काठमाडौं : हातमा स्मार्टफोन, स्क्रिनमा शब्दवाण र केही सेकेन्डमै हजारौं लाइक, कमेन्ट र सेयर। राजनीतिक दलका नेता हुन् वा ‘पब्लिक फिगर’हरू, जसको दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ— सामाजिक सञ्जाल। एउटै प्लेटफर्ममा बढ्दो छ, शब्दको ‘आक्रमण’ र ‘प्रतिआक्रमण’।
एउटै सामाजिक सञ्जालमा दुई संसार छन्। एकातिर कटाक्ष, आरोप, गाली, प्रतिशोध, चरित्रहत्या भइरहेको छ; जसको उजुरी लिएर दिनहुँ झन्डै एक सय पीडितहरू नेपाल प्रहरीको साइबर ब्युरोमा पुग्ने गर्छन्। त्यस्तै अर्कातर्फ सहयोग, रक्तदान, उद्धार, उपचार, जनचेतना, नागरिक अभियान र हराएका मानिसको खोजीका लागि समेत सञ्जालकै उपयोग भइरहेको छ।
नेपाल प्रहरी, साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार, सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग बढ्दै गएको छ। ‘सामाजिक सञ्जालको प्रयोगकर्ता को हो ? पत्ता लगाएर पीडकलाई कानुनी प्रक्रियाको दायरामा ल्याउन प्रहरीलाई भ्याइनभ्याइ छ,’ गिरी भन्छन्, ‘दैनिक १ सय २० वटासम्म उजुरी दर्ता हुन थालेका छन्।’
पछिल्लो समय राजनीतिक दलका नेतादेखि अभिनेतासम्मले अर्को पक्षको तेजोबध, छेडखानी र व्यंग्य गर्ने थलो बनाएका छन्, सञ्जाल। तर, साइबर ब्युरोमा दर्ता हुने उजुरीको प्रकृति भने फरक–फरक रहेको गिरी बताउँछन्। उनी भन्छन्,‘घृणाजन्य अभिव्यक्ति (हेट स्पिच), आरोप–प्रत्यारोप, गालीगलौज, ह्यारेसमेन्ट, मानहानी र चरित्रहत्यासम्बन्धी उजुरी दैनिक बढिरहेका छन्। पछिल्लो समय राजनीतिज्ञहरूबाट पनि यस्ता उजुरी आउन थालेका छन्। तर, उजुरी दिनेमा राजनीतिज्ञभन्दा सर्वसाधारणको संख्या बढी छ।’
समाजशास्त्री सम्राट शर्माका अनुसार, अहिलेको भर्चुअल दुनियाँमा सामाजिक सञ्जालले व्यक्तिसँगै समाजलाई नै घनीभूत प्रभाव पारिरहेको छ।
सञ्जालमै छ शक्ति
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय समस्यामा होस् वा देशवासीका नाममा सम्बोधन गर्न होस्, फेसबुक र युट्युबकै सहारा लिए। दिउँसो होस् वा राति, जब उनी फेसबुकको भित्तामा केही लेख्छन्, ह्वार्रर लाइक, कमेन्ट र सेयर देखा पर्छन्। अनलाइन मिडियामा तात्तातो हेडलाइन बन्छन्। टेलिभिजनको स्क्रोलमा उनकै स्टाटस समाचार बन्छ। साउन २२ गते मध्यराति ११ बजे उनले लेखे :
केही समय लाग्छ, सही समय आउनलाई।
ढिला होला, तर गलत हुँदैन।
नआत्तिनुहोस्।
सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक
हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।
प्रधानमन्त्री शाहको स्टाटसको तल अनेकौं प्रतिक्रियाहरू सार्वजनिक भएका छन्। जेन—जी आन्दोलनका अभियन्ता माजिद अन्सारीले कमेन्ट बक्समा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, फ्रि स्टाइल राम्रो छ, तर यस्तो हाहाकारमा फ्रि स्टाइलले पेट भरिँदैन। खाली पेट प्रेम सम्भव हुँदैन, खाली पेटले केवल विद्रोह निम्त्याउँछ। तपाईंको इन्टेन्टमाथि हामीले धेरै प्रश्न गरेका छैनौं, तर तपाईंको सरकारको कन्टेन्ट चाहिँ नमिलेकै हो। तपार्इंका मन्त्रीहरू आलाकाँचा छन्। माननीय मनिष झाको शब्दमा भन्नुपर्दा ढंग नमिलेकै हो। सुधार्नुस्। सम्हाल्नुस्।’
