वीरगन्जमा लोकल रक्सीसहित ४ जना पक्राउ
वीरगन्ज : वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा (लोकल रक्सी) सहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा–१० का २९ वर्षीय मनोज कुमार थिङ, बाराको जितपुरसिमरा–१ की ३५ वर्षीया कोपिला गुरुङ, ३६ वर्षीया रोनु तामाङ र ३३ वर्षीया माया पाख्रिन रहेका छन्। प्रहरीले लोकल रक्सी ओसारपसारमा प्रयोग गरिएको एउटा हाइस गाडी पनि नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट शनिबार खटिएको प्रहरी टोलीले वीरगन्ज–१५ प्रतिमा चोकस्थित सडकखण्डमा हेटौंडाबाट वीरगन्जतर्फ आउँदै गरेको बा प्र ०३–००१ ज १४०२ नम्बरको हाइस गाडी रोकेर चेकजाँच गरेको थियो। त्यस क्रममा उक्त गाडीमा लुकाइ छिपाई राखेको प्लास्टिकको बोराभित्र १०८ वटा पोकामा रहेको २ हजार २०० लिटर तयारी घरेलु मदिरा फेला परेपछि चालकसहित ४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मदिरा, गाडी र ४ जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय वीरगन्जमा बुझाइएको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
यस्तै, शनिबार नै वीरगन्ज–१५ त्रिशुल चोकस्थित विभिन्न खाजा होटलमा लुकाएर राखिएको थप ७५ पोकामा रहेको १ हजार ३०० लिटर घरेलु मदिरा बरामद गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !