वाह रे अंग्रेजी !

वाह रे अंग्रेजी !
सुन्नुहोस्

प्रसंग १ :  केही समय अगाडि चर्चित लोकगायिका अञ्जली अधिकारी अन्तर्वार्तामा भक्कानिएर रोइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो। उनी किन त्यसरी रोइन् ?

कारण रहेछ– उनले अंग्रेजी बोल्न नजान्दा सञ्जालहरूमा गरिएको ‘ट्रोल’। भन्दै थिइन्, ‘मलाई अंग्रेजी राम्रो नआउला तर नेपाली बोल्न त आउँछ नि !

म नेपाली नागरिक हुँ। नेपाली बोल्न आएन भने त्यो बेला गिल्ला गर्न सुहाउँछ। हाम्रो मानसिकता कस्तो ?’ सेलिब्रेटीहरूले कनिकुथी भए पनि अंग्रेजी बोल्नैपर्ने, त्यो पनि आफ्नै देशमा ? अनि नेपालीबाटै ट्रोलको सिकार हुनुपर्ने ? गज्जब छ बा !

प्रसंग २ :  लामो समय अमेरिका बसेर फर्केकी चर्चित नायिका करिश्मा मानन्धर कार्यक्रममा जबरजस्ती अंग्रेजी बोल्न खोज्दा बोल्नै नसकेको भिडियो सञ्जालहरूमा छताछुल्ल थियो। सकिनसकी भए पनि उनी त्यो वाक्यलाई पूरा गरेरै छोड्ने कोसिसमा थिइन्।

नेपालको काठमाडौंमा भएको उक्त कार्यक्रममा नेपाली नबुझ्ने सायदै थिए। तैपनि खै के थियो कुन्नी, त्यो अंग्रेजीमा लडखडाउँदै भए पनि उनले ती अंग्रेजी लाइन सकेरै छाडिन्। सायद ती लाइन उनले घरमा कण्ठ पारेर आएकी थिइन्। नर्भस भएकी त पक्कै होइन। त्यो भिडियो पूरै हेरेपछि लाग्यो– 
‘वाह रे अंग्रेजी ! तेरो सान अलग।’

प्रसंग ३ :  केही समय अगाडि एक साथी छोराछोरीसहित अमेरिकाबाट नेपाल आइन्। उनकै अपार्टमेन्टमा गएँ। अमेरिका जानुअघि पनि उनका छोराछोरीलाई भेटेकी थिएँ। उनीहरू राम्रोसँग बोल्ने भइसकेका थिए। केही वर्ष पछाडि आएका उनीहरू खुसी होलान् भनेर मेरा चित्र पुस्तकहरू बोकेर गएकी थिएँ। तर, ती पुस्तक पढ्नु त के उनीहरूले नेपाली बोल्नसमेत बिर्सिसकेछन्।

छक्क लाग्यो र भनें, ‘उतै जन्मिहुर्की गरेको भए त एउटा कुरा। के गरेको यस्तो ? नेपाली बोल्न त सिकाउनु पर्दैन ! घरमा नेपाली बोल्दैनौ र ?’ उनले लापरबाहीपूर्ण जवाफ दिइन्, ‘नेपाली बोलेर के गर्नु त्यहाँ ? हामी बूढाबूढी नेपाली बोले पनि उनीहरूको अगाडि त अंग्रेजी नै बोल्छौं।’ छोराछोरीले अंग्रेजी मात्र बोलेकोमा उनी गमक्क देखिन्थिन्। अमेरिकामा बस्ने साथीहरूको उदाहरण पनि दिएँ– छोराछोरीले नेपाली भाषा बिर्सेलान् कि भनेर नेपाली किताबहरू मगाएर पढाउने, घरमा नेपालीमात्र बोल्ने गर्छन्।

प्रसंग ४ :  अमेरिकामै एकजना सर हुनुहुन्छ। तीन वर्षअघि मेसेन्जरमा म्यासेज बज्यो, ‘म्याडम नमस्ते !’ म्यासेजहरू आइरहेकै हुन्छन्। पहिला म्यासेज गर्ने मान्छेको प्रोफाइल चेक नगरी रिप्लाई दिन्नँ। प्रोफाइलमा नेपाली पुस्तकहरू पढेर निर्मम प्रकारका समीक्षा गरिएको पोस्ट टन्नै थिए।

