१२ कम्पनीका १६ करोड कित्ता लकइन सेयर खुल्दै
काठमाडौं :धितोपत्र दोस्रो बजारमा विभिन्न कम्पनीका संस्थापक, कर्मचारी तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि छुट्ट्याइएको सेयरको लकइन अवधि सकिने क्रम सुरु भएको छ। आगामी भदौ मसान्तसम्म मात्रै एक दर्जन कम्पनीका ठूलो परिमाणका सेयर लकइनबाट बाहिर आउने भएकाले दोस्रो बजारमा सम्भावित थप आपूर्तिलाई लिएर लगानीकर्ताको चासो बढेको छ।
साउन र भदौमा १२ कम्पनीका संस्थापक, प्रमोटर, कर्मचारी तथा म्युचुअल फन्ड र अन्य समूहका गरी भदौसम्म १२ कम्पनीका १६ करोड ५ लाख ४४ हजार १ सय ३८ कित्ता सेयरः लक–इन सेयरको लकइन अवधि समाप्त हुँदैछ। लकइन अवधि समाप्त भएपछि सम्बन्धित सेयरधनीले प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाअनुसार आफ्नो सेयर दोस्रो बजारमा कारोबार गर्न सक्ने भएकाले बजारमा उपलब्ध सेयरको संख्या बढ्नेछ। नेपाल इन्भेस्टस् फोरम पूर्व अध्यक्ष छोटेलाल रौनियारले बजार सकारात्मक र नकारात्मक कसरी लिने भन्ने विषयले बजार तलमाथि जान सक्ने बताए। उनले भने ‘लगानीकर्ताका लागि अबसर र चुनौती दुवै हो।’
लकइन अवधि सकिँदै गरेका कम्पनीमा भुजुङ हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, रिज लाइन इनर्जी, सुपर खुदी हाइड्रोपावर, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, अपर लोहोरे खोला हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, भागवती हाइड्रोपावर डेभलपमेन्ट, माण्डु हाइड्रोपावर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्। यीमध्ये केही कम्पनीमा हाल कारोबारमा रहेको सेयरको तुलनामा लकइनमा रहेको सेयरको मात्रा निकै ठूलो छ।
उदाहरणका लागि भुजुङ हाइड्रोपावरमा ९ लाख ३० हजार कित्तामात्रै कारोबारमा रहेको अवस्थामा ८० लाख कित्ता संस्थापक तथा प्रमोटर सेयर र १० लाख ७० हजार कित्ता म्युचुअल फन्ड तथा अन्य समूहको सेयर लकइनमा छ। रिलायन्स स्पिनिङ मिल्समा पनि १० लाख ९८ हजार २ सय कित्ता कारोबारयोग्य सेयरको तुलनामा १ करोड ७० लाख ७३ हजार ४ सय कित्ता संस्थापक तथा प्रमोटर सेयर लकइनमा रहेको छ।
विशेषगरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको संस्थापकतर्फको ठूलो परिमाणको सेयर लकइनबाट बाहिरिँदैछ। कम्पनीको ३ करोड ६३ लाख ७७ हजार ६ सय कित्ता संस्थापक तथा प्रमोटर सेयर लकइनमा रहेको छ। यसबाहेक ७ लाख ७१ हजार ५ सय २० कित्ता म्युचुअल फन्ड तथा अन्य समूहको सेयरसमेत लकइनमा रहेकाले कुल ३ करोड ७१ लाख ४९ हजार १ सय २० कित्ता सेयरको लकइन अवधि समाप्त हुँदैछ। त्यस्तै, पाल्पा सिमेन्ट इन्डस्ट्रिजमा तीन करोड कित्ता संस्थापक तथा प्रमोटर सेयर, रिलायन्स स्पिनिङ मिल्समा १ करोड ७० लाख ७३ हजार ४ सय कित्ता, होटल फरेस्ट इनमा १ करोड ६० लाख कित्ता, सुपर खुदी हाइड्रोपावरमा १ करोड २४ लाख कित्ता र माण्डु हाइड्रोपावरमा १ करोड २० लाख कित्ता संस्थापक तथा प्रमोटर सेयर लकइनमा रहेको छ।
ठूलो परिमाणमा सेयर लकइनबाट बाहिरिने भएपछि बजारमा बिक्री चाप बढ्ने आशंका लगानीकर्तामा देखिएको छ। विशेषगरी संस्थापक तथा ठूला सेयरधनीले लकइन खुलेलगत्तै सेयर बिक्री गरेमा सम्बन्धित कम्पनीको सेयरमा आपूर्ति बढ्न सक्ने र त्यसले मूल्यमा दबाब सिर्जना गर्न सक्ने अनुमान छ। तर लकइन अवधि सकिनु भनेको सबै सेयर तत्काल बिक्रीमा आउनु होइन।
लकइन खुलेपछि सेयर बिक्री गर्ने वा होल्ड गर्ने निर्णय सम्बन्धित सेयरधनीमा निर्भर रहने भएकाले वास्तविक बिक्री चाप कति हुन्छ भन्ने कुरा बजारको माग, कम्पनीको वित्तीय अवस्था र सेयरधनीको रणनीतिमा निर्भर हुनेछ।
प्रतिक्रिया दिनुहोस !