व्यक्तिवादको दलदलमा दलहरू

व्यक्तिवादको दलदलमा दलहरू

जब सत्ताभन्दा सेवा ठूलो हुन्छ, तब मात्र राजनीति जनविश्वासको आधार बन्छ।

लोकतन्त्रको वास्तविक शक्ति सरकार फेरिनुमा होइन, शासन गर्ने संस्कार फेरिनुमा हुन्छ। निर्वाचन, सरकार गठन वा नेतृत्व परिवर्तन लोकतन्त्रका बाह्य संकेत मात्र हुन्। यसको आत्मा भने संस्थागत उत्तरदायित्व, शक्ति सन्तुलन, विधिको शासन, आलोचना स्वीकार गर्ने संस्कार र नेतृत्वको आत्मसंयममा निहित हुन्छ। यी आधार कमजोर बन्दा लोकतन्त्रको आवरणभित्रै निरंकुश प्रवृत्ति उम्रन थाल्छ। इतिहासले बारम्बार प्रमाणित गरेको यही कठोर सत्य हो।

नेपालको राजनीतिक संकटलाई कुनै एक व्यक्ति, कुनै एक दल वा कुनै एक पुस्ताको असफलतामा सीमित गरेर बुझ्न सकिँदैन। यसको जरा धेरै गहिरो छ। हाम्रो राजनीतिक संस्कृतिमा वर्षौंदेखि विकसित हुँदै आएको केन्द्रीकृत नेतृत्व, व्यक्तिपूजा, सत्तामुखी सोच, संस्थाभन्दा व्यक्तिलाई ठूलो ठान्ने प्रवृत्ति र शक्ति गुम्ने मनोवैज्ञानिक त्रास नै आजको संकटको मूल कारण हो।

माक्र्सले राज्यलाई वर्गीय शक्ति सञ्चालनको साधनका रूपमा व्याख्या गरेका थिए। तर, समाजवादी रूपान्तरणको लक्ष्य राज्यलाई व्यक्तिको होइन, जनताको सामूहिक नियन्त्रणमा लैजानु हो। त्यसैले कुनै पनि प्रगतिशील आन्दोलनको सफलता केवल सत्ता प्राप्तिमा होइन, सत्तालाई संस्थागत अनुशासन र जनउत्तरदायित्वभित्र बाँध्न सक्ने क्षमतामा मापन गरिनुपर्छ। जब शक्ति व्यक्तिमा केन्द्रित हुन्छ, विचार कमजोर हुन्छ, विचार कमजोर भएपछि संस्था कमजोर हुन्छ, संस्था कमजोर भएपछि लोकतन्त्र केवल औपचारिक अभ्यासमा सीमित हुन पुग्छ।

राजनीतिक मनोविज्ञानले स्पष्ट देखाउँछ— प्राप्त शक्तिले व्यवहारमात्र परिवर्तन गर्दैन, यसले सोच्ने शैली, निर्णय गर्ने प्रक्रिया र यथार्थलाई हेर्ने दृष्टिकोणसमेत परिवर्तन गर्छ। लामो समयसम्म एउटै व्यक्तिमा शक्ति केन्द्रित हुँदा आफ्नै निर्णयलाई अन्तिम सत्य, आफ्नै धारणालाई संगठनको हित र आलोचनालाई षड्यन्त्र ठान्ने मनोविज्ञान विकसित हुन्छ। यही मानसिकताबाट व्यक्तिवाद जन्मिन्छ, व्यक्तिवादबाट संस्थाको क्षय हुन्छ र संस्थाको क्षयबाट लोकतन्त्रको आत्मा कमजोर बन्छ।

जनतामा एउटा उखान छ– ‘धेरै दिन एउटै चौतारोमा बसेपछि रूख पनि आफ्नै हो जस्तो लाग्छ।’ सत्ता पनि त्यस्तै हो। लामो समय एउटै हातमा रहँदा पद सेवा होइन, स्वामित्वजस्तो लाग्न थाल्छ। त्यही क्षणदेखि लोकतान्त्रिक संस्कृतिको ओरालो यात्रा सुरु हुन्छ।

