देउवा स्वदेश फर्किंदा के फरक पर्छ कांग्रेसमा ?
देउवाको आगमन र अदालतको आदेशले इतर पक्षको मनोबल बढेको छ।
काठमाडौं : कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा बिहीबार दिउँसो नेपाल फर्किंदैछन्। देउवा दिउँसो १२: २० बजे थाई एयरवेजमार्फत बैंकक हुँदै काठमाडौं आउने कार्यक्रम छ। उनको स्वागतका लागि कांग्रेसको इतर पक्षले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता उतार्ने तयारी गरेको छ।
यसअघि देउवा राति ९: ४५ बजे काठमाडौं आउने कार्यक्रम थियो। तर रातिको समयमा नेता, कार्यकर्ता विमानस्थलमा उपस्थित हुन कठिन हुने भन्दै इतर पक्षको आग्रहमा आगमन समय दिउँसो सारिएको कांग्रेस नेता डा. प्रकाशशरण महतले बताएका छन्। समय कार्यकर्ताकै लागि सारिएको हो ? भन्ने प्रश्नमा डा. महतले भने, ‘हो, कार्यकर्तालाई विमानस्थल जान सहजताका लागि फ्लाइटको समय परिवर्तन गरिएको हो। सबैको आग्रहपछि सभापतिजीको रातिको कार्यक्रम परिवर्तन गरी दिउँसोको समय तय गरिएको हो।’
देउवा करिब ६ महिनापछि नेपाल फर्किन लागेका हुन्। गत फागुनमा थप उपचारका लागि सिंगापुर गएका उनी त्यसपछि हङकङ पुगे। केही महिना उनी हङकङमै बसे। पछिल्लो समय उनी विदेशमै रहेकाले कांग्रेसको आन्तरिक राजनीतिमा उनको भूमिका, पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्वसम्बन्धी विवाद थप पेचिलो बन्दै आएको छ।
देउवाको नेपाल आगमन भने यसपटक सामान्य घरफिर्तीमा मात्र सीमित छैन। उनी फर्किएको भोलिपल्ट अर्थात् साउन २९ मा देउवा पक्षले राष्ट्रिय भेला आयोजना गर्दैछ। त्यसैले विमानस्थलमा हुने स्वागतलाई समेत इतर पक्षले आफ्नो शक्ति, संगठनात्मक उपस्थिति र देउवाप्रतिको समर्थन प्रदर्शन गर्ने अवसरका रूपमा उपयोग गर्न खोजेको देखिन्छ।
विमानस्थलबाटै शक्ति प्रदर्शनको तयारी
पूर्वसभापति देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरिएको छ। बिहीबार स्वदेश फर्किन लागेका देउवालाई इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागेको हो। राष्ट्रिय भेलाका लागि गठन गरिएको सांस्कृतिक समितिका संयोजकले देउवाको स्वागतका लागि बाजागाजासहित सांस्कृतिक झाँकी निकाल्ने भएका हुन्।
देउवा बिहीबार मध्याह्न साढे १२ बजे काठमाडौं अवतरण हुनेछन्। उनी थाई एयरबाट स्वदेश फर्किन लागेका हुन्। जेन—जी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुन राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए। उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए। स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन्।
देउवाको स्वागतका लागि इतर पक्षले ठूलो संख्यामा नेता कार्यकर्ता परिचालन गर्ने तयारी गरेको छ। रातिको सट्टा दिउँसो आगमनको समय मिलाइनुलाई पनि यही रणनीतिक तयारीसँग जोडेर हेरिएको छ। दिउँसोको समयमा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाबाट नेता कार्यकर्तालाई विमानस्थलमा उपस्थित गराउन सहज हुने अपेक्षा गरिएको छ।
राष्ट्रिय भेलामा ‘सभापति’कै हैसियतमा सम्बोधन
देउवा पक्षले साउन २९ मा आयोजना गर्ने राष्ट्रिय भेलालाई भने अझ महत्त्वपूर्ण राजनीतिक मञ्चका रूपमा अघि सारेको छ। भेलामा देउवालाई प्रमुख अतिथि बनाउने र १४औं महाधिवेशनबाट निर्वाचित सभापतिको हैसियतमा सम्बोधन गराउने तयारी गरिएको छ।