प्रधानमन्त्रीको स्टाटसको कमेन्ट बक्समा अन्सारीलगायत ७२ हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन्। जसमध्ये अधिकांश सकारात्मक र केही नकारात्मक त छँदै छन्, कतिपय कमेन्ट हेर्न, पढ्न नसकिने खालका छन्। पूर्वप्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेताहरूको समेत चरित्रहत्या गरिएका कमेन्ट बग्रेल्ती छन्। पछिल्लो समय सामाजिक सञ्जाल संवादको मञ्चभन्दा प्रहारको स्पट बनेको छ।
एमाले वृत्तमा स्टाटसबाट प्रधानमन्त्री बालेन्द्रलाई र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई कटाक्ष गर्ने एमाले नेता हुन्, शंकर पोखरेल। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले २६ साउनको मध्यराति साढे ११ बजे लेखे, ‘जे रोप्यो, त्यही फल्छ भनिन्छ। भदौ २३ र २४ मा रोपेको कुफलका कारण, त्यसैको जगमा बनेको सरकारको क्रियाकलाप र परिणाम पनि त्यस्तै छ।’ पोखरेलको स्टाटसको कमेन्ट बक्समा नरेन्द्र नामक व्यक्तिले लेखेका छन्,‘सुत्नुस् पोखरेल कमरेड। अहिलेका असक्षम छन्, सत्य हो। तर, तपाईं र तपाईंजस्ता टिके, वरिपरि बार बाँध्ने बकम्फुसे र असक्षमहरू देशका लागि झन् घातक छन्।’

सत्तारूढ रास्वपाका केन्द्रीय सदस्य दीपकराज बोहोराले अँध्यारोमा गुडिरहेको गाडीको भिडियो अपलोड गर्दै फेसबुकमा साँझको ७ः३० बजे लेखे, ‘बत्ती गएको अँध्यारो सहर !’ कमेन्ट बक्समा आरएन श्रेष्ठले कटाक्ष गर्दै लेखेका छन्, ‘चुपचाप घण्टी छाप, बत्ती गयो झ्यापझ्याप !’
प्रतिनिधिसभाको चुनावका बेला कलाकार दीपकराज गिरीले चुनावी नतिजातर्फ इंगित गर्दै विश्लेषकहरूलाई व्यंग्य गरे। उनले फेसबुक स्टाटसमा लेखे, ‘जब जनताले क्याल्कुलेटर चलाउन थाल्छन्, विश्लेषकहरूको जोड–घटाउले हावा खाने रहेछ।’
भर्चुअल रिङभित्र कलाकारको भिडन्त
कहिले फेसबुकका लामा–लामा स्टाटस, एक्समा व्यंग्य त कहिले टिकटकमा कटाक्षपूर्ण भिडियोहरू— यी डिजिटल प्लेटफर्महरू अहिले विचार निर्माण गर्ने चौतारीभन्दा बढी प्रतिद्वन्द्वीलाई पछार्ने ‘भर्चुअल रिङ’मा परिणत भएका छन्। पछिल्लो २४ घण्टामा यही रिङभित्र प्रवेश गरेका छन्, महानायक राजेश हमाल।
औंलाबाट अपराध
२०७४ असार २७ गते फेसबुकमा आपत्तिजनक सामग्री पोस्ट गर्दै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्रहत्या गरेपछि स्वकीय सचिवालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्र लेख्यो। त्यसपछि आरोपीहरूलाई धुइँपत्ता खोज्न थालेको प्रहरीले कपिलवस्तुबाट सोनुकुमार सुनारलाई पक्राउ गर्यो। सुनारको पृष्ठभूमि रेडियोको स्टेसन म्यानेजर भएको प्रहरीले जनाएको छ।
