रोहितको कप्तानीमा नेपालले कोरेको इतिहास
काठमाडौं : नेपाली क्रिकेट टोलीमा हाल: अनपेक्षित फेरबदल भयो। कप्तानको जिम्मेवारीबाट रोहित पौडेललाई बिदा गरियो। बिदा गर्दा नेपाल क्रिकेट संघ(क्यान)ले भन्यो ‘धन्यवाद रोहित!’
नेपाली क्रिकेटमा निभाएको भूमिकाका आधारमा रोहितलाई सर्वाधिक सफल कप्तान मान्न सकिन्छ। जसले नेपाली क्रिकेट टोलीलाई २ पटक टी-२० विश्वकपको नेतृत्व गरे। सबैभन्दा कान्छा कप्तानको रूपमा विश्वकपसम्म डोर्याएका उनले नेतृत्वको भारी बिसाए।
नवलपरासीको सामान्य परिवारमा जन्मिएका उनले १५ वर्ष ३३५ दिनमा नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। उनले सन् २०१८ मा पारस खड्काको कप्तानीमा राष्ट्रिय टिममा पहिलोपटक परेका थिए। नेदरल्यान्ड्विरुद्धको डेब्यु खेलमा उनले मध्यक्रममा ब्याटिङ गर्ने अवसर पाए। सन् २०१९ को जनवरीमा उनले युएईविरुद्ध खेल्दै नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा पनि डेब्यू गरे।
सानै उमेरमा नेपालको सिनियर टोलीमा स्थान बनाएका रोहितले कप्तानकै रूपमा राष्ट्रिय टोलीको नेतृत्व गरे। शीर्ष मध्यक्रमको ब्याटरको रूपमा आफूलाई प्रमाणित गर्दै उनले कप्तानको भूमिकामा पनि सफलता हात पारे।
चुनौतीपूर्ण जिम्मेवारी
२०७९ सालतिर नेपाली क्रिकेट संकटमा थियो। संकटको बेला रोहितको काँधमा कप्तानीको जिम्मेवारी आयो। १९ वर्षको उमेरमा उनले नेपाली राष्ट्रिय टिमको जिम्मेवारी पाए। उनले कप्तानी पाउँदा नेपाली क्रिकेटको एक दिवसीय मान्यता धर्रमराएको अवस्था थियो। आइसीसी विश्वकप लिग २ मा नेपालको अवस्था दयनीय थियो। उनी कप्तान भएसँगै भारतीय प्रशिक्षक मोन्टी देशाई प्रमुख प्रशिक्षक हुँदै राष्ट्रिय टिममा आए।
कप्तान र प्रशिक्षकको जोडी राम्रो जम्यो। मोन्टीले ‘ह्याप्पी ड्रेसिङ रुम’को अवधारण अपनाए। जसलाई रोहितले बखुबी पछ्याए। सानै उमेरमा राष्ट्रिय टिमको जिम्मेवारी पाएका रोहितको टिमले १२ मा ११ खेल जित्दै एकदिवसीय मान्यता जोगाउँदै विश्वकप छनोटको खेलसमेत खेल्यो। यो कुनै जादूभन्दा कम थिएन। संकटमा पाएको जिम्मेवारीलाई उनले सफलतातर्फ डोर्याउँदै लगे। एकपछि अर्को गर्दै रोहितले नेपाली राष्ट्रिय टिमको ‘स्वर्णीम युवा पुस्ता’को नेतृत्व गरे।
रोहितको कप्तानीले एकहोरो सफलतामात्रै चुमेन। रोहितको कप्तानीमा नेपालले ६३ वटा एकदिवसीय खेल खेल्यो। जसमा ३१ जित, ३० हार र २ खेल नतिजाविहीन रह्यो। उतारचढावपूर्ण 'पारी' भएपनि नेपालको क्रिकेटलाई विश्वसामु चिनाउन यो पुस्ताले निकै महत्वपूर्ण भूमिका खेल्यो। सन् २०१४ मा नेपालले पहिलो पटक टी-२० विश्वकप खेलेपछि, नेपाली क्रिकेटको चर्चा हुन थाल्यो। त्यसबेलाका कप्तान पारस खड्का र त्यो पुस्ताको लेगेसी पछ्याउँदै क्रिकेट खेल्न थालेका यो युवा टोलीले नेपाली क्रिकेटको नाममा एक पछि अर्को सफलता जोड्दै गयो।
रोहितको कप्तानीमा नेपालले पहिलो पटक एसीसी प्रिमियर कपको उपाधि जित्यो। उनको कप्तानीमा नेपालले एसिया कप खेल्यो। एकदिवसीय फर्म्याटको एसिया कपमा नेपालले भारत र पाकिस्तान जस्तो क्रिकेट पावरहाउससँग खेल्यो।
रोहितको कप्तानीमा नेपालले दुई पटक टी-२० विश्वकप खेल्यो। सन् २०२४ मा नेपालले दोस्रो पटक टी-२० विश्वकपमा स्थान बनायो। सन् २०१४ मा पहिलो पटक पारस खड्काको कप्तानीमा विश्वकपमा डेब्यु गरेको नेपालले सन् २०२४ मा १ दशकपछि विश्वकपमा स्थान बनायो। सन् २०२४ मा नेपालमा नै भएको एसिया क्षेत्र छनोटमा फाइनल पुग्दै नेपालले १० वर्षपछि विश्वकपमा स्थान बनाएको थियो। यो ऐतिहासिक सफलता नेपालले रोहित पौडेलको कप्तानीमा खेलेको थियो।