देउवा पक्षका नेता एनपी साउदका अनुसार देउवा नै १४औं महाधिवेशनबाट निर्वाचित सभापति भएकाले उनले सभापतिकै हैसियतमा भेलालाई सम्बोधन गर्नेछन्। साउद भन्छन्, ‘नयाँ नेतृत्व चयन गर्नेभन्दा राजनीतिक दिशा र आगामी रणनीति तय गर्ने उद्देश्य हो।’
देउवा पक्षका अर्का एक नेता भने राष्ट्रिय भेलाले राजनीतिक महत्त्व बढाएको बताउँदै देउवालाई पूर्वसभापतिको रूपमा मात्रै प्रस्तुत गर्ने नभई पार्टीको वैध नेतृत्वको दाबीसमेत दोहोर्याउने संकेत गरेको बताउँछन्।
विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका नेता गुरुराज घिमिरे भने देउवाले देशको राजनीतिक परिवेश बुझेरै कदम चाल्ने बताउँछन्। ‘आउनुहुन्छ, सत्यतथ्य बुझ्नुहुन्छ,’ उनी भन्छन्, ‘पार्टीको जनलहर हेर्नुहुन्छ। पार्टीको हितमै कदम चाल्नुहुनेछ भन्ने विश्वास छ।’
अदालतको नयाँ निर्णयपछि पार्टीका सबै नेताहरू एकै ठाउँमा बस्ने मौका मिलेको घिमिरेको भनाइ छ। ‘त्यसैले विकसित घटनाक्रमलाई एकताबद्ध भएर पार्टीको महाधिवेशन सम्पन्न गर्ने अवसरका रूपमा उपयोग गर्न सक्छौं,’ उनी भन्छन्, ‘पूर्वसभापतिजीले यो परिस्थितिलाई बुझ्नुहुन्छ भन्ने लाग्छ।’
घिमिरेको भनाइमा समर्थन जनाउँदै कांग्रेस प्रमुख सचेतक वासना थापा थप्छिन्, ‘यति लामो समय पार्टीलाई योगदान दिएको व्यक्ति हाम्रा अभिभावकले पार्टीमा सकारात्मक प्रयास गरिदिनुहुनेछ भन्ने छ।’
५५१ सदस्यीय आयोजक समिति, ३२ समिति सक्रिय
राष्ट्रिय भेलालाई व्यवस्थित बनाउन डा. शशांक कोइरालाको नेतृत्वमा ५ सय ५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको छ। भेलाका लागि राजनीतिक, समसामयिक, सांगठनिक, विधान तथा कानुनी र आर्थिक नीतिसम्बन्धी पाँच विषयगत समिति बनाइएको छ।
कार्यक्रम व्यवस्थापनका लागि २७ वटा सञ्चालन समिति गठन गरिएको छ। थप १३ उपसमितिमार्फत संगठन, विचार, राजनीति, सामाजिक, विधान र आर्थिक विषय तथा विभिन्न व्यवस्थापनसम्बन्धी जिम्मेवारी बाँडिएको छ। सबै समितिले आ–आफ्नो जिम्मेवारीअनुसार काम अघि बढाइरहेको नेता साउदले बताएका छन्।
साउदका अनुसार भेलामा १४औं महाधिवेशनमा सहभागी सबै प्रतिनिधिलाई निमन्त्रणा गरिनेछ। राष्ट्रिय भेलालाई पुराना प्रतिनिधि तथा नेताहरूलाई पुन: संगठित गर्ने अवसरका रूपमा पनि हेरिएको छ।
अदालतको पुनरावलोकनले बढाएको उत्साह
देउवा पक्षको पछिल्लो सक्रियताको बल सर्वोच्च अदालतले दिएको पुनरावलोकनको अनुमति बनेको छ। निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई मान्यता दिएको विषयमा देउवा पक्षले अदालतको बाटो रोजेको थियो। सर्वोच्च अदालतले चैत १८ मा निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि देउवा पक्षले पुनरावलोकन निवेदन दायर गरेको थियो।
कांग्रेस नेता शेखर कोइराला पनि अदालतको आदेशले पार्टी मिल्नका लागि समेत प्रेरणा दिएको अथ्र्याउँछन्। ‘अदालतको आदेश आउनुभन्दा पहिले हामी आफैं बसेर मिलौं, नमिल्ने कुरा के छ र,’ उनी भन्छन्, ‘अदालतले जे गरेको छ, त्यो हाम्रा लागि अवसर पनि हो।’
साउन ६ मा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुनरावलोकनका लागि निवेदन दिएका थिए। साउन २० मा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएपछि देउवा पक्षमा पुन: राजनीतिक आशा जागेको देखिन्छ।