२०७४ साउन २० गते तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको चरित्रहत्या हुने गरी फेसबुकमा आपत्तिजनक सामग्री पोस्ट भयो। उपराष्ट्रपतिको स्वकीय सचिवालयले पत्र पठायो, प्रहरी महानिरीक्षकको सचिवालयले पक्राउ गर्ने आदेश दियो। जर्मनीमा बसिरहेका धादिङका आत्माराम थपलियाले चरित्रहत्या गर्ने सामग्री पोस्ट गरेको सार्वजनिक भयो।
२०७६ सालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका बेला रामेछापका विवेक थापामगरले काठमाडौंका अस्पतालहरूमा संक्रमित र केही व्यक्तिको मृत्यु भएको अफवाह फैलाए। उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत प्रहरीले मुद्दा चलायो। त्यस्तै, सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै कारबाहीका लागि नेपाली सेनाले प्रहरीको साइबर ब्युरोमा पत्र पठाएको थियो। त्यसपछि ब्युरोले झापा, दमकका डिल्लीराम खनाललाई पक्राउ गरेको थियो। उनीमाथि पनि विद्युतीय कारोबार ऐन, २०६३ को कसुरमा कानुनी कारबाही अघि बढाएको थियो।
प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा विभिन्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ। ब्युरोले विद्युतीय स्वरूपमा गैरकानुनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधिसमेत टिकटकको माध्यमबाट हुने गरेको पाइएको जनाएको छ।
- डिजिटल प्लेटफर्महरू अहिले विचार निर्माण गर्ने चौतारीभन्दा बढी प्रतिद्वन्द्वीलाई पछार्ने ‘भर्चुअल रिङ’मा परिणत भएका छन्।
- सामाजिक सञ्जालको सदुपयोग गर्दै विपन्नलाई सहयोग गर्नेहरू बढ्दै गएका छन्। तर कतिपय भने बीचैमा हराउँछन्।
पछिल्लो अवधिमा विभिन्न व्यक्ति तथा संस्थाहरूले सामाजिक सञ्जाल आदिबाट स्वनिर्मित, अप्रमाणित र अपुष्ट सामग्रीहरू उत्पादन, प्रकाशन, प्रसारण गरी व्यक्ति तथा संस्थाहरूको चरित्रहत्या गर्ने, भ्रामक, कपोलकल्पित र नियोजित झुटा सामग्रीमार्फत प्रतिष्ठा र मर्यादामा आघात/हानि पुर्याउने कार्य हुँदै आएको पीडितहरू बताउँछन्। ब्युरोका प्रवक्ता दिलीपकुमार गिरीका अनुसार, सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग बढ्दो रूपमा रहेको छ।
प्रविधिगत विकासको स्वाभाविक प्रक्रिया
प्रेस काउन्सल नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार राजेन्द्र दाहालका अनुसार, सामाजिक सञ्जाल ‘न्यु फेनोमेना’ भएकाले सदुपयोग र दुरुपयोग हुनु स्वाभाविक हो। ‘प्रविधिको विकासले हिजो नसोचेको वा कल्पना नै नगरेको कुराहरू आइरहेका छन्।
विकासका क्रममा यो स्वाभाविक हो,’ वरिष्ठ पत्रकार दाहाल भन्छन्, ‘सञ्जाल प्रयोगको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि विकासकै क्रममा छ। अबको १० वर्षसम्म पनि एप र सामाजिक सञ्जालहरू निरन्तर रहिरहे भने यिनको प्रयोग संयमित हुनेछ। दुरुपयोग गर्नेलाई निश्चित दण्ड वा प्रभावकारी नियन्त्रणको उपाय हुनेछन्। यो विकासको एउटा क्रम हो। प्रयोग र आविष्कार पनि एकसाथ हुँदैछ।’
