उपलब्धिको भारी बोकेर बिदा भए रोहित

उपलब्धिको भारी बोकेर बिदा भए रोहित

काठमाडौं : नेपाली क्रिकेटमा नेतृत्व परिवर्तन नौलो होइन, तर पछिल्लो चार वर्षमा नेपाली क्रिकेटको पुस्तान्तरण, अन्तर्राष्ट्रिय पहिचान र ठूला प्रतियोगितामा सहभागितासँग जोडिएको नाम हो, रोहितकुमार पौडेल। २१ वर्षको उमेरमै राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका रोहितले अब भने एकदिवसीय टोलीको कप्तानीबाट विश्राम पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सन्दीप लामिछानेलाई नयाँ एकदिवसीय कप्तान नियुक्त गरेपछि रोहितको चार वर्षे नेतृत्व यात्रामा औपचारिक रूपमा पूर्णविराम लागेको हो। रोहितले सन् २०२२ को नोभेम्बरमा राष्ट्रिय टोलीको कप्तानी पाएका थिए। 

त्यतिबेला उनी नेपाली क्रिकेटकै सबैभन्दा कम उमेरका कप्तानमध्ये एक थिए। चार वर्षको अवधिमा उनले नेपाली टोलीलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेतृत्व गरेका थिए। उनको कप्तानीमा नेपालले केही ऐतिहासिक सफलता हात पार्‍यो भने केही महत्वपूर्ण अवसरमा अपेक्षाअनुसार प्रदर्शन गर्नबाट चुकेको थियो। त्यसैले रोहितको कप्तानीको मूल्यांकन केवल पछिल्ला केही खेलको नतिजाबाट होइन, उनले नेतृत्व गरेको सम्पूर्ण अवधिको उपलब्धि र चुनौतीबाट गर्नुपर्ने हुन्छ।

१२ मध्ये ११ खेल जितेर सुरु भएको कप्तानी

रोहितको कप्तानीको सबैभन्दा बलियो अध्याय सन् २०२३ को आईसीसी विश्वकप क्रिकेट लिग–२ थियो। उनको नेतृत्वमा नेपालले लिग–२ का १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएको थियो। यो नेपाली क्रिकेट इतिहासकै असाधारण पुनरागमनमध्ये एक हो। त्यतिबेला नेपाल विश्वकप लिग–२ को अंकतालिकामा निकै कठिन अवस्थामा थियो। तर, घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार खेल जितेको थियो। त्यस सफलताले नेपाललाई जिम्बाब्वेमा भएको विश्वकप छनोटमा पुर्‍याएको थियो। रोहितको कप्तानीमा प्राप्त यो उपलब्धि उनको नेतृत्व यात्राको सबैभन्दा महत्वपूर्ण उपलब्धिमा मानिन्छ। 

एसिया कपमा पहिलोपटक छनोट

रोहितको कप्तानीको अर्को ठूलो उपलब्धि हो,  एसिया कप। उनकै कप्तानीमा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो। सन् २०२३ मा नेपालले एसीसी प्रिमियर कप जित्दै एसिया कपमा स्थान बनाएको थियो। फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गरेको थियो। यससँगै नेपालले पहिलो पटक एसियाका दुई ठूला क्रिकेट शक्ति भारत र पाकिस्तानसँग एउटै प्रतियोगितामा खेल्ने अवसर पाएको थियो।

यो नेपाली क्रिकेटका लागि केवल एउटा प्रतियोगितामा छनोट हुनु मात्रै थिएन, अन्तर्राष्ट्रिय क्रिकेटको ठूलो मञ्चमा नेपालले आफ्नो उपस्थिति जनाउने ऐतिहासिक अवसर पनि थियो। रोहितकै नेतृत्वमा नेपाली टोलीले त्यो यात्राको सुरुवात गरेको थियो।

