भोजपुर : विद्यालयको कक्षा सकिएपछि धेरै विद्यार्थी मोबाइल र सामाजिक सञ्जालमा व्यस्त हुन्छन्। तर, दक्षिणी भोजपुरको आमचोक गाउँपालिकाका विद्यार्थी भने फुर्सदको समयमा पनि भ्याइनभ्याइ हुन्छन्। उनीहरू टनेल नर्सरीमा बिरुवा उत्पादन गर्छन्, श्रम गर्छन् र त्यही श्रमबाट आम्दानी पनि गर्छन्।
पढाइसँगै विद्यार्थीलाई कृषि, श्रम र उत्पादनसँग जोड्न र गाउँपालिकाको कृषिलाई प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रमअन्तर्गत विद्यार्थीले पोलिब्यागमा बिरुवा उत्पादन गरिरहेका हुन्। बिरुवा उत्पादन गरेबापत प्रतिगोटा एक रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था छ। विद्यार्थीले एकपटकमा ५ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म कमाउने गरेका छन्।
विद्यालय छुटेपछि नर्सरी पुग्ने विद्यार्थी माटो तयार गर्ने, पोलिब्याग भर्ने, बिरुवा रोप्ने, पानी हाल्ने, गोडमेल गर्ने र बिरुवाको हेरचाह गर्ने काममा जुट्छन्। यसबाट उनीहरूले कृषि सीपसँगै श्रमको मूल्य, समयको सदुपयोग र कमाइको महत्त्वसमेत सिकिरहेका छन्।
कक्षा ९ मा अध्ययनरत स्थानीय सुनील विष्टका लागि नर्सरीको काम फुर्सद कटाउने माध्यम मात्र होइन, व्यावहारिक सिकाइको कक्षासमेत बनेको छ। ‘फुर्सदको समय सदुपयोग भएको छ। आफ्नै मेहनतबाट कमाउन पाउँदा खुसी लागेको छ। यसले श्रमको सम्मान गर्न र आफूले पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास बढाएको छ,’ विष्टले भने।
कक्षा ११ का दीपेश राईले नर्सरीबाट प्राप्त आम्दानी शैक्षिक सामग्री खरिद तथा व्यक्तिगत खर्चमा प्रयोग गर्ने गरेका छन्। उनका लागि आफ्नै मेहनतबाट आएको आम्दानीको महत्व छुट्टै छ। ‘पढाइसँगै कमाइ गर्न पाउनु राम्रो अवसर हो। आफ्नै श्रमबाट कमाएको पैसाको महत्व झन् बढी महसुस हुँदो रहेछ,’ राईले भने।
गाउँपालिकाका अनुसार कार्यक्रमको उद्देश्य विद्यार्थीलाई केही रुपैयाँ कमाउने अवसर दिनुमात्र होइन। सानै उमेरदेखि श्रमको सम्मान गर्ने संस्कार बसाल्ने, कृषिप्रति आकर्षण बढाउने, उत्पादनसँग जोड्ने र भविष्यमा आत्मनिर्भर बन्ने आधार तयार गर्नु कार्यक्रमको मुख्य लक्ष्य हो।
आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राई विद्यार्थीलाई किताबको ज्ञानसँगै जीवन उपयोगी सीप सिकाउनुपर्ने बताउँछन्। ‘हामी विद्यार्थीलाई श्रम, सीप र उत्पादनसँग जोड्न चाहन्छौं। सानैदेखि श्रमको सम्मान गर्न सिके भविष्यमा उनीहरू आत्मनिर्भर बन्न सक्छन्। यो कार्यक्रम त्यसैको सुरुआत हो,’
अध्यक्ष राईले भने।
गाउँपालिकाले विद्यार्थीमार्फत उत्पादन भएका बिरुवा स्थानीय किसानसम्म पुर्याउने योजना पनि अघि बढाएको छ। किसानलाई स्थानीयस्तरमै गुणस्तरीय बिरुवा उपलब्ध गराउने र त्यसबाट कृषि उत्पादन बढाउने गाउँपालिकाको लक्ष्य छ। आमचोकलाई किबी उत्पादनको सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित चिया र कफीजस्ता नगदेबालीलाई पनि आयआर्जनसँग जोड्ने प्रयास भइरहेको छ। गाउँपालिकाका सम्भावित क्षेत्रमा चिया रोपणसँगै उपयुक्त स्थानमा कफी खेती विस्तार गर्ने योजना अघि बढाइएको अध्यक्ष राईले बताए।
यसरी विद्यार्थीको श्रम दुई तहमा प्रयोग भइरहेको छ, विद्यार्थीले आम्दानी गरिरहेका छन्, गाउँले कृषि उत्पादनका लागि बिरुवा पाइरहेका छन्। विद्यार्थीको ठूलो समय मोबाइल र सामाजिक सञ्जालमा बितिरहेको गुनासो भइरहेका बेला आमचोकको यो अभ्यास उत्पादनमुखी विकल्पका रूपमा देखिएको छ। स्थानीय राजीनकुमार राईका अनुसार नर्सरीको कामले विद्यार्थीमा जिम्मेवारी, अनुशासन र उद्यमशील सोच विकास गर्न सहयोग पुगेको छ।
‘विद्यार्थीको धेरै समय मोबाइल र सामाजिक सञ्जालमा बित्ने गरेको छ। यहाँ भने उनीहरू फुर्सदमा नर्सरी पुगेर उत्पादनको काम गरिरहेका छन्। यसले श्रमको सम्मान र आत्मनिर्भरताको भावना विकास गरेको छ,’ उनले भने।
आमचोकमा अहिले विद्यार्थीका हातमा कलमसँगै बिरुवा छन्। उनीहरूको पढाइसँगै कमाइ सुरु भएको छ। अझ महत्वपूर्ण कुरा, उनीहरूले आत्मनिर्भर बन्ने अभ्यास विद्यालयको पाठ्यपुस्तकबाट होइन, आफ्नै श्रमबाट सिकिरहेका छन्। एउटा पोलिब्यागमा रोपिएको बिरुवा हुर्किँदै गर्दा विद्यार्थीको सीप, आत्मविश्वास र उद्यमशील सोच पनि हुर्किरहेको गाउँपालिका उपाध्यक्ष सीता राईले सुनाइन्। यही अभ्यास निरन्तरता पाउने हो भने आजका यी साना श्रमिक हातहरू भोलि आफ्नै गाउँमा रोजगारी सिर्जना गर्ने उद्यमी हात बन्न सक्ने अपेक्षा लिइएको उनले सुनाइन्।
प्रतिक्रिया दिनुहोस !