देउवा पक्षका नेता मीन विश्वकर्माले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई आफूहरूले सुरुदेखि नै अवैधानिक भन्दै आएको र अदालतले पुनरावलोकनको अनुमति दिएपछि विवादको न्यायिक परीक्षण पुन: सुरु भएको उल्लेख गर्दै भने, ‘अदालतले पुनरावलोकनको अनुमति दिनुलाई निर्वाचन आयोग र प्रारम्भिक अदालतको निर्णयमा पुन: परीक्षण आवश्यक देखिएको संकेतका रूपमा व्याख्या गरेका छौं।’ देउवाले आफू वैध सभापति भएको दाबी अदालतमा निरन्तर राख्दै आएका कारण अन्तिम फैसला नआएसम्म १४औं महाधिवेशनबाट निर्वाचित सभापतिको हैसियत कायम रहनेछ।
एकातिर थापा पक्ष नियमित महाधिवेशनको तयारीमा छ भने अर्कातिर देउवा पक्ष राष्ट्रिय भेलामार्फत आफ्नो राजनीतिक अस्तित्व र नेतृत्वको दाबी पुन: स्थापित गर्ने रणनीतिमा छ।
गगन पक्ष पनि पछि हट्ने अवस्थामा छैन
देउवा पक्षले राष्ट्रिय भेलामार्फत समानान्तर राजनीतिक गतिविधि तीव्र पारिरहँदा कांग्रेस संस्थापन पक्ष भने विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकता अदालतमा बचाउने तयारीमा छ।
सभापति गगन थापाले सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियालाई विश्वासका साथ सामना गर्ने बताएका छन्। उनले विगतमा अदालतमा स्थापित भएको तथ्य पुन: अदालतमा स्थापित हुने दाबी गर्दै न्यायालयप्रति विश्वास कायम राख्न कार्यकर्तालाई आग्रह गरेका छन्।
थापाले १५औं नियमित महाधिवेशनको तयारी कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन्। सदस्यता अद्यावधिक, वडा अधिवेशन तथा त्यसपछिका अधिवेशन प्रक्रियालाई अघि बढाउने संस्थापन पक्षको तयारी छ।
यही कारण कांग्रेस अहिले एउटै पार्टीभित्र दुईवटा राजनीतिक प्रक्रियामा अघि बढेको देखिन्छ। एकातिर थापा पक्ष नियमित महाधिवेशनको तयारीमा छ भने अर्कातिर देउवा पक्ष राष्ट्रिय भेलामार्फत आफ्नो राजनीतिक अस्तित्व र नेतृत्वको दाबी पुन: स्थापित गर्ने रणनीतिमा छ।
देउवाको ‘कमब्याक’ कि नयाँ राजनीतिक मोड ?
देउवाको नेपाल आगमन र त्यसको भोलिपल्ट हुने राष्ट्रिय भेलाले कांग्रेसको आगामी शक्ति समीकरणमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने देखिन्छ। देउवा पक्षले अहिले नयाँ नेतृत्व घोषणा नगरी राजनीतिक दिशा तय गर्ने बताएको छ। तर अदालतबाट आफ्नो पक्षमा फैसला नआएमा नयाँ नेतृत्व चयन गर्दै छुट्टै राजनीतिक बाटो लिनेसम्मको सम्भावना पनि छलफलमा रहेको स्रोतको दाबी छ।
संस्थापन पक्षका एक पदाधिकारी भने विमानस्थलको स्वागतदेखि राष्ट्रिय भेलामा देउवाको सम्बोधनसम्मका कार्यक्रमलाई केवल औपचारिक गतिविधिका रूपमा हेर्न नमिल्ने बताउँछन्। स्वागतमा देखिने भिडले देउवाको व्यक्तिगत लोकप्रियताभन्दा बढी उनको राजनीतिक नेटवर्क कति सक्रिय छ भन्ने संकेत दिनेछ भने राष्ट्रिय भेलामा हुने सम्बोधनले कांग्रेसभित्र देउवा पक्षको आगामी राजनीतिक रणनीतिको दिशा स्पष्ट गर्नेछ।
अझ महत्त्वपूर्ण अदालतको पुनरावलोकनबाट आउने निर्णयले कांग्रेसको शक्ति समीकरणलाई निर्णायक रूपमा प्रभावित गर्न सक्छ। फैसला देउवा पक्षमा आएमा वर्तमान कांग्रेस नेतृत्वमाथि ठूलो राजनीतिक चुनौती खडा हुनेछ। फैसला प्रतिकूल भएमा भने राष्ट्रिय भेलाले तय गर्ने रणनीति देउवा पक्षको आगामी राजनीतिक यात्राका लागि निर्णायक बन्न सक्छ।
प्रतिक्रिया दिनुहोस !