२०८० कात्तिक १७ गते सञ्जालको दुरुपयोग रोक्न, गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुरबीच सहकार्य बढाउने उद्देश्यले छलफलसमेत भएको थियो।
‘सरकारले सामाजिक सञ्जालको आदर्श प्रयोगको बारेमा अभ्यास गरेर देखाउनुपर्छ। प्रधानमन्त्री, मन्त्री वा सेलिब्रेटीजस्ता व्यक्तिले अनुकरणीय अभ्यास गरेर देखाउनुपर्छ,’ पत्रकार दाहाल भन्छन्, ‘त्यस्तो अभ्यास टपबाट बटम जानुपर्छ। माथिकाले सुरु गर्ने हो भने बिस्तारै अन्य नेता, कार्यकर्ता, शिक्षक, विद्यार्थी, सर्वसाधारणले समेत सिक्छन्।’
समाजशास्त्री सम्राट शर्मा अहिले समाज भर्चुअल बन्दै गएको बताउँछन्। शर्मा भन्छन्, ‘समाज भर्चुअल बन्दै गएको छ। सामाजिक सञ्जालको सदुपयोगबाट आयआर्जन गर्ने र दुरुपयोग गर्दा इज्जत–प्रतिष्ठा गुमाउनेहरू थुप्रै छन्।’
मानसिक समस्या बढ्दै
वरिष्ठ मनोचिकित्सक प्रा.डा. सरोज वझाका अनुसार, बर्सेनि मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्नुमा सामाजिक सञ्जाल पनि मुख्य कारक हुन्। ‘मानसिक समस्या बढ्नुमा अहिलेको डिजिटल प्रविधि र सामाजिक सञ्जालको अत्यधिक प्रयोग पनि एउटा मुख्य कारण हो,’ डा. वझा भन्छन्, ‘धेरैजनालाई सामाजिक सञ्जालको प्रयोग कसरी गर्नुपर्छ भन्ने थाहै छैन। यसले गर्दा हाम्रो दिमागमा ठूलो मात्रामा आवश्यक सुसूचनामात्र नभई अनावश्यक र नकारात्मक सूचना पनि प्रवेश गरिरहेका छन्। अत्यधिक नकारात्मक सूचनाले मानसिक स्वास्थ्यलाई मन्द विषले झैं विस्तारै प्रतिकूल प्रभाव पारिरहेको हुन्छ।’
सामाजिक सञ्जालको प्रयोग गर्ने व्यक्तिको उद्देश्य र व्यवहारले त्यसको सामाजिक प्रभाव निर्धारण गर्ने डा. वझा बताउँछन्। उनी भन्छन्, ‘सामाजिक सञ्जाल प्रयोगकर्ताले आत्मनिरीक्षण गर्नु जरुरी छ।’
घृणाजन्य अभिव्यक्ति (हेट स्पिच), आरोप–प्रत्यारोप, गालीगलौज, ह्यारेसमेन्ट, मानहानि र चरित्रहत्यासम्बन्धी उजुरी दैनिक बढिरहेका छन्। पछिल्लो समय राजनीतिज्ञहरूबाट पनि यस्ता उजुरी आउन थालेका छन्। तर, उजुरी दिनेमा राजनीतिज्ञभन्दा सर्वसाधारणको संख्या बढी छ।
दिलीपकुमार गिरी - प्रवक्ता, साइबर ब्युरो, नेपाल प्रहरीसामाजिक सञ्जालको आदर्श प्रयोगको अनुकरणीय अभ्यास ‘टप टु बटम’ अर्थात्
माथिबाट (प्रधानमन्त्री, मन्त्री, सेलिब्रेटी) बाट सुरु गर्नुपर्छ। यसमा भएमा नेता, कार्यकर्ता, शिक्षक, विद्यार्थी हुँदै सर्वसाधारणले स्वतः सिक्नेछन्।
राजेन्द्र दाहाल - पूर्वअध्यक्ष, नेपाल प्रेस काउन्सिल
समाज भर्चुअल बन्दै गएको छ। सामाजिक सञ्जालको सदुपयोगबाट आयआर्जन र नाम कमाउने पनि छन्। त्यस्तै, दुरुपयोग गर्दा इज्जत–प्रतिष्ठा गुमाउनेहरू पनि थुप्रै छन्।
सम्राट शर्मा, समाजशास्त्रीदिमागमा आवश्यक गुड इन्फर्मेसनमात्र नभई नकारात्मक सूचना पनि प्रवेश गरिरहेका छन्। अत्यधिक नकारात्मक सूचनाले मस्तिष्कलाई मन्द विषले झैं विस्तारै प्रतिकूल प्रभाव पार्छ।
