हात्ती किन बस्तीमा पस्छ ?
सबैभन्दा पेचिलो प्रश्न नै बनेको छ कि— हात्ती किन बस्तीमा पस्छ ? कञ्चनपुरको सुन्दरीदेवी मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष भरत विष्ट परम्परादेखि हात्तीले विचरण गर्ने जैविक मार्ग मासिनु नै हात्ती बस्ती पस्नुको मुख्य कारण रहेको बताउँछन्।
‘मुख्य कारण नै हात्तीले परम्परागत रूपमा हिँड्ने बाटो मासेर बस्ती बस्नु हो,’ विष्टले भने, ‘वर्षौंसम्म पनि हात्तीलाई उसका पुस्ताले हिँडिरहेको बाटो सम्झनामा हुन्छ। हात्ती हिँड्ने बाटो पुस्तान्तरण हुँदै जान्छ। जलवायु परिवर्तनका कारण तराईमा गर्मी बढेसँगै हात्ती चुरेतिर बसाइ सर्ने गर्छन्। हात्तीले बसाइ सर्ने बेला जैविक मार्गमा बसेका वा विभिन्न सरकारले बसालेका बस्तीहरू फेला पर्छन्, अनि मानव–वन्यजन्तु द्वन्द्व बढ्छ।’
विष्टका अनुसार दोस्रो कारण भनेको वन क्षेत्रमा हात्तीको आहारामा कमी आउनु हो। ‘जलवायु परिवर्तनका कारण वनमा हात्तीले रुचाउने झाडीजन्य साना रुखहरू हराउन थाले,’ उनले भने, ‘हात्तीको आहारामा कमी आयो। बस्तीमा उसले मीठो–मीठो आहारा पाउन थाल्यो, हात्ती उखु असाध्यै मन पराउँछ। केरा, धान र गहुँ बाली बढी मन पराउँछ। जैविक मार्ग मासिएकाले बस्ती पसेका हात्तीको बथान बस्तीको आहारामा पल्किन्छ। त्यसैले हात्तीका बथान बस्तीमा आउने गर्छन्।’
हात्ती बस्ती पस्नुको अर्को कारण हो, निकुञ्ज वा राष्ट्रिय वनमा पानीका मुहानहरू सुक्दै जानु। ‘जलवायु परिवर्तनले निकुञ्ज वा राष्ट्रिय वनका पानीका मुहानहरू सुक्न थाले। गर्मीको बेला हात्तीले नदीमा गएर पौडी खेलेर शीतलता प्राप्त गर्छ। तर निकुञ्ज वा राष्ट्रिय वन क्षेत्रका पानीका परम्परागत मुहानहरू सुक्न थालेपछि हात्तीका बथान पानीको खोजीमा बस्ती पस्छन्,’ अध्यक्ष विष्टले भने।
पारिस्थितिक प्रणालीमा विद्यावारिधि गरेका डा. किशोर अर्याल पनि जलवायु परिवर्तनमा आएको असरका कारण मानव–वन्यजन्तुका बीचमा द्वन्द्व बढिरहेको बताउँछन्। डा. अर्याल भन्छन्, ‘जलवायुमा आएको परिवर्तनले वन र निकुञ्ज क्षेत्रमा हात्तीको आहारामा कमी आएको छ। हात्तीले मन पराउने आहारा वनमा कम भयो भने आहाराको खोजीमा निस्किन्छन्। हात्तीले जता राम्रो र सहजै आहारा पायो, उतैतिर लाग्छन्। त्यसैले पनि बस्तीमा हात्तीको बथानको आवागमन बढिरहेको हो।’
डा. अर्यालका अनुसार राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा पानीका स्रोतहरू सुक्नाले पनि वन्यजन्तु बस्ती पस्ने गरेका हुन्। ‘पहिलाको तुलनामा गर्मी बढेको छ। वर्षा कम भइरहेको छ। प्राकृतिक ताल र खोलानालाहरू सुक्न थालेका छन्,’ उनले भने, ‘राष्ट्रिय निकुञ्ज र वन्यजन्तु बस्ने वन क्षेत्रमा पानीका मुहानहरू सुके भने उनीहरू पानीको खोजीमा पनि निकुञ्ज वा वन क्षेत्रभन्दा बाहिर निस्किन्छन्। त्यसैले पनि उनीहरूको गन्तव्य मानव बस्तीतिर हुन्छ।’
कैलाली र कञ्चनपुरमा स्थानीयको खेती प्रणालीमा आएको परिवर्तनका कारण पनि हात्तीबाट क्षति भइरहेको विज्ञहरू बताउँछन्। मानव–वन्यजन्तु द्वन्द्व विषयमै स्नातकोत्तर गरेकी सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकी वरिष्ठ वन अधिकृत राधिका बोहरा भन्छिन्, ‘स्थानीयले पछिल्लो एक दशकयता नगदे बालीका रूपमा उखुको खेती बढी गर्न थालेका छन्। हात्तीका लागि उखु एकदमै मन पर्ने आहारा हो। सर्वेक्षणअनुसार हात्तीको आक्रमणका बढी घटना पनि उखु पाक्ने बेला भएका छन्।’
कञ्चनपुरमा दुई वटा चिनी मिल छन्। उखु नगदे बाली हो। स्थानीयले उखुको सहजै बजार पाइरहेकाले पनि किसानहरू उखुखेतीतर्फ आकर्षित भएका हुन्। धान, गहुँभन्दा पनि तीन–चार गुणा बढी आम्दानी हुने र नगद पाइने भएकाले पनि किसानहरू उखु खेती गर्न थालेका हुन्।
कैलाली र कञ्चनपुरमा भारतको दुधवा नेसनल पार्कबाट आएका हात्तीको बथानले पनि बढी क्षति गर्ने गरेका छन्। ‘भारतबाट आउने हात्तीका बथानले नेपालको चुरेसम्म विचरण गर्छन्,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्ले भन्छन्, ‘बथान आउने बेला पनि बस्तीमा क्षति गर्छन्, फर्किने बेलामा पनि। उखु पाक्ने बेला आउने भएकाले हात्तीको बथान महिनौंसम्म मीठो आहाराका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका उखु बस्तीवरिपरि विचरण गर्छन्।’
प्रतिक्रिया दिनुहोस !