आयु घटाउने मन्द विष
एक खिल्ली चुरोटले मानिसको आयु औसत साढे पाँच मिनेट घटाउने विभिन्न अध्ययनले देखाएका छन्। यस हिसाबले हेर्दा वर्षमा धूमपान गर्नेको वर्षमा एक महिना आयु घट्छ। ५० वर्षमा चार वर्ष आयु घट्छ। धूमपान गर्ने व्यक्ति जति वर्ष बाँच्छ, ती वर्ष पनि कष्टयुक्त हुन्छ।
धूमपानले सेवनकर्तालाई मात्र होइन, वरपर बस्ने मानिसलाई समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर गर्छ। युवावयदेखि नै धूमपान सुरु गरेर लगातार २० वर्ष वा त्यसभन्दा बढी समय सेवन गर्ने व्यक्तिको मृत्यु धूमपान नगर्ने व्यक्तिको तुलनामा २० देखि २५ वर्षअघि हुन सक्ने अध्ययनहरूले देखाएका छन्।
कुनै पनि एकल रोगभन्दा बढी मृत्युकारक रोग निम्त्याउने पदार्थ धूमपान नै हो। यसले २५ किसिमका विभिन्न रोगहरू प्रत्यक्ष किसिमले निम्त्याउँछ। र, विभिन्न दुईतिहाइ जति क्यान्सरहरू गराउने जोखिम हुन्छ। सुर्ती सेवनले असर नपार्ने शरीरको कुनै पनि अंग, तन्तु छैन। फोक्सो, मुख तथा श्वास नलीको क्यान्सर, उच्च रक्तचाप, हृदयाघात, कलेजोको सिरोसिस, ब्रोन्काइटिस, क्यान्सरलगायतका प्राणघातक रोगका कारक नै सुर्तीजन्य पदार्थ हुन्। सुर्तीमा रहेको निकोटिन नामक मन्द विषले मानव शरीरमा ठूलो नोक्सानी पुर्याउँछ। यही रसायनको कारण तलतली लाग्ने र धूमपानको लत लाग्ने गर्छ।
धूमपानले स्वास्थ्यमा त प्रतिकूल असर पार्छ नै आर्थिक, सामाजिक, पारिवारिक र वातावरणीय दृष्टिकोणले पनि ठूलो नोक्सानी पुर्याउँछ। सुर्तीजन्य पदार्थका अम्मलीको खर्चले परिवारको लागि आवश्यक गास, बास र कपासको व्यवस्थापनमा असर पार्दछ र पारिवारिक झगडा, कलह निम्त्याउँछ।
मुख र दाँतमा असर
विभिन्न स्वास्थ्य शिविरमा मुख परीक्षण गर्दा मैले ७१ दशमलव ४ प्रतिशतभन्दा बढी महिला, ८५ प्रतिशतभन्दा बढी पुरुषद्वारा कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाएको छुँ। १५ सय बढी विभिन्न स्वास्थ्य शिविरमा मुख परीक्षण गर्दाको यस खालको नतिजा पाइएको हो। शरीरको प्रवेशद्वार हो, मुख। सुर्तीजन्य पदार्थ मुखबाट प्रवेश गर्ने भएकोले सुरुवातमै मुख, दाँतमा विभिन्न समस्या उत्पन्न गराउँछ। तुलनात्मक रूपमा मुखको लागि धुवाँरहित सुर्ती सेवनले बढी हानिकारक र छिटो नकारात्मक असर गराउने गरेको देखिन्छ।
सुर्तीले दाँतलाई कालो,खस्रो बनाउँछ। दाँत खियाउने,दाँतका टुक्रा निकाल्ने गर्दछ। सिधै पर्ने ताप र विषले मुखका कोषलाई मार्छ। थुक बढी निकाली दन्तपत्थर छिटो र धेरै बढाउँछ। लचकता घटाउने र कोष कडा बनाउने केराटीन निकाल्ने कोष बढाउँछ र बाख्लो बनाँउछ। शरीरमा प्रतिरोधात्मक शक्ति घटाउने भएकाले मुखका घाउ निको हुन ढिलो हुन्छ। दन्तहर्षा, पाइरिया बनाउँछ। मुखमा, गिजामा सेतो दाग, पत्र, ल्युकोईडेमा, ल्युकोप्लाकिया, ईरिथ्रोप्लाकिया र प्री ल्युकोप्लाकिया तथा च्यापुमा घाउ निम्त्याउँछ।
स्मोर्कस प्यालेट, एनग, गिजाको विषाक्तता ल्याउँछ। दाँत बस्ने हड्डीको नोक्सान गर्दछ। सुर्ती सेवनकै कारण देखिने मुखमा विभिन्न समस्याहरू (ओरल लाइकन प्लानस, चिवरस म्युकोसा,सेन्ट्रल पेपिलरी एट्रोफी अफ टुइपीथेलियल डिस्प्लासिया) उत्पन्न गर्छ। त्यस्तै क्यान्सर हुनुपूर्वका अवस्थाहरू प्रि–क्यान्सरेस लिजन ल्याउँछ। ततपश्चात् मुखको अर्बुदरोग जस्तो प्राणघातक रोग तथा समस्या निम्त्याई मृत्युसमेत गराउँछ धूमपानले अनगिन्ती दाँत तथा मुखका रोगहरू निम्त्याउँछ।
