिरहेको अवस्थामा नेतृत्वले दम्भ देखायो भने यो झन् कमजोर हुने निश्चित छ।
वैचारिक स्पष्टताको अभाव राजनीतिक दलका लागि गम्भीर समस्या हो। नेपाली कांग्रेसले ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई आफ्नो मूल सिद्धान्त मानेको छ। तर व्यवहारमा यी मूल्यहरू कति कार्यान्वयन भएका छन् त भन्ने प्रश्न निरन्तर उठ्ने गरेको छ। आर्थिक नीति, सामाजिक न्याय, सुशासन र विकासको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न नसक्दा पार्टीप्रति जनताको विश्वास क्रमशः घट्दै गएको देखिन्छ। जब दल जनताको दैनिक जीवनसँग जोडिन सक्दैन, तब त्यो दलको आधार क्रमशः कमजोर हुन्छ।
यही कारणले जनसमर्थन गुमेपछि शक्तिशाली देखिने दल पनि छिट्टै पतनतर्फ उन्मुख हुन सक्छ। सत्ताकेन्द्रित राजनीति पनि नेपाली कांग्रेसको तीव्र आलोचना हुने पक्ष बनेको छ। कांग्रेस पटक–पटक सत्तामा पुगे पनि दीर्घकालीन सुधार, सुशासन र संस्थागत विकासमा अपेक्षित ध्यान दिन नसक्दा जनतामा निराशा बढेको छ। नीति र सिद्धान्तभन्दा सत्ता प्राप्ति र संरक्षणमा बढी केन्द्रित हुँदा पार्टीको छवि कमजोर बनेको देखिन्छ। कोमिन्ताङको अन्तिम चरणमा पनि यही समस्या देखिएको थियो। सत्ता जोगाउने प्रयासमा सुधारात्मक कदमहरू कमजोर परे, जसले गर्दा वैकल्पिक शक्तिहरू बलियो बने। इतिहासले देखाएको यो यथार्थ आज पनि उत्तिकै सान्दर्भिक छ।
नेतृत्व शैलीको प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। कुनै पनि दलको सफलता समावेशी, उत्तरदायी र दूरदर्शी नेतृत्वमा निर्भर हुन्छ। कांग्रेसमा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको भनिए पनि त्यसले पार्टीभित्रको विभाजन अन्त्य गर्न सकेको देखिँदैन। बरु पूर्वाग्रह, आन्तरिक असन्तुलन र असन्तुष्टि अझ बढेको अनुभूति हुन्छ। आन्तरिक लोकतन्त्र कमजोर बन्दै छ, प्रश्न उठाउनेमाथि कारबाहीको डन्डा चलाउनुका साथै पुराना नेतृत्वहरूप्रति वितृष्णा जगाइँदै छ। यस्तो अवस्थामा संगठन सुदृढ र पार्टी बलियो कदापि हुन सक्दैन।
यद्यपि, नेकाका लागि पुनर्निर्माणको सम्भावना अझै समाप्त भइसकेको छैन। यसको ऐतिहासिक भूमिका, सांगठनिक आधार र राष्ट्रियस्तरमा रहेको उपस्थितिजस्ता बलिया पक्ष अझै कायम छन्। तर अहिलेको अवस्थामा आन्तरिक एकता, स्पष्ट वैचारिक दिशा, जनमुखी नीति र उत्तरदायी एवं सर्वस्वीकार्य नेतृत्व हुन अति आवश्यक छ। यदि पार्टीले समयमै आत्मसमीक्षा गर्दै सुधारका ठोस कदम चाल्न सक्यो भने यसले पुनः आफ्नो पुरानो गौरवमय इतिहास हासिल गर्न सक्छ।
अन्ततः, कोमिन्ताङसँगको तुलना कांग्रेसका लागि निराशाको सन्देश पक्कै पनि होइन, बरु सुधारको अवसर हो। समयले दिएको चेतावनीलाई समयमै बुझ्न सके भविष्य सुरक्षित गर्न सकिन्छ। अन्यथा, विगतको गौरवपूर्ण इतिहासलाई मात्र सम्झेर बस्ने दलहरू क्रमशः अप्रासंगिक र कमजोर बन्दै जान्छन् भने नजरअन्दाज गरिएका र आफ्ना औचित्यसमेत पुष्टि गर्न नसकेका, सैद्धान्तिक रूपमा अस्पष्ट दलहरू पनि विश्व राजनीतिमा दिनप्रतिदिन बलिया र शक्तिशाली बन्दै जान सक्छन्।
नेपाली कांग्रेस आज त्यही मोडमा उभिएको छ। निवर्तमान संस्थापन पक्षले बीपीको स्मृतिसभाको अवसर पारेर यही साउन २९ गतेका लागि राष्ट्रिय भेला बोलाएको छ। अहिले एकताको भावनाभन्दा संस्थापन पक्ष प्रतिकारमा उत्रिरहेको जस्तो देखिन्छ। अझै पनि संस्थापन पक्षले दम्भ र अहम् त्याग गरेर लचकताका साथ एकताका लागि संवाद ग¥यो भने नेपाली कांग्रेस बृहत्तर एकता, नीतिगत सुधार र जनजीविकाका सवालमा आफ्नो आवाज उठाएर आत्मसुधारको बाटो रोज्दै फेरि आफ्नो जनमत फर्काउन सक्छ। नत्र साउन २९ मा पार्टीको विभाजन निश्चित छ र यसले इतिहासको पुनरावृत्तिलाई पहिल्याउँदै कोमिन्ताङजस्तै पतनको बाटो समात्न सक्छ।
प्रतिक्रिया दिनुहोस !