जब निर्णय केही व्यक्तिको वरिपरि सीमित हुन्छ, संस्था विस्तारै औपचारिक संरचनामा खुम्चिन्छ। समिति रहन्छन्, तर निर्णय बाहिरै भइसकेका हुन्छन्, छलफल हुन्छ, तर निष्कर्ष पहिले नै तय गरिएको हुन्छ; निर्वाचन हुन्छ, तर प्रतिस्पर्धा स्वतन्त्र हुँदैन; विधि रहन्छ, तर विधिमाथि व्यक्ति उभिन्छ। लोकतन्त्रको रूप बाँकी रहन्छ, तर लोकतान्त्रिक आत्मा क्रमशः हराउँदै जान्छ।

राजनीतिक विज्ञानले यसलाई संस्थागत क्षय भन्छ। संस्था कमजोर भएपछि नियम कमजोर हुन्छ। नियम कमजोर भएपछि नैतिकता कमजोर हुन्छ। अन्ततः व्यक्तिको इच्छा नै नियम र आदेश नै विधि बन्न पुग्छ।

मानव व्यवहार विज्ञानले अर्को महत्वपूर्ण तथ्य पनि देखाउँछ— सत्ता केवल अधिकार होइन, मनोवैज्ञानिक आकर्षण पनि हो। जसरी धन, प्रसिद्धि वा कुनै लतले मानिसलाई बाँध्छ, त्यसरी नै शक्ति र नियन्त्रणको अनुभूतिले पनि मानिसलाई पदसँग भावनात्मक रूपमा बाँधिदिन्छ। त्यसपछि पद जिम्मेवारीभन्दा बढी ‘पहिचान’ बन्छ र पद गुम्ने सम्भावनालाई सार्वजनिक उत्तरदायित्वको अन्त्य होइन, आफ्नै अस्तित्वमाथिको संकटका रूपमा बुझ्न थालिन्छ।

यही अवस्थाबाट लोभको अर्को रूप जन्मिन्छ। लोभ केवल आर्थिक लाभमात्र होइन, यो प्रतिष्ठा, प्रभाव, नियन्त्रण र इतिहासमा आफ्नो प्रभुत्व कायम राख्ने आकांक्षा पनि हो। बौद्ध दर्शनले यसलाई ‘लोभ, मोह र अहंकारको चक्र’ भन्छ भने आधुनिक राजनीतिक विज्ञानले ‘शक्ति संरक्षण’को प्रवृत्ति भन्छ। सार एउटै हो– साधन नै लक्ष्यमा रूपान्तरण हुनु।

निरंकुशता सधैं संविधान भंग गरेर मात्र आउँदैन। धेरैजसो अवस्थामा यसको सुरुवात संगठनभित्रै हुन्छ। अरूको कुरा नसुन्ने र आलोचनालाई शत्रुता मान्ने प्रवृत्ति हावी हुन्छ। अनि प्रतिस्पर्धी र वैकल्पिक नेतृत्वलाई रोकिन्छ, संस्थालाई कमजोर बनाइन्छ, निर्णय प्रक्रिया अपारदर्शी बनाइन्छ र व्यक्तिप्रति अन्धनिष्ठालाई राजनीतिक संस्कारको रूपमा स्थापित गरिन्छ। लोकतन्त्रको सबैभन्दा ठूलो शत्रु बाहिर होइन, लोकतान्त्रिक संस्थाभित्रै जन्मिएको निरंकुश मानसिकता हो।

नेपालको राजनीतिक संस्कृतिको अर्को गम्भीर कमजोरी उत्तराधिकारी निर्माणको अभाव हो। विधिसम्मत नेतृत्व हस्तान्तरणलाई कमजोरी मानिन्छ। त्यहाँ नयाँ पुस्ता विचारको प्रतिस्पर्धामा होइन, गुटको राजनीतिमा धकेलिन्छ। संगठन विचारले होइन, समीकरणले चल्न थाल्छ। योग्यताभन्दा निकटता, प्रक्रियाभन्दा आदेश र नीतिभन्दा निष्ठाले स्थान ओगट्छ। कम्युनिस्ट आन्दोलनको मूल दर्शन सामूहिक नेतृत्व, लोकतान्त्रिक केन्द्रीयता, आत्मालोचना र जनउत्तरदायित्वमा आधारित छ। लोकतान्त्रिक व्यवस्थाको आधार पनि यही हो। त्यसैले समस्या विचारधारामा होइन, विचारधारालाई व्यवहारमा रूपान्तरण गर्ने राजनीतिक संस्कृतिमा छ।

