सेलिब्रिटीका पोस्टले बढाए धार्मिक पर्यटक भारतीय पर्यटक आगमन
काठमाडौं : गत शनिबार बलिउड अभिनेत्री शिल्पा शेट्टी नेपाल आइपुग्नेबित्तिकै पशुपतिनाथ मन्दिर पुगिन्। काठमाडौंमा एक कार्यक्रमका लागि आएकी उनले वैदिक विधिअनुसार विशेष पूजा–आराधना गर्दै भगवान् शिवको दर्शन गरिन्। मन्दिर परिसरमा शिल्पाको उपस्थितिले नेपाली तथा भारतीय प्रशंसकहरूको उल्लेख्य भीड लागेको थियो।
हिन्दुहरूको आस्थाको केन्द्र तथा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर पछिल्ला वर्षहरूमा केवल धार्मिक तीर्थस्थल मात्र नभई भारतीय चलचित्र उद्योगका चर्चित कलाकारहरूको पनि प्रमुख गन्तव्य बन्दै गएको छ। फिल्मको छायांकन, सांस्कृतिक कार्यक्रम, अवार्ड समारोह वा निजी भ्रमणका लागि नेपाल आउने अधिकांश भारतीय कलाकारहरूले भगवान् पशुपतिनाथको दर्शनलाई आफ्नो भ्रमण तालिकामा समावेश गर्ने गरेका छन्।
पछिल्ला वर्षहरूमा धेरै चर्चित भारतीय हस्तीहरूले पशुपतिनाथको भ्रमण गरेका छन्। १ अगस्ट २०२६ मा शिल्पा शेट्टी र विक्रान्त मेसीले पशुपतिनाथको दर्शन गरे। नेपाल भ्रमणका क्रममा शिल्पाले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिन्। शिवभक्तका रूपमा परिचित उनले दर्शनपछि केही समय मन्दिर परिसरमा बिताएकी थिइन् भने विक्रान्त पनि मन्दिर दर्शनका लागि पुगेका थिए।
यसअघि जुन २०२६ मा भारतीय अभिनेता राकेश बेदी चलचित्र प्रवद्र्धनका लागि नेपाल आएका बेला पशुपतिनाथ पुगेका थिए। उनले त्यतिबेला नेपालको धार्मिक पर्यटनले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाएको प्रतिक्रिया दिएका थिए। मार्च २०२६ मा बलिउड अभिनेत्री सोनल चौहानले पशुपतिनाथमा पूजा गरी भगवान् शिवप्रति आफ्नो आस्था व्यक्त गरिन्। दर्शनपछिका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनका प्रशंसकहरूले व्यापक रूपमा सेयर गरेका थिए।
त्यसैगरी ९ जनवरी २०२६ मा बलिउड अभिनेता सञ्जय दत्तले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरे। उनले लामो समयदेखिको इच्छा पूरा भएको प्रतिक्रिया दिँदै नेपाल बसाइका क्रममा स्थानीय संस्कृति र परिकारको पनि प्रशंसा गरे। डिसेम्बर २०२४ मा अभिनेत्री निया शर्माले पशुपतिनाथमा पूजा गर्नुका साथै ५२५ शिवलिंगको परिक्रमा गरिन्। उनले सामाजिक सञ्जालमा यसलाई ‘जीवनकै अविस्मरणीय आध्यात्मिक अनुभव’ भन्दै आफ्ना भावनाहरू साझा गरेकी थिइन्।
सन् २०१९ मा पूर्वभारतीय क्रिकेटर सचिन तेन्दुलकरले पशुपतिनाथमा विशेष पूजा गरेका थिए र त्यतिबेला उनले पोस्ट गरेको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। पशुपतिनाथको दर्शन गर्ने चर्चित भारतीय कलाकारहरूको सूची निकै लामो छ। विभिन्न समयमा अमिताभ बच्चन, अनुपम खेर, शत्रुघ्न सिन्हा, उदित नारायण झा, हेमा मालिनी, मनोज बाजपेयी, पंकज त्रिपाठी लगायतका कलाकार तथा उद्योगी–व्यवसायीहरूले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ मन्दिरमा दर्शन र विशेष पूजा गरिसकेका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार नेपाल आउने विदेशी पर्यटकको सबैभन्दा ठूलो स्रोत मुलुक भारत हो, जसको महŒपूर्ण आधार धार्मिक पर्यटन हो। खुला सीमा, साझा हिन्दु सभ्यता, भगवान् शिवप्रतिको समान आस्था तथा काठमाडौंसम्मको सहज पहुँचका कारण भारतीय श्रद्धालु र सेलिब्रिटी दुवैका लागि पशुपतिनाथ प्रमुख आकर्षण बनेको छ।
पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव तीर्थ श्रेष्ठ सेलिब्रिटीहरूका माध्यमबाट धार्मिक क्षेत्रको प्रचारप्रसार हुनु अत्यन्त सकारात्मक भएको बताउँछन्। श्रेष्ठ भन्छन्, ‘हामीले अलिकति व्यवस्थित मात्र गर्न सक्यौं भने अन्य देशबाट पनि अझ धेरै धार्मिक पर्यटक भिœयाउन सकिन्छ। पर्यटक आउनु मात्र ठूलो कुरा होइन, उनीहरूप्रति हामी जवाफदेही पनि हुनुपर्छ। पहिलो चरणमा व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। हामी कत्तिको व्यवस्थित छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ।’
