नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक

नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक
सुन्नुहोस्

काठमाडौं : पब्लिकेसन नेपालयले २५ वर्षमुनिका ७५ लेखकका विभिन्न तीन विधामा आधारित कथा, कविता र निबन्ध पुस्तकको शनिबार लोकार्पण गरेको छ।

कथा विधामा प्रकाशित पुस्तकमा अजय कार्की, अनिता धिताल, अनुष्का लामिछाने, अमित भट्टराई, आर्या अधिकारी, ईशान ढकाल, उमेश कार्की, कविराज क्षत्री, कृतिशा अमात्य, तेजकुमार राई, दीपक गौतम, दीपिका खतिवडा, नवीन धमला, निश्चल भण्डारी, नीरव, परीक्षा शर्मा, प्रनिका श्रेष्ठ, प्रशान्त वाग्ले ‘प्राकृतिक’, मुधुसूदन घिमिरे, रोदिनलाल श्रेष्ठ, शिवराज शाही, समर्पण न्यौपाने, समिन गैरे, सुमन पौडेल र सोमनाथ लुइँटेलका कथा संकलित छन्।

यी छानिएका नयाँ कथाकार र आख्यानकार नारायण वाग्लेबीच एक घण्टा खुला वार्तालाप चलेको थियो। ‘तपाईंहरूको कथाशैली र शिल्प पढेर म छक्क परेको थिएँ,’ छनौटकर्ता नारायण वाग्ले भन्दै थिए, ‘आज तपाईंहरूका यति परिपक्व प्रश्न र धारणा सुनेर जेन–जीको आख्यान–आन्दोलन आइपुगेको आभास भयो मलाई।’

यसैगरी कविता विधामा अनिता तिवारी, अनुपा गैरे, आर्य निरौला, उत्सव आचार्य, उषा लिम्बू, कम्मान रावल, गायत्री नेपाल, गौरव न्यौपाने, जोनसन श्रेष्ठ, डोल्मा लामा, तीर्थराज विश्वकर्मा, दुर्गा खतिवडा, नवीनकुमार नेपाली, नारन न्यौपाने, प्रज्वल लोहनी, प्रदीप योङ्हाङ, प्रिशा शशी लेखक, युक्ता सुनुवार, रसिला धमला, श्रव्य आरिया, समृद्ध हमाल, सुजता बस्याल, सुदर्शनप्रकाश खड्का, सुरंगा सेढाईं र स्पन्दन झा छानिएका छन्।

यी कविसँग कवि तथा आख्यानकार श्रवण मुकारुङको अर्को खुला सेसन चलेको थियो। ‘तपाईंहरूका कविताले मलाई पुरानो थोत्रो कोटझैं बनायो, यो तपाईंहरूको समय हो’ श्रवण मुकारुङ भन्दै थिए, ‘नयाँ स्वर सुन्न चाहनेका लागि म तपाईंहरूको कृति सबैलाई सिफारिस गर्छु।’

यसैगरी निबन्ध विधामा अनुकृत लामिछाने, अविरल जाग्री, कञ्चनकुमार बस्नेत, कवीन्द्र जोशी, कृषा दाहाल, जयनी पण्डित, जिज्ञाशा सोनम, धीरजप्रताप मल्ल ठकुरी, नुमा थाम्सुहाङ, परिमलप्रकाश नेपाल, भूमिका थारु, मनस्वी बान्तवा, ममता घिमिरे, महिता श्रेष्ठ, मोहन संग्राम, विक्रम नेपाल, विनोद लामिछाने, विवेक भट्टराई, शून्य नयन, सलिना बाँस्तोला, संयोग बस्याल, संस्कृति रिजाल, सन्जिला खनाल, सागर घले र सापेक्ष छानिएका छन्।

तीन विधाका रचना छनौटका लागि नेपालयले तीन सदस्यीय छनौट समिति बनाएको थियो जस्मा कवि श्रवण मुकारुङ, आख्यानकार नारायण वाग्ले र लेखक भूषिता वशिष्ठले ७५ रचना चयन गरेका हुन्।