धूमपान गर्नेमध्ये ११ प्रतिशतलाई मुटुरोग,५३ प्रतिशतलाई श्वास–प्रश्वास रोग,२८ प्रतिशतलाई क्यान्सर र ५ प्रतिशतलाई गिजासम्बन्धी रोग देखिने गरेका छन भने धूमपान गर्नेको छेउछाऊमा बस्नेमा ७२ प्रतिशतमा श्वास–श्प्रस्वास रोग,९ प्रतिशतमा मुटुरोग र १५ प्रतिशतमा क्यान्सर लागेको देखिएको छ। हालै ९ जिल्लामा गरिएको एक खोजमा दैनिक ५० रुपैयाँदेखि १ सय रुपैयाँ सुर्तीजन्य पदार्थमा खर्च गर्ने गरेको पाइएको छ। उक्त लत ४० देखि ५० वर्षसम्म रहने देखिएको छ। जसअनुसार मासिक ३ हजार र जीवनकालमा लाखौं खर्च गरेर रोग बोलाइरहेको दुःखलाग्दो अवस्था छ।
सन् २००३ मा वाई बी कार्की, केडी पन्थ र बीटी पाण्डेले नेपालमा गरेको खोजमा चुरोटमा १० प्रतिशत मूल्य बढाउँदा माग तथा खपत ८ दशमलव ८ प्रतिशतले कम हुन्छ। भारतमा गिदनको टोलीले सन २०११ मा गरेको एक खोजमा १० प्रतिशत मूल्यवृद्धि गर्दा बिडीमा १० दशमलव ३ प्रतिशत तथा चुरोटमा ९ दशमलव ४ प्रतिशत खपत कम हुन्छ। चीनमा हु र माओ ले सन् २००२ मा गरेको अध्ययनमा चुरोटमा गरिएको १० प्रतिशत मूल्यवृद्धिले खपतमा ५ देखि ६ दशमलव ४ प्रतिशत कमी ल्याउँछ। मूल्यवृद्धि गर्दा नया व्यक्ति उत्प्रेरित नभएको, सिक्दै गरेका युवाहरूले धूमपान गर्न कम गरेका, न्यून आय तथा गरिबले सेवनमा उल्लेखनीय कम गरेको पाइएको छ ।
दक्षिण एसियामै न्यून कर
सुर्तीजन्यपदार्थ नियन्त्रण ऐन कार्यान्वयनको चुनौती न्यूनीकरण गर्न सुर्तीमा प्रगतिशील कर लागू गर्न जरुरी छ। सुर्ती सेवनकर्ताबाट बढी राजस्व उठाइ रोगको दायित्वबोध पनि उसैलाई बोक्न लगाउनु प्रगतिशीलता हो। एफसीटीसीले पनि हरेक वर्ष सुर्तीमा कर बढाउँदै लानुपर्ने उल्लेख छ। विश्व बैंकको मापदण्डबमोजिम उपभोक्ता मूल्यको ६५ प्रतिशत, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ७० प्रतिशतसम्म कर लगाउनुपर्ने मापदण्ड तोकेको छ। तर, पनि नेपाल सरकारले औसत ३३ दशमलव ७ प्रतिशत (अन्तःशुल्क २२ दशमलव २ र मुल्यअभिवृद्धि कर ११ दशमलव ५ प्रतिशत) कर अर्थात् ज्यादै न्यून छ। जुन दक्षिण एसियालीमै न्यून हो।
सुर्तीजन्य पदार्थले कम्पनीलाई मुनाफा, राष्ट्रलाई राजस्व दिन्छ। तर, अम्मलीलाई केवल कष्टकर प्राणघातक रोगहरू र मृत्युमात्र दिन्छ। तसर्थ भोलिको स्वस्थ नागरिक र समृद्ध नेपालका लागि सुर्तीजन्य नियन्त्रण तथा नियमन गर्न बनेको ऐनको कार्यान्वयन र सुर्तीजन्य पदार्थको उपलब्धता,बढ्दो मूल्यवृद्धि विकल्प हो।
सुर्तीजन्य पदार्थ ऐन २०६८ अनुसार सुर्तीजन्य पदार्थबाट संकलन भएको अन्तःशुल्कमध्ये एकमुष्ट ५/१० करोडभन्दा न्यूनतम २५ प्रतिशत रकम स्वास्थ्य कर कोषमा जम्मा गरी सो रकम धूमपानको नकारात्मक असरका बारेमा जनचेतना जगाउन, सिर्जीत रोगको उपचार गर्न खर्च गर्ने व्यवस्था छ।
अन्तमा, धूमपानको हानिकै कारण कैयौंको हृदयाघात,मस्तिष्कघात भएर ज्यान गइसकेको छ। कतिपय व्यक्ति बिछ्यौनामा छटपटाइरहेका छन्। धूमपानकै कारण हरेक वर्षमा ३९ हजारको ज्यान लिइरहेको छ। यस्तो पीडादायी अवस्थाप्रति कहिलेसम्म मुकदर्शक भइरहने ?
प्रतिक्रिया दिनुहोस !