मुटु बचाऔं, जीवनशैली बदलौं

मुटु बचाऔं, जीवनशैली बदलौं
सुन्नुहोस्

आजभोलि जीवनशैली अस्वस्थकर भएको छ। तनाव बढेको छ, व्यायाम घटेको छ। धूमपान, मद्यपान, खानामा गुलियो र चिल्लो प्रयोग बढेको छ। सागसब्जी र फलफूल खाने बानी एकदमै कम छ। तयारी खाना (फास्टफुड) धेरै खाने बानी छ।

विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनि झन्डै २ करोड ५ लाख व्यक्तिले मुटुको रोगबाट ज्यान गुमाउने गर्छ। यीमध्ये विकासोन्मुख र अविकसित राष्ट्रहरूमा बर्सेनि मुटु रोगबाट ज्यान गुमाउनेको संख्या यसको ८० प्रतिशतभन्दा बढी पर्न आउँछ।

१९औं शताब्दीमा मानव मृत्युको प्रमुख कारण संक्रामक रोगहरू र कुपोषण थिए। २०औं शताब्दीको सुरु सम्ममा पनि मुटु रोगबाट मर्नेहरूको संख्या १० प्रतिशतभन्दा कम थियो। २१औं शताब्दीको सुरुमा आएर मुटुरोगबाट मर्नेहरूको संख्या विकसित राष्ट्रहरूमा करिब ५० प्रतिशत र विकासोन्मुख राष्ट्रहरूमा २५ प्रतिशत पुगेको छ। 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भविष्यवाणी गरे अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरूको संख्या बर्सेनि २ करोड ५० लाख पुग्ने छ र कोरोनरी मुटुको रोग (हृदयघात) संसार कै हत्यारा नं. १ रोगका रूपमा स्थापित हुनेछ। सन् २०३० सम्ममा नेपाललगायतका विकासोन्मुख राष्ट्रहरूमा हृदयघात भएर मर्नेहरूको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा हाल ३० प्रतिशत अर्थात् करिब १ करोड जनता कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन्। मुटु रोगीहरूको संख्या नेपालमा २० वर्षयता ५ गुणाले वृद्धि भएको छ। हाल नेपालमा विद्यमान मुटुरोगहरूमध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुका रोगहरू र उच्च रक्तचाप प्रमुख समस्याका रूपमा देखिएका छन्। 

मुटुका रोगहरूमध्ये कोरोनरी मुटुको रोग र उच्च रक्तचाप धेरै छिटो गतिमा बढ्दै गइरहेको देखिन्छ।  यसको प्रमुख कारणका रूपमा मानिसहरूको जीवनशैलीमा आएको अस्वस्थकर परिवर्तनलाई औंल्याइएको छ।

आजकल अधिकांशको जीवनशैली अस्वस्थकर भएको छ। मानसिक तनाव बढेको छ, व्यायाम घटेको छ। धूमपान, मद्यपान, खानामा गुलियो र चिल्लो प्रयोग बढेको छ। सागसब्जी र फलफूल खाने बानी एकदमै कम छ। तयारी खाना (फास्टफुड) धेरै खाने बानी छ।

नेपाल एनसीडी एलायन्सका अनुसार नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ, २५ प्रतिशतलाई कोलेस्टेरोल छ, १० प्रतिशतलाई मधुमेह छ, १ प्रतिशत बालबालिकालाई बाथ मुटु रोग छ। ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन्। करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन्। ४० प्रतिशतले चुरोट, सूर्ति सेवन गर्छन्। धेरै नेपालीलाई मानसिक तनाव छ। जताततै वातावरणीय प्रदूषण छ। शुद्ध खानेपानीको अभाव छ। तरकारी र फलफूलहरू विषादीले भरिएका छन्। मानिसको जीवन कष्टकर भएको छ।

आज विश्वमा ३० करोडभन्दा बढी मानिसहरू मोटोपनको शिकार भएका छन्। ५ वर्षमुनिका २ करोड २० लाख बाल बालिका आवश्यकभन्दा बढी शारीरिक तौल भएका छन्। मोटोपन मुटुको लागि खतरा हो। नेपालका सहर बजारमा बाल बालिकाहरूलाई धेरै खुवाउने, त्यसमाथि अस्वस्थकर खाना खुवाउने र मोटोघाटो बनाउने प्रवृत्ति बढ्दो छ। २० प्रतिशत बालबालिकामा मोटोपना भएको देखिन्छ।

मोटोपना जस्तै धूमपान, मद्यपान, बढी गुलियो, चिल्लो र बोसोयुक्त खानपान गर्ने प्रवृत्ति धेरै बढेको छ। जसका कारण हृदयघात, उच्चरक्तचाप, मधुमेह, उच्च रक्त कोलस्टेरोल आदिको समस्या पनि आकासिँदै गइरहेको छ। यसरी बढ्दै गइरहेको मुटुरोगको समस्यालाई रोकथाम गर्न जनचेतना जगाउने साथै नीति निर्माताहरूलाई मुटुरोग रोकथाम तथा नियन्त्रणका लागि आवश्यक नीति कार्यक्रमहरू बनाउन घच्घच्याउन अति जरुरी देखिन्छ। 