पछिल्लो समय भारतीय धार्मिक तीर्थयात्रीमध्ये ‘स्वयंपाकी’ (आफैं पकाएर खाने) तीर्थयात्रीहरूका विषयमा नकारात्मक ढंगले प्रचार गरिएकोमा श्रेष्ठले असन्तुष्टि जनाए। उनी थप्छन्, ‘हामी यहीँनिर चुकेका छौं, छिटो टिप्पणी गरिहाल्छौं। नेपालीहरू पनि भारतमा तीर्थयात्रा गर्न जाँदा कतिपय अवस्थामा होटलमा नबसी आफैं पकाएर खान्छन्। त्यसैगरी भारतीय पर्यटकहरू पनि बाटोमा वा पाटी–पौवामा खाना पकाएर बस्छन्। त्यसमा नकारात्मक टिप्पणी गर्ने होइन, बरु त्यो त हाम्रै कमजोरी हो। उनीहरूलाई व्यवस्थित गर्नतर्फ राज्यको ध्यान जानुपर्छ। त्यसो गर्दा पर्यटकको चाप अझै बढ्दै जान्छ।’
हरेक वर्ष भारतबाट लाखौं श्रद्धालु पशुपतिनाथ दर्शनका लागि नेपाल आउने गरेका छन्। महाशिवरात्रिका अवसरमा मात्रै भारतका विभिन्न राज्यबाट हजारौं साधुसन्त, भक्तजन र विशिष्ट व्यक्तित्वहरू काठमाडौं पुग्ने परम्परा छ। भारतीय सेलिब्रिटीहरूको भ्रमणले नेपालको धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न ठूलो योगदान पु¥याएको पर्यटन व्यवसायीहरू बताउँछन्।
पशुपतिनाथ मन्दिरको मूल ढोकाअगाडि रहेको महाराजा होटलका सञ्चालकमध्येका एककाअनुसार पछिल्लो समय होटल व्यवसाय चलेकै भारतीय धार्मिक पर्यटकहरूले गर्दा हो। अझ चर्चित सेलिब्रिटीहरू आएर आफ्ना फेसबुक र इन्स्टाग्राममा तस्बिरहरू पोस्ट गरिदिएपछि अन्तर्राष्ट्रिय स्तरमा धेरै राम्रो सन्देश जाने गर्छ। धार्मिक पर्यटनले होटल, यातायात, हस्तकला, स्थानीय व्यवसाय र सांस्कृतिक पर्यटनमा प्रत्यक्ष आर्थिक प्रभाव पार्ने भएकाले यस्ता भ्रमणहरूलाई नेपालका लागि सकारात्मक अवसरका रूपमा लिइन्छ। पशुपति क्षेत्रका स्थानीय समाजसेवी एवं पूर्वप्रदेशसभा सदस्य नरोत्तम वैद्य पशुपतिमा भारतीय पर्यटकको ओइरो लाग्नुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय सेलिब्रिटीहरूकै मुख्य भूमिका रहेको बताउँछन्।
वैद्य भन्छन्, ‘मोदीजीले आफ्ना नागरिकहरूलाई डलर खर्च हुने ठाउँमा भन्दा आईसी (भारतीय रुपैयाँ) नै चल्ने ठाउँमा जान आग्रह गरिदिएकाले पनि भारतीय पर्यटकहरूको ‘फ्लो’ एकदमै बढेको छ। करिब १२ वर्षअघि पहिलोपटक प्रधानमन्त्रीका रूपमा नेपाल भ्रमणमा आउँदा उहाँले संसद्मा २० मिनेट सम्बोधन गर्दै ‘तपाईं विश्वका जुनसुकै ठाउँमा तीर्थ गर्न जानुहोस्, तर नेपालको पशुपतिनाथको दर्शन नगरी त्यो पूर्ण हुँदैन’ भनिदिनुभएको थियो। त्यसयता भारतीय पर्यटकको आगमन ह्वात्तै बढेको छ। पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै चर्चित सेलिब्रिटीदेखि टीभी सिरियलका कलाकारहरूसम्मले पोस्ट गर्न थालेपछि यसको प्रभाव झनै बढेको छ।’
पशुपतिनाथ मन्दिर नेपालीहरूको आस्थाको केन्द्र मात्र नभई भारतसहित दक्षिण एसियाका करोडौं हिन्दु श्रद्धालुहरूको साझा आध्यात्मिक धरोहर हो। हरेक वर्ष भारतीय कलाकार, उद्योगपति, खेलाडी तथा राजनीतिक व्यक्तित्वहरूको आगमनले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुगिरहेको व्यवसायीहरूको भनाइ छ।दिल्लीका मुख्यमन्त्री पनि इच्छा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले पनि पशुपतिनाथको दर्शन तथा पूजा–आराधनाका लागि छिट्टै नेपाल आउने इच्छा व्यक्त गरेकी छन्। पाल्पा निर्वाचन क्षेत्र नं १ का सांसद सन्दीप राना नेतृत्वको टोलीसँगको भेटका क्रममा मुख्यमन्त्री गुप्ताले सो जानकारी दिएकी हुन्। पशुपतिनाथका कारण नेपाल र भारतबीच सदियौंदेखि धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ रहँदै आएको धारणा उनले व्यक्त गरिन्।
प्रतिक्रिया दिनुहोस !