देउवाको अन्तिम अग्निपरीक्षा

देउवाको अन्तिम अग्निपरीक्षा

देउवा यतिबेला पुनः चर्चामा हुनुहुन्छ। चर्चा हुनुको एउटै कारण हो, देउवाले गर्ने निर्णयले नै कांग्रेस जुट्ने वा फुट्ने भन्ने विषयको टुंगोमा पुग्नेछ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिना लामो उपचारपछि साउन २८ गते स्वदेश फर्किंदै हुनुहुन्छ। जेन—जी विद्रोहमा कहालीलाग्दो सांघातिक आक्रमणमा पर्नुभएका देउवा दम्पतीलाई नेपाली सेनाले उद्धार गर्नुपरेको गरेको थियो। नेपाली कांग्रेसका तत्कालीन सभापति देउवाले पार्टीका उपाध्यक्ष पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाउनु भएको थियो। कांग्रेसको विधानअनुसार तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समूहको अगुवाइमा विशेष महाधिवेशनको आह्वान गरेका थिए।

तर, तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई पूर्ण रूपले वेवास्ता गर्नुभयो। पार्टीको विधानबमोजिम सुरु गरिएको विशेष महाधिवेशनमा सहभागी हुनेलाई जिल्ला जिल्लाबाट रोक्ने प्रयास भयो। सकेसम्म सबै अस्त्र प्रयोग गरेर विशेष महाधिवेशनमा सहभागी हुनबाट रोक्ने प्रयत्न पनि खड्काले गर्नुभयो।

तत्कालीन महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा र फर्मुल्ला मन्सुरलगायतका नेतालाई साधारणसदस्यसमेत नरहने गरी निष्कासन गरिदिनु भयो। पार्टीको आन्तरिक राजनीतिलाई सडकमा तमासा देखाउने काम खड्काकै कार्यकालमा भयो। निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनका पक्षमा फैसला गरेपछि पनि खड्का शान्त बन्न सक्नु भएन।लोकतन्त्रको मर्मविपरीत उहाँ कांग्रेसविरुद्ध मोर्चाबन्दीमा लाग्नु भएको छ। 

यसको पछिल्लो कडीको सर्वोच्चको फैसलामाथि पुनरावलोकन गर्न निवेदन दिनु भएको छ। उहाँका अतिरिक्त पूर्वसभापति देउवाले समेत सोही प्रयोजनका लागि निवेदन दिनुले नेपाली राजनीति फेरि एक पटक तरंगीत भएको छ।

नेपाली कांग्रेसमा कुनै बेला बीपी कोइरालाले अत्यन्तै विश्वास गरेका व्यक्ति हुनुहुन्छ, शेरबहादुर देउवा। पञ्चायती निरंकुशताका विरुद्ध सशक्त संगठन गर्न सक्ने ठानेरै बीपीले देउवालाई नेपाल विद्यार्थी संघको अध्यक्ष बनाउनु भएको थियो। त्यतिबेला अत्यन्तै जुझारु युवा हुनुहुन्थ्यो, शेरबहादुर देउवा।

कहिले संसदीय दलमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग चुनावी प्रतिस्पर्धा गरेर होस् वा पार्टी सभापतिका रूपमा सुशील कोइरालासँग प्रतिस्पर्धा गरेर होस् देउवाको राजनीतिक जुझारुपन देखिएकै थियो। कुनैबेला नेपाली कांग्रेसबाट चोइटिएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएका देउवाले पछि नेपाली कांग्रेसमै पार्टीलाई विलय गरेर आफूमाथि लागेको पार्टी फुटाएको आरोपलाई मत्थर गर्नु भएको थियो