राधेराधेको १७ तले भवनको प्रतिवेदन बनाउन ३४ लाख !
भक्तपुर : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मध्यपुर थिमि राधेराधेस्थित १७ तल्ले अलपत्र अग्लो भवन भएर हिँड्ने दैनिक हजारौंको जिज्ञासा रहने गर्दै आएको छ, वर्षाैंदेखि यत्रो ठूलो अग्लो भवन किन अलपत्र रहेको होला ? बस तथा पैदलबाट यही भवनलाई हेर्दै ओहोरदोहोर गर्ने मानिस १७ तले जीर्ण भवनतिर हेरेर भन्ने गर्छन्– ‘यो भवन कहिले बन्छ होला है ?’
यही प्रश्नले अब उत्तर पाउने भएको छ। नक्सा पास नभएका कारण अलपत्र अवस्थामा रहेको यो भवनले केही समयभित्रै नक्सा पास हुने वा नहुने निश्चित हुने भएको हो। मध्यपुर थिमि नगरपालिकाले १७ तले भवनको प्राविधिक अवस्था अध्ययन गरी प्रतिवेदन तयार भइसकेको जनाएको छ। प्रतिवेदन अध्ययन गरी यो भवनलाई नक्सा पास दिने वा नदिने निश्चित हुने नगरपालिकाले जनाएको छ।
मेयर सुरेन्द्र श्रेष्ठले पुल्चोक इन्जिनियरिङ कलेज पाटनका प्राध्यापक तथा विज्ञहरूको टोलीबाट भवनको प्राविधिक अध्ययन गराइएको हो। तयार अध्ययन तथा प्रतिवेदन अध्ययन गरी निष्कर्षमा पुग्ने उनले जनाए। ‘प्रतिवेदन तयार गर्न करिब ३४ लाख रुपैयाँ खर्च भएको छ,’ शुक्रबार भक्तपुरमा भएको कार्यक्रममा उनले भने। प्राविधिक अध्ययनबाट भवनको अवस्था, त्यसको संरचनात्मक सुरक्षालगायत विषयमा प्रतिवेदन तयार भएको नगरपालिकाले जनाएको छ। अब उक्त प्रतिवेदनका आधारमा भवनको निर्माण तथा व्यवस्थापनसम्बन्धी प्रक्रिया अघि बढ्ने नगरपालिकाले जनाएको छ।
तीन रोपनी क्षेत्रफलमा बनेको उक्त भवनको निर्माण २०६७ सालदेखि सुरु भएको हो। ठूलो व्यापारिक भवन निर्माण हुने र त्यसबाट राधेराधे क्षेत्रमा आर्थिक गतिविधि बढ्ने अनुमान गरेका स्थानीय लामो समयसम्म निर्माण ठप्प भएपछि आश्चर्यमा छन्।
मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठका अनुसार राधेराधेमा रहेको १७ तले भवनको पहिलो तल्लाको नक्सा नगरपालिकाबाट पास भएको थियो। तर त्यसपछि भवनको थप नक्सा पास गर्ने प्रक्रिया अघि बढ्ेन। ‘भवनको विषयमा हामीकहाँ दैनिकजसो छलफल भइरहन्थ्यो, उनले थपे, भवनले तत्कालीन निर्माण मापदण्ड पूरा नगरेको अवस्था थियो। त्यसमाथि २०७२ सालको भूकम्पबाट भवनमा क्षति पनि पुगेको थियो। त्यसैले भवनको नक्सा पास गर्ने विषय सहज थिएन।
उनका अनुसार नगरपालिकाबाट नक्सा पास गर्न नसकिएपछि भवनका धनीले नगरपालिकाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। सर्वोच्च अदालतले भवनको वास्तविक अवस्था र त्यससम्बन्धी विषय तीन महिनाभित्र टुंगो लगाउन नगरपालिकालाई आदेश दिएको थियो।
सर्वोच्चको आदेश कार्यान्वयन गर्ने क्रममा नगरपालिकाले नेपाल सरकारअन्तर्गत पुल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापक तथा सम्बन्धित क्षेत्रका विज्ञहरू सम्मिलित प्राविधिक टोली गठन गरेको थियो। वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको राधेराधेको १७ तले भवन झन्डै १० वर्षदेखि स्थानीय र यात्रुका लागि कौतुहलको विषय बन्दै आएको छ। राजधानीबाट भक्तपुर प्रवेश गर्ने मुख्य सडकछेउमै रहेको यो भवन कहिले पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने प्रतीक्षा भने अझै कायमै छ।
प्रतिक्रिया दिनुहोस !