नेपालले दोस्रो पटक विश्वकप खेल्दा रोहितले कप्तानीमा सबैभन्दा कान्छा कप्तानको रूपमा नेपालको नेतृत्व गरे। त्यसलगत्तै नेपालले सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्तरूपमा आयोजना गरेको विश्वकपमा पनि स्थान बनायो। यसमा नेपालले विश्वकपमा डेब्यु गरेको १२ वर्षपछि पहिलो जित पनि दर्ता गर्यो। यो उपलब्धि नेपालले रोहितको कप्तानीमा पाएको हो।
रोहितको कप्तानीमा नेपालले गत सेप्टेम्बरमा पहिलो पटक टेस्ट मान्यता प्राप्त वेस्टइन्डिजसँग ३ खेल सम्मिलित शृंखलामा २-१ ले जित दर्ता गर्यो। नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्रलाई पहिलो पटक शृंखला खेल्दै हराएको थियो।
उनकै कप्तानीमा नेपालले आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोटको उपाधि जितेको थियो।
उनको कप्तानीमा नेपालले ५९ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्यो। जसमा नेपालले ३३ जित र २१ हार व्यहोरेको छ। उनले एक दिवसीयमा भन्दा टी-२० अन्तर्राष्ट्रियमा कप्तानको हिसाबमा राम्रो नतिजा हात पारेका छन्। उनको कप्तानी नेपालले १२२ खेल खेल्यो।
पारस, सन्दीप र दीपेन्द्रले के भने?
रोहितको कप्तानीको बारेमा धेरैले आफ्नो धारणा सामाजिक सञ्जालमा लेखे। उनका सहकर्मी, पूर्वक्रिकेटरहरूले उनको कप्तानीको बारेमा सामाजिक सञ्जालमार्फत धन्यवादसहित आ-आफ्नो धारणा व्यक्त गरे। नेपाली राष्ट्रिय टी-२० क्रिकेट टिमको कप्तान दीपेन्द्र सिंह ऐरी लेख्छन्, ‘केही यात्राहरूले सधैंका लागि विरासत छोडेर जान्छन्। सन् २०२२ को नोभेम्बरबाट सन् २०२६ को अगष्टसम्म उनले नेपाली क्रिकेटका लागि आफ्नो सबैथोक दिए।’ दीपेन्द्र लेख्छन्, ‘उनले कप्तानीमात्रै गरेनन्। पूरै टिमलाई एकत्रित बनाए। राष्ट्रलाई प्रेरित गरे। आज हामीले गर्व गर्ने धेरै उपलब्धिहरूमा उनको मेहनत, त्याग र दूरदृष्टिको ठूलो योगदान छ।’
दीपेन्द्र थप्छन्, ‘धन्यवाद कप्तान, मनदेखि नेतृत्व गरेकोमा, आफ्नो सबैथोक दिएकोमा।’ त्यस्तै कप्तानको जिम्मेवारी पाएका सन्दीप लामिछानेले रोहितलाई भाइ भन्दै सम्बोधन गरेका छन्। उनले भनेका छन्, ‘रोहित भाइ, तपाईँले टोलीको हरेक परिस्थितिमा टिमलाई नेतृत्व गर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। टोली र देशको लागि तपाईँको योगदानको सधैं कदर हुनेछ। मलाई विश्वास छ, टिमको लागि तपाईको योगदानको यात्रा अझै धेरै बाँकी छ।'
त्यस्तै क्यानका सचिव पारस खड्काले पनि रोहितलाई धन्यवाद दिए। उनी भन्छन्, ‘धन्यवाद रोहित, नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दृढताका साथ नेतृत्व गरेकोमा। कठिन समयमा नेपाली क्रिकेट टिमको नेतृत्व गर्दै अभूतपूर्वै उचाइमा पुर्याएकोमा। मैदानभित्र मात्रै होइन, मैदान बाहिर पनि एउटा पुस्तालाई प्रेरित गर्नुभयो।’
रोहितको उपलब्धि
रोहितले सुरुवाती करिअरमा ब्याटरको रूपमा प्रमाणित गरेका उनी पछिल्लो समय अफ ब्रेक स्पिनरको रूपमा पनि चिनिन थालेका छन्। टिमलाई चाहिएको बेला उनले स्पिनबाट पनि टोलीको लागि खेलिरहेका हुन्छन्। कप्तानको रूपमा उनको जिम्मेवारी सकिए पनि रोहित नेपालको लागि भरपर्दा खम्बा हुन्। उनले सन् २०१८ यता ८८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जसमा ८३ इनिङ्स खेल्दै उनले २ शतक र १५ अर्धशतकसहित २ हजार ३ सय १३ रन बनाएका छन्। टी-२० अन्तर्राष्ट्रियमा रोहितले ८४ खेलमा ८० इनिङ्समा ब्याटिङ गर्दै ९ अर्धशतकसहित १ हजार ८ सय ४५ रन बनाएका छन्।
प्रतिक्रिया दिनुहोस !