प्रा.डा. सरोज वझा, वरिष्ठ मनोचिकित्सक
सहयोग जुटाउनेदेखि परिवार भेटाउनेसम्म
सामाजिक सञ्जाल दुरुपयोगको माध्यम मात्र होइन। फेसबुक, एक्स (टिटर), टिकटकजस्ता प्लेटफर्मबाट सकारात्मक सामाजिक काम पनि गर्न सकिन्छ।
त्यस्तै सामाजिक सञ्जालले सहयोग जुटाउने ‘डिजिटल पुल’को काम गर्न सक्छ। बिरामी, विपन्न वा समस्यामा परेका व्यक्तिलाई सहयोगी र दातासँग जोड्न सक्छ। व्यक्तिगत पहलले सामूहिक सहयोगको रूप लिन सक्छ। अभिनव बज्र, डा. अनिल बराललगायतका व्यक्तिको कर्मले यही कुरा देखाउँछ।
आम व्यक्तिको भन्दा फरक छ, अभिनव बज्रको दैनिकी। समाजमा सकारात्मक परिवर्तन ल्याउने उनको ध्येय छ। त्यसैले त उनी सामाजिक सञ्जालको सदुपयोग गर्दै बिरामीलाई आर्थिक सहयोग गर्नमै रमाउँछन्। साउन २५ गते फेसबुकमा उनले लेखेका छन्,‘जिब्रोमा क्यान्सर भएको दाइ उमेश थिङलाई आज डेढ लाख आर्थिक सहयोग गरेको छु। थाहा छ, यो थोरै सहयोग हो। तर, सहयोग दिनुपर्ला भनेर आफन्तहरू रित्तिँदै गएको बेला म छु भन्दै ढाडस दिन सकेँ। जीवनभरि यो पल मेरो लागि गर्विलो क्षणका रूपमा रहन्छ।’
वज्रको फेसबुकभरि बिरामीलाई सहयोग गरेका भिडियोहरू पोस्ट गरिएका छन्। उनको पोस्टमा आएका अधिकांश प्रतिक्रियाहरूमा सहयोगको प्रशंसा एवं कर्मको सराह्रना गरिएको छ। कतिपय असहाय र दिनदुःखीको सेवामा खटिएको भन्दै प्रेरणामूलक कार्यको प्रशंसा गर्छन्।
१३ साउनमा एउटा तस्बिर पोस्ट गर्दै वीर अस्पतालका मिर्गौलारोग विशेषज्ञ अनिल बरालले आर्जित रकमबाट सहयोग गर्न पाउँदा खुसी महसुस भएको सेयर गरेका छन्।
सामाजिक सञ्जालको सदुपयोग गर्दै विपन्नलाई सहयोग गर्नेहरू बढ्दै गएका छन्। तर कतिपय भने बीचैमा हराउँछन्। थोरै व्यक्तिले मात्र निरन्तरता दिइरहेका छन्। ‘भर्चुअल समाजमा कुनै विषयवस्तु सञ्जालमा प्रवाह हुनेबित्तिकै फैलिन्छ। सामाजिक सञ्जाल बजारका रूपमा पनि विकास भएको छ,’ समाजशास्त्री सम्राट शर्मा भन्छन्, ‘आर्थिक उपार्जनदेखि सहयोगसम्मका सकारात्मक कार्य पनि सञ्जालकै सहयोगमा भइरहेका छन्।’
सामाजिक सञ्जालमार्फत विपन्नलाई सहयोग गर्ने अभियानहरू देखिन थालेका छन्। सामाजिक सञ्जालबाट प्राप्त सहयोगले ब्लड क्यान्सर प्रभावित छोराको उपचार गर्न सफल भएको दोलखाका प्रकाश अधिकारी बताउँछन्। बोनम्यारो ट्रान्सप्लान्ट गर्ने रकमको अभावमा उनी निराश थिए। त्यत्तिकैमा एक पत्रकारसँगको भेटले उनको छोराको उपचार सम्भव भयो।
पठाओ चालक अधिकारी भन्छन्, ‘पठाओमा चढेका एक जना पत्रकारले सुखदुःख सोध्न थालेपछि खुलस्त सुनाएँ। उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिनुभयो। २५ लाखभन्दा बढी रकम उठ्यो। अब छोराको उपचार हुने भयो।’ वर्षौंदेखि हराएका व्यक्तिको परिवारमा पुनर्मिलनका लागि चितवन, भरतपुरका अर्जुन भुसालले सामाजिक सञ्जालकै सदुपयोग गरेका छन्।
प्रतिक्रिया दिनुहोस !