पुस्तक पढिसकेर मन राख्न ‘राम्रो छ !’ भनेका पोस्टहरू धेरै देखिन्छन्। तर, आफूलाई जे लाग्छ त्यो भन्न एकदम कमले मात्र सक्छन्। जसले राम्रो–नराम्रो दुवै भन्न सक्छ, उसले पूरै किताब पढेको पनि हुन्छ। उहाँको शैली खुब मन पर्‍यो। ‘कल गर्न मिल्छ ?’ भनेर अनुमति माग्नुभयो। बोल्नुभयो। कारण रहेछ– ‘उहाँकी सानी छोरी रहिछिन्। कक्षा ६ मा पढ्ने। उहाँलाई पीर रहेछ कि कतै मेरी छोरीले यो बिरानो मुलुकमा आएर नेपाली भाषा त बिर्सने होइन ?

यसैले उहाँ आफू पनि सकेसम्म नेपाली पुस्तक पढ्ने र छोरीलाई पनि भेटेसम्म बालसाहित्यका पुस्तक पढाउनु हुँदोरहेछ। मेरा बाल पुस्तकहरूका पोस्ट फेसबुकमा देखेपछि छोरीका लागि पुस्तक पठाइदिन सम्पर्क गर्नुभएको रहेछ। उहाँको कुरा सुनेर मन ढक्क फुल्यो; कोही भने नेपाली भाषाप्रति यति गर्व र माया गर्ने, कोही भने नेपाली बोल्न नसक्दा गर्व गर्ने ! पुस्तकहरू पठाइदिँदै भनें, ‘मेरा यी पुस्तकका समीक्षा पनि अरूका जस्तै आउन् है ?’

उहाँले हाँस्दै भन्नुभयो, ‘लेखक बिगार्ने काम गर्दिनँ। नेपाली लेखकप्रति अति माया छ। चाहिने र हुनेभन्दा बढी प्रशंसा गरेर लेखक बिगारेको देखेको छु। गल्ती औंल्यायो भने लेखकले सच्चिने मौका पाउँछन्।’ पछि उहाँको छोरीसँग मैले भिडियो कलमा कुरा गरें। आहा ! कति शुद्ध नेपाली बोलेकी। अमेरिकामा जन्मी–हुर्की गरेकी नानीको नेपाली त्यति शुद्ध सुनेर म दंग परें। उहाँहरूको घरमा कोही पनि अंग्रेजी नबोल्ने नियम नै रहेछ। यसैले उनको नेपाली यति शुद्ध भएको रहेछ। अमेरिकामा जन्मेर पनि नेपाली प्रष्ट बोल्न सक्ने बनाएकोमा त्यो परिवार आफूप्रति छुट्टै गर्व गर्दथ्यो।

प्रसंग ५ :  केही दिन अघिमात्र स्कुलमा आफ्ना पुस्तक पढेका बालबालिकासँग स्कुलको निम्तोमा कुराकानी गर्न गएँ। कहिल्यै सोचिनँ कि मेरा नेपाली पुस्तक पढेका नानीबाबुले मसँग कुरा गर्न अंग्रेजीमा प्रश्न बनाएर बसेका छन् भनेर। कुराकानीको सुरुमै उनीहरू भकाभक अंग्रेजीमा कुरा गर्न थाले।

तुरुन्त हात उठाएर भनें, ‘म नेपाली लेखक, मसँग त नेपालीमा कुरा गर्नुपर्छ।’ उनीहरू छक्क परे। कुराकानीमै थाहा भयो, ती बालबालिकाको घरमा नेपाली नै बोलिन्न रे ! उनीहरूलाई ‘कुन–कुन पुस्तक पढ्नु भएको छ ?’ भनेर सोध्दा नेपालीको त नामै लिँदैनन्। ३८ जना समूह रहेको ठाउँमा एकजनाले हात उठाए– ‘मैले नेपाली पुस्तक पढेको छु।’

कस्तो नरमाइलो लाग्यो। कुराकानी सकेर निस्कँदै गर्दा नेपाली शिक्षक आउनुभयो र भन्नुभयो, ‘हेर्नु न म्याम यस्तै छ, नेपाली सिकाउन धेरै गाह्रो छ। ७८ र ६८ भनेको कति हो भनेर सोध्यो भने अहिले धेरै बालबालिकाले भन्न सक्दैनन्।’

मनले भन्यो, ‘जबसम्म हामी नेपाली जानेन, अंग्रेजी जान्यो भनेर गर्व गर्न छोड्दैनौं, तबसम्म यस्तै हो।’ तर म मुसुक्क हाँसें मात्र।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.