युवा लेखकहरूका परिपक्व विचार, धारिला प्रश्न र गहिरा जिज्ञासाले तीनै छनौटकर्ता चकित देखिन्थे। श्रवण मुकारुङले भने, ‘आजको दिन नेपाली साहित्यमा एउटा ऐतिहासिक दिन हो, जहाँ बलिया लेखकहरू सिजर्नशील, वैचारिक हस्तक्षेपसहित उदाएका छन्।’

निबन्धकार भूषिता वशिष्ठ यी नयाँ निबन्धकारसित अनलाइनमा जोडिएकी थिइन्। ‘तपाईंहरूका रचना पढ्न पाउनु मेरा लागि जति सुरुचिपूर्ण भयो, उति नै शिक्षाप्रद पनि,’ भूषिता वशिष्ठ भन्दै थिइन्, ‘तपाईंहरूको विषय, शैली, साहित्यिक प्रौढता सुन्दर छ।’
‘पल्पसा क्याफे’ उपन्यास प्रकाशन गर्दै सुरु भएको हाम्रो यात्रा २० वर्ष पुगेको अवसरमा हामीले नयाँ पुस्ताका लेखक खोजी गरेका हौं,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले भने, ‘यी उत्साही युवा लेखकलाई यसरी एकै ठाउँ भेट्न पाउँदा मैले आफूलाई पल्पसा क्याफेपछिको फैलिँदो साहित्यिक वृत्तमा पाइरहेको छु।’

सन् २५ मा ‘२५ वर्षका २५’ शीर्षकमा खुला रचना आह्वान गरिएको थियो। ‘संसारभरबाट उत्साहजनक सहभागिता भयो,’ आह्वानका परिकल्पनाकार तथा सम्पादक विमल आचार्य भन्दै थिए, ‘युवाहरूको बलियो उपस्थितिले साहित्यमा नयाँ सम्भावनाको ढोका खोलेको छ।’ युवाहरू पढ्दैनन्, लेख्दैनन् भन्ने भाष्यमाथि सानोतिनो अनुसन्धान सर्वेक्षण नै भएको भन्दै आचार्यले तीन पुस्तकहरूमा ‘ककनीको कथा’अन्तर्गत यो आह्वानले उजागर गरेका विभिन्न पाटाहरूमाथि लेखेका छन्।

नेपालयले शनिबार बिहानै ९ बजेदेखि बेलुका ६ बजेसम्म विभिन्न कार्यक्रमसहित नेपालय साहित्य उत्सव आयोजना गरेको थियो। जसअन्तर्गत ऐतिहासिक समाजशास्त्री तथा ‘सन्धिकाल’ पुस्तकका लेखक लोकरञ्जन पराजुलीले ‘नेपालमा पुस्तकालय र पठन परम्परा’ शीर्षकमा किनोट स्पिच दिएका थिए। सार्वजनिक पुस्तकालयको आवश्यकता र महŒवबारे युवा लेखकहरूबीच उनले सारगर्भित मन्तव्य दिएका थिए।

नेपालयले अघिल्लो वर्ष प्रकाशन गरेका तीन उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’का सर्जक नारायण ढकाल, ‘सलह’का सर्जक श्रवण मुकारुङ र ‘पैकेलो’का सर्जक ओम रिजालबीच ‘आजको आख्यान’ शीर्षकमा सिर्जना खड्काको सहजीकरणमा छलफल भएको थियो।

उत्सवको अन्त्यमा नेपथ्य ब्यान्डले सन् २००४ मा गरेको नेपाल यात्राबारेको डकुमेन्ट्री फिल्म देखाइएको थियो। साथै नेपालयले हरेक अंग्रेजी महिनाको तेस्रो शुक्रबार आरशालामा फिल्म क्लबको घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.