बाघ बढ्दाको जोखिम

बाघ बढ्दाको जोखिम
सुन्नुहोस्

बीसौं शताब्दीको सुरुवातमा विश्वभर करिब १ लाखको संख्यामा रहेका बाघ २१औं शताब्दीमा आइपुग्दा घटेर ३२ सयमा झरे। लाखौं बाघ हुँदा मान्छेको जीवन त्राहिमाम थियो, बाघले सयौं मानिसको ज्यान लिन्थ्यो। त्यसैले उतिबेला बाघलाई मानव जीवनका लागि हानिकारक वन्यजन्तुका रूपमा हेरिन्थ्यो र यसको अनियन्त्रित सिकार हुन्थ्यो। राणा र राजाहरू बाघ सिकारका सौखिन थिए। 

कूटनीतिक सम्बन्ध बलियो बनाउन बेलायतका राजा जर्ज पञ्चमलाई नेपालको चितवनमा बाघ सिकारकै लागि ल्याइएको इतिहास ताजै छ। तर, जब मानिसले बाघ ‘पारिस्थितिकीय प्रणाली’को अभिन्न अंग हो भन्ने बुझ्यो, तब यसको संरक्षणका प्रयास सुरु भए। सन् २०१० को विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्म आफ्नो देशमा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो। त्यतिबेला नेपालमा जम्मा १ सय २१ वटा बाघ थिए। तर, संरक्षणमा प्राप्त अभूतपूर्व सफलताका कारण लक्ष्यभन्दा धेरै अर्थात् साढे ३ सयभन्दा बढी बाघ नेपालमा पुगेका छन्। अहिले चितवन, बर्दिया, शुक्लाफाँटा लगायतका निकुञ्ज र आरक्षहरूमा बाघको राम्रो उपस्थिति छ।

बाघको संख्या त बढ्यो, तर यससँगै चुनौती र जोखिम पनि उत्तिकै बढेको छ। शुक्लाफाँटा निकुञ्जवरिपरिका बस्तीमा बाघ पस्न थालेका छन्। बर्दियामा बर्सेनि बाघको आक्रमणबाट मानिसहरूले ज्यान गुमाइरहेका छन्। बाघ मात्रै होइन, झापादेखि कञ्चनपुरसम्म हात्तीको आक्रमण र आतंक पनि उस्तै छ। अर्थात्, एकातिर वन्यजन्तुको संरक्षण भइरहँदा अर्कोतिर नागरिकको जीउज्यान भने चरम जोखिममा पर्‍यो। हो, ठीक यहीँनेर सन्तुलन मिलाउनुपर्ने टड्कारो आवश्यकता देखापरेको छ। बाघ बढाउने नाममा जसरी संख्यामा जोड दिइयो, त्यसअनुसार उनीहरूलाई आवश्यक पर्ने बासस्थान र आहारा पुग्छ कि पुग्दैन भन्ने वैज्ञानिक आकलन हुन सकेन। जस्तै, शुक्लाफाँटामा अचेल करिब ५० बाघ छन्, तर तिनलाई बासस्थान पुगिरहेको छैन। वयस्क बाघका लागि सामान्यतया २५ वर्ग किलोमिटरको क्षेत्रफल चाहिन्छ भनिन्छ। 

बाघको संख्या बढाउँदा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा वाहवाही पाएकै हो। विश्वको दुर्लभ वन्यजन्तु पाटेबाघको संरक्षण गरेर प्रशंसित भइरहँदा देशका नागरिक जोखिममा परिरहेको यथार्थप्रति भने राज्यले पर्याप्त ध्यान पुर्‍याएन। अब जेजति क्षति र नोक्सानी भएको छ, त्यसबाट पाठ सिकेर वनको क्षमता, क्षेत्रफल र वन्यजन्तुको बासस्थानअनुसार मात्रै संख्या व्यवस्थापन गरिनुपर्छ। आवश्यक परे स्थानान्तरण वा नियन्त्रणका उपायहरू पनि अपनाउनु जरुरी छ।

निश्चय नै मानव सुरक्षा राज्यको पहिलो दायित्व हुनुपर्छ, आखिर वन्यजन्तु र पारिस्थितिकीय प्रणाली पनि मानिसकै दिगो भविष्यका लागि हो। तर सँगसँगै, पृथ्वी मानिसको मात्रै पेवा होइन, यहाँका सबै प्राणीको साझा घर हो भन्ने सत्य पनि भुल्नु हुँदैन। वन्यजन्तु पनि संरक्षित हुने र मानिसको जीउज्यान पनि जोगिने मध्यमार्गी उपाय रचिनुपर्छ। एकातिर जंगल छेउछाउ बढ्दो बस्ती विकासका कारण वन्यजन्तुको बासस्थान संकटमा छ र उनीहरूको आहारा खोसिएको छ भने, अर्कोतिर मानिसकै ज्यान निरन्तर खतरामा छ। मानिसले वन्यजन्तुको बासस्थान मात्रै अतिक्रमण गरेको छैन, उनीहरूका परम्परागत हिँडडुल गर्ने बाटाहरू पनि छेकिदिएको छ।

वन्यजन्तु मानिसको बस्तीमा आएका मात्रै होइनन्, मानिस नै जंगल मास्दै वन्यजन्तुको बासस्थान नजिक पुगेका हुन्। त्यसैले वन्यजन्तुको बासस्थानमाथि मानिसले गरिरहेको अतिक्रमणलाई नजरअन्दाज गरेर मानव जीवन जोगिन सक्दैन। बाघ र हात्ती लगायतका वन्यजन्तु हिँड्ने बाटो (जैविक मार्ग) खुला राखिनुपर्छ, उनीहरूको आहाराको उचित व्यवस्थापन जंगलभित्रै हुनुपर्छ र किसानको सुरक्षाको पूर्ण ग्यारेन्टी गर्दै ‘मानव–वन्यजन्तु द्वन्द्व’ अन्त्य गरी ‘सहअस्तित्व’ कायम गरिनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.