विश्वकपमा कप्तानी परीक्षा

सन् २०२४ को टीट्वेन्टी विश्वकप रोहितका लागि कप्तानका रूपमा अर्को ठूलो परीक्षा थियो। नेपालले लामो समयपछि टीट्वेन्टी विश्वकप खेलेको थियो। नेपालले समूह चरण पार गर्न नसके पनि दक्षिण अफ्रिका र बंगलादेशजस्ता टोलीविरुद्ध प्रतिस्पर्धात्मक खेल खेलेको थियो। विशेषगरी दक्षिण अफ्रिकासँग नेपाल एक रनले मात्र पराजित भएको खेलले नेपाली टोलीको स्तरबारे अन्तर्राष्ट्रिय क्रिकेटमा सकारात्मक सन्देश फैलिएको थियो। विश्वकपपछि रोहितले नेपाललाई ठूला टोलीसँग नियमित खेल्नुपर्ने आवश्यकता औंल्याएका थिए। अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्नका लागि बलिया टोलीसँग खेल्नु आवश्यक रहेको उनको धारणा थियो।

वेस्ट इन्डिजसँग ऐतिहासिक सफलता

रोहितको कप्तानीमा नेपालले अर्को ऐतिहासिक सफलता हात पारेको थियो। सन् २०२५ मा नेपालले वेस्ट इन्डिजविरुद्ध टीट्वेन्टी अन्तर्राष्ट्रियमा ऐतिहासिक जित निकालेको थियो। वेस्ट इन्डिजजस्तो टेस्ट राष्ट्रविरुद्धको त्यो जित नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि थियो। यसले रोहितको कप्तानीमा नेपालले एसोसिएट राष्ट्रहरूसँग मात्र होइन, टेस्ट राष्ट्रसँग पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको प्रमाणित गरेको थियो। 

२०२६ विश्वकपमा पनि रोहितकै नेतृत्व

रोहितको नेतृत्व यात्रा २०२६ को टीट्वेन्टी विश्वकपसम्म पुग्यो। भारत र श्रीलंकामा भएको प्रतियोगितामा नेपालले समूह चरणमा इङल्यान्डविरुद्ध अविश्वसनीय रूपमा नजिकको खेल खेलेको थियो। इङ्ल्यान्डले नेपाललाई केवल चार रनले पराजित गरेको थियो। १८५ रनको लक्ष्य पछ्याएको नेपालले १८२ रन बनाएको थियो। खेलको अन्तिमसम्म नेपाल जितको दाबेदार देखिएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत नेपालको प्रदर्शनलाई प्रशंसा गरेका थिए।

यस अर्थमा रोहितको कप्तानीको अन्तिम विश्वकप यात्रा निराशाजनक नतिजाका बाबजुद नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक क्षमता देखाउने महत्वपूर्ण अवसर बनेको थियो। 

व्यक्तिगत रूपमा बलियो कप्तान

रोहित केवल कप्तान मात्र थिएनन्, टोलीको प्रमुख ब्याटर पनि थिए। कप्तानीको जिम्मेवारीसँगै उनले ब्याटिङमा निरन्तर योगदान दिँदै आएका छन्। उनी नेपाली क्रिकेटको एकदिवसीय इतिहासमा सर्वाधिक रन बनाउने ब्याटरसमेत हुन्। एक हजार एकदिवसीय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बन्ने उपलब्धि पनि उनको नाममा छ। कप्तानीको दबाबबीच ब्याटिङमा योगदान दिनु उनको नेतृत्व यात्राको अर्को महत्वपूर्ण पक्ष हो। 

चार वर्ष सधैं सफल रहेन

रोहितको कप्तानीमा उपलब्धि मात्र थिएन, नेपाली टोलीले लगातार राम्रो प्रदर्शन गर्न नसकेका चरण पनि आए। विशेषगरी पछिल्ला वर्षमा एकदिवसीय क्रिकेटमा नेपालको प्रदर्शनमा निरन्तरता देखिएन। लिग–२ को सुरुवाती सफलतापछि नेपालले विभिन्न शृंखलामा अपेक्षित नतिजा निकाल्न सकेन। बलियो टोलीविरुद्ध प्रतिस्पर्धा गर्ने क्षमता देखिए पनि कमजोर मानिएका टोलीविरुद्ध अंक गुमाउने समस्या लगातार देखिएको थियो।

कप्तानका रूपमा रोहितमाथि उठेको सबैभन्दा ठूलो प्रश्न यही थियो, टोलीलाई लगातार एउटै स्तरमा राख्न नसक्नु। विश्वकप छनोटमा अपेक्षित सफलता प्राप्त गर्न नसक्नु, लिग–२ मा उतारचढावपूर्ण प्रदर्शन र ब्याटिङमा टोलीको निर्भरता पनि उनको कप्तानीका कमजोरीका रूपमा हेरिएको छ। 

आखिर किन हटाइयो रोहितलाई ?