धेरै मानिसहरूलाई आफ्नो मुटु र स्वास्थ्यमा रहेको खतराबारे जानकारी हँुदैन। किनभने उनीहरू नियमित स्वास्थ्य परीक्षण गराउँदैनन्। यस्तै, प्रकारले धेरैलाई मुटु रोगका कारक तत्वहरू (जोखिमहरू)बाट आफू प्रभावित भए नभएकाबारे जानकारी राख्नुपर्छ र यसबाट मुक्त हुने उपाएहरू पनि समयमै गर्नुपर्छ भन्नेबारे चेतना छैन। यो चेतना अभावको कारण बहुसंख्यक मानिसहरूको हृदयघात र मास्तिष्कघातबाट मृत्यु भइराखेको छ। प्रत्येक मानिसले आफ्नो मुटु कति खतरामा छ त्यो थाहा पाइराख्नुपर्र्छ र यसबाट बच्ने उपाय समयमै गर्नुपर्छ।

मुटुका लागि जोखिम तत्वहरू उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपन, धूमपान गर्ने बानी, वंशानुगत, व्यायामको कमी र मानसिक तनाव आदि प्रमुख हुन्। यदि कसैलाई यी समस्याहरू छन् भने तुरुन्त यसबाट छुट्कारा पाउन आवश्यक उपचार र सावधानी अपनाउनुपर्छ भन्ने वैज्ञानिकहरूको सल्लाह छ। अन्यथा हृदयघात र मस्तिष्कघात भएर आकस्मिक मृत्यु हुन सक्छ।

मुटुका धेरै रोगहरू जीवनशैलीसँग सम्बन्धित हुन्। अध्ययन अनुसन्धानले देखिएको छ कि जीवनशैली परिवर्तनबाट मात्र पनि ९० प्रतिशतभन्दा बढी मुटु रोगका कारणहरू माथि नियन्त्रण गर्न सकिन्छ। यस कारण मुटुरोग नियन्त्रण कार्य जीवनशैली स्वस्थकर बनाउनेतर्फ लक्षित हुनुपर्छ। सबै सरकारी तथा गैरसरकारी संघ–संस्थाहरूले मुटुमैत्री वातावरण सिर्जना गर्न सहयोग गर्नुपर्छ र विश्वव्यापी अभियानमा सबै जानुपर्छ। यसका लागि सबैले स्वस्थ र सचेत जीवनशैली पालना गरी आफ्नो मुटुलाई स्वस्थ राख्ने प्रयास गर्नु जरुरी छ।

  • आफ्नो मुटु कति खतरामा छ भन्ने थाहा पाउन नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ। स्वास्थ्य परीक्षण गराउँदा रक्तचाप, रगतमा ग्लुकोज, कोलेस्टेरोल आदि जँचाउनुका साथै पेटको नाप र मोटोपनबारे पनि जानकारी लिनुपर्छ।
  • आफूलाई रहेको खतराबारे जानकारी पाए पछि स्वास्थ्यकर्मीसँग यी खतराहरूबाट मुक्त रहन के कसो गर्ने हो त्यसबारे परामर्श लिनुपर्छ।
  • हृदयघात र मस्तिष्कघातको प्रमुख कारण उच्चरक्तचाप हो जसको कुनै लक्षण हुँदैन। औजारले नजाँची रक्तचाप कति छ थाहा हुँदैन। यस्तै प्रकारले मधुमेह साथै रगतमा कोलेस्टेरोल बढेको छ छैन भन्ने बारे थाहा पाउन नियमित रुपमा रगतको परीक्षण गराउनुपर्दछ।
  • नियमित ब्यायाम गर्ने, नुन, चिल्लो र चिनी कम खाने, चुरोट, सुर्ती नखाने, मोटोपन घटाउने, मानसिक तनाव नियन्त्रण गर्ने तर्फ लाग्नुपर्छ।
  • दैनिक प्रशस्त मात्रामा फलफुल र हरियो तरकारी खानुपर्छ।
  • धूमपान निषेधित सार्वजनिक स्थलहरू विस्तार गर्दै जान सम्बन्धित निकायहरूले सहयोग गर्नुपर्छ।
  • तरकारी र फलफूलमा विषादी र रसायनको प्रयोगलाई निरुत्साहित गरिनुपर्छ।
  • बढी गुलियो, नुनिलो, चिल्लो र तयारी खानाहरू (फास्टफुड) को उपभोग कम गर्नु पर्छ। 
  • मानसिक तनाव र उत्तेजनालाई नियन्त्रण गर्नुपर्छ।
  • आफूभित्र प्रशन्नता, सन्तुष्टि, सहयोगी र दानी प्रवृत्तिको विकास गर्न सके सुख र स्वास्थ्य दुवै पाउन सकिन्छ। 

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.