रोहितको चार वर्षे नेतृत्व यात्रामा पूर्णविराम

एकदिवसीय क्रिकेटको जिम्मेवारी सन्दीप लामिछानेको काँधमा

एकदिवसीय क्रिकेटको जिम्मेवारी सन्दीप लामिछानेको काँधमा

काठमाडौं : नेपालको एकदिवसीय क्रिकेटको कप्तानको जिम्मेवारी फेरि एकपटक सन्दीप लामिछानेको काँधमा आएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेललाई विस्थापित गर्दै सन्दीपलाई एकदिवसीय राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको हो। 

‘आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपदेखि लागू हुने गरी नेपाल क्रिकेट टोलीको एकदिवसीय कप्तानका रुपमा सन्दीप लामिछानेलाई चयन गरिएको छ’, क्यानका सचिव पारस खड्काले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। एसियाली क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपका लागि क्यानले सोमबार सन्दीपको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।

टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलसन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा छन्। यसअघि टोलीका नियमित सदस्य रहँदै आएका कुशल भुर्तेल र सोमपाल कामीले भने स्थान बनाउन सकेनन्।

सन्दीपको नेतृत्वमाथि क्यानको विश्वास
सन्दीपको पुनरागमन केवल कप्तानमा भएको परिवर्तन मात्र होइन, नेपाली क्रिकेटमा उनको नेतृत्व क्षमतामाथि क्यानले फेरि विश्वास गरेको रूपमा पनि हेरिएको छ। उनी यसअघि पनि नेपाली राष्ट्रिय टोलीको कप्तान भइसकेका खेलाडी हुन्। त्यसैले नयाँ जिम्मेवारी उनका लागि अपरिचित होइन।

सन्दीपले पहिलोपटक राष्ट्रिय टोलीको कप्तानी सन् २०२१ को डिसेम्बरमा पाएका थिए। त्यतिबेला क्यानले ज्ञानेन्द्र मल्ललाई हटाउँदै सन्दीपलाई राष्ट्रिय टोलीको नयाँ कप्तान बनाएको थियो। सन्दीपले त्यसपछि एकदिवसीय र टीट्वेन्टी अन्तर्राष्ट्रिय दुवै प्रारूपमा नेपालको कप्तानी गरेका थिए।

उनको पहिलो कप्तानी कार्यकाल भने लामो समय टिक्न सकेन। सन् २०२२ मा उनीमाथि लागेको कानुनी विवादपछि क्यानले उनलाई निलम्बन गरेर कप्तानको जिम्मेवारी रोहित पौडेललाई दिइएको थियो। त्यसपछि रोहित नेपाली राष्ट्रिय टोलीको नियमित कप्तान बन्दै आएका थिए।

१४ एकदिवसीय खेलमा कप्तानी

सन्दीपले आफ्नो पहिलो कार्यकालमा नेपाललाई १४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेका थिए। तीमध्ये नेपालले चार खेल जितेको थियो भने नौ खेलमा पराजित भएको थियो। एक खेल भने बराबरीमा सकिएको थियो। उनको एकदिवसीय कप्तानीको जित प्रतिशत ३२.१४ छ।

एकदिवसीय कप्तानका रूपमा सन्दीपको कार्यकाल छोटो भए पनि उनी नेपाली क्रिकेटको सबैभन्दा प्रभावशाली लेगस्पिनरमध्ये एकका रूपमा स्थापित भएका थिए। सन् २०१८ मा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि खेलिएको पहिलो खेलदेखि नै उनी टोलीका महत्वपूर्ण सदस्य थिए। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट लिने क्षमतासँगै कठिन परिस्थितिमा खेल परिवर्तन गर्न सक्ने बलरको पहिचान पनि बनाएका छन्।

टीट्वेन्टीमा प्रभावशाली कप्तानी
सन्दीपले टीट्वेन्टी अन्तर्राष्ट्रियमा भने अझ प्रभावशाली कप्तानी रेकर्ड बनाएका छन्। सन् २०२१ देखि २०२२ सम्म उनले नेपाललाई १८ टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा नेतृत्व गरेका थिए। तीमध्ये नेपालले १३ खेल जित्दा पाँच खेलमा पराजय बेहोरेको थियो। उनको कप्तानीमा नेपालको जित प्रतिशत ७२.२२ रहेको छ। बलिङमा आफैंबाट नेतृत्व गर्ने र खेलको अवस्थाअनुसार रणनीति परिवर्तन गर्ने उनको कप्तानी क्षमता महत्त्वपूर्ण मानिन्छ।

रोहितको चार वर्षे नेतृत्व यात्रामा पूर्णविराम 
सन्दीपपछि नेपाली क्रिकेटको नेतृत्व सम्हालेका रोहित पौडेलले भने लामो समयसम्म राष्ट्रिय टोलीको कप्तानी गरेका थिए। सन् २०२२ को नोभेम्बरमा उनलाई सन्दीपको स्थानमा कप्तान बनाइएको थियो।

रोहितको नेतृत्वमा नेपालले एकदिवसीय क्रिकेटमा उल्लेखनीय प्रगति गरेको थियो। उनी लामो समयसम्म नेपाली टोलीको कप्तानी गर्ने खेलाडीसमेत बनेका थिए। उनले २०२२ देखि २०२६ सम्म ५५ एकदिवसीय खेलमा कप्तानी गर्दै २८ खेलमा नेपाललाई जित दिलाएका थिए।

रोहितको नेतृत्वमा अघि बढिरहेको नेपाली क्रिकेट सन्दीपको पुनरागमनले रणनीति, टोली व्यवस्थापन र मैदानमा नेतृत्व शैलीमासमेत परिवर्तन आउने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप लिग–२ मा नेपालको खराब प्रदर्शनसँगै क्यानले कप्तान परिवर्तन गरेको हो। यससँगै रोहितले एकदिवसीय र टीट्वेन्टी दुवैको कप्तानी गुमाएका छन्। क्यानले यसअघि दीपेन्द्रसिंह ऐरीलाई टीट्वेन्टी कप्तान नियुक्त गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.