क्यानले सन्दीप लामिछानेलाई नयाँ एकदिवसीय कप्तान नियुक्त गरेको घोषणा गरेको छ। तर, रोहितलाई हटाउनुको विस्तृत कारणबारे क्यानले सार्वजनिक रूपमा स्पष्ट र विस्तृत स्पष्टीकरण दिएको छैन। त्यसैले रोहितलाई हटाउनुको कारणलाई एउटा मात्र विषयसँग जोड्नु उचित नहुने क्रिकेट पण्डितहरूको धारणा छ। पहिलो कारण प्रदर्शनमा आएको निरन्तरताको कमी हुन सक्छ। पछिल्लो समय नेपाली टोलीले अपेक्षाअनुसार नतिजा निकाल्न सकेको छैन। कप्तान परिवर्तनमार्फत टोलीमा नयाँ उर्जा ल्याउने अपेक्षा क्यानले गरेको हुनुपर्छ। दोस्रो, सन्दीप लामिछानेको अन्तर्राष्ट्रिय अनुभव पनि महत्वपूर्ण पक्ष हो। लामिछानेले यसअघि नेपालका लागि १४ एकदिवसीय खेलमा कप्तानी गरिसकेका छन्। उनी ७७ एकदिवसीयमा १५४ विकेट लिइसकेका अनुभवी खेलाडी पनि हुन।

तेस्रो, आगामी प्रतियोगितालाई ध्यानमा राखेर नेतृत्व परिवर्तन गरिएको देखिन्छ। सन्दीपको पहिलो ठूलो जिम्मेवारी र अग्नी परीक्षा मलेसियामा अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म हुने एसीसी मेन्स प्रिमियर कप हुनेछ। 

रोहितको कप्तानीको तथ्यांक आफैं बोल्छ

उपलब्ध तथ्यांकअनुसार रोहितले नेपाललाई ६३ एकदिवसीय खेलमा नेतृत्व गरेका छन्। उनको नेतृत्वमा नेपालले ३१ खेल जितेको छ। ३० खेलमा पराजित भएको छ भने दुई खेलमा नतिजा आएको छैन। उनको जित प्रतिशत ४९.२१ रहेको छ। यो तथ्यांकले एउटा महत्वपूर्ण कुरा देखाउँछ, रोहित नेपालको एकदिवसीय इतिहासकै सबैभन्दा सफल कप्तान बनेका छन्। त्यसैले चार वर्षपछि उनलाई कप्तानीबाट हटाउने निर्णयलाई केवल हार–जितको सामान्य समीकरणबाट हेर्न नहुने तर्क पनि गरिएको छ। 

कप्तानी गयो, यात्रा भने जारी

रोहितको कप्तानी समाप्त भएको हो, क्रिकेट यात्रा भने निरन्तर चलिरहने छ। उनी अझै नेपाली टोलीका महत्वपूर्ण ब्याटर हुन्। कप्तानीको बोझ हटेपछि उनको व्यक्तिगत प्रदर्शनमा अझ सुधार आउने अपेक्षा गर्न सकिन्छ। अब उनी कप्तानभन्दा पनि एक अनुभवी खेलाडीका रूपमा टोलीमा आफ्नो भूमिका निर्वाह गर्ने अवस्थामा पुगेका छन्।

अर्कोतर्फ सन्दीपका लागि पनि यो सजिलो जिम्मेवारी पक्कै हुनेछैन। उनले रोहितले बनाएको आधारमा टोलीलाई अझ अगाडि लैजानुपर्नेछ। रोहितले नेपाललाई लिग–२ बाट विश्वकप छनोटसम्म पु¥याए, पहिलोपटक एसिया कपको यात्रा गराए, टीट्वेन्टी विश्वकपमा नेतृत्व गरे र टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक सफलता दिलाउने यात्राको हिस्सा बने। त्यसैले रोहितले कप्तानी गुमाए। तर, उनले छाडेको विरासत भने लामो समयसम्म सम्झिइनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.