सत्ता पनि त्यस्तै हो। लामो समय एउटै हातमा रहँदा पद सेवा होइन, स्वामित्वजस्तो लाग्न थाल्छ। त्यही क्षणदेखि लोकतान्त्रिक संस्कृतिको ओरालो यात्रा सुरु हुन्छ।

आज नेपालको सबैभन्दा ठूलो चुनौती सरकार परिवर्तन होइन, राजनीतिक संस्कृतिको परिवर्तन हो। व्यक्तिप्रतिको निष्ठाभन्दा विधिप्रतिको निष्ठा, शक्तिको केन्द्रीकरणभन्दा अधिकारको विकेन्द्रीकरण, पद जोगाउने प्रतिस्पर्धाभन्दा संस्था निर्माणको प्रतिबद्धता, सत्तामुखी राजनीतिभन्दा सेवामुखी राजनीति र व्यक्तिपूजाभन्दा नीति–पद्धतिको सर्वोच्चता स्थापित नगरी लोकतन्त्र परिपक्व हुन सक्दैन।

सबैभन्दा महत्वपूर्ण कुरा, संस्थालाई निजी जमिन्दारी ठान्ने, नेतृत्वलाई आजीवन विशेषाधिकार सम्झने र संगठनलाई व्यक्तिको सम्पत्तिका रूपमा चलाउने राजनीतिक संस्कृतिको अन्त्य नगरी नेपालको लोकतन्त्रले नयाँ गति लिन सक्दैन।

आजको युग व्यक्तिको युग होइन, संस्थाको युग हो। इतिहासले सिकाएको कठोर सत्य के हो भने जहाँ संस्था व्यक्तिभन्दा कमजोर हुन्छ, त्यहाँ अन्ततः व्यक्ति पनि सुरक्षित रहँदैन। तर, जहाँ संस्था बलियो हुन्छ, त्यहाँ नेतृत्व परिवर्तन संकट होइन, लोकतन्त्रको स्वाभाविक प्रक्रिया बन्छ।

नेपालको राजनीतिक बहस अब व्यक्ति–केन्द्रित आरोप–प्रत्यारोपबाट माथि उठ्नैपर्छ। मूल प्रश्न ‘कसले शासन गर्‍यो ?’ भन्ने होइन, ‘कस्तो राजनीतिक संस्कृति निर्माण गरियो ?’ भन्ने हो। सत्ता सेवा हो कि स्वामित्व ? नेतृत्व उत्तरदायित्व हो कि विशेषाधिकार ? संस्था सर्वोच्च हो कि व्यक्ति ? यिनै प्रश्नहरूको उत्तरले नेपालको लोकतान्त्रिक भविष्य निर्धारण गर्नेछ।

अब नेपाललाई नयाँ अनुहारभन्दा बढी नयाँ राजनीतिक संस्कृतिको आवश्यकता छ। यस्तो संस्कृति, जहाँ सत्ता जनसेवाको माध्यम होस्, नेतृत्व उत्तरदायित्वको प्रतीक होस्, संस्था व्यक्तिभन्दा माथि उभियोस्, आलोचना लोकतन्त्रको शत्रु होइन, सुधारको अवसर बनोस् र उत्तराधिकार संघर्षबाट होइन, विधि, योग्यता र लोकतान्त्रिक प्रक्रियाबाट तय होस्।

निष्कर्ष : जब व्यक्तिभन्दा संस्था ठूलो हुन्छ, तब मात्र लोकतन्त्र बलियो हुन्छ। जब सत्ताभन्दा सेवा ठूलो हुन्छ, तब मात्र राजनीति जनविश्वासको आधार बन्छ। जब नेतृत्वभन्दा विधि ठूलो हुन्छ, तब मात्र समृद्ध, न्यायपूर्ण र उत्तरदायी नेपालको निर्माण सम्भव हुन्छ। नेपालको राजनीतिक रूपान्तरणको वास्तविक सुरुवात यही चेतनाबाट हुनेछ। तब मात्र पार्टीहरूलाई व्यक्तिवादी दलदलबाट बाहिर निकाली संस्थागत प्रणालीतर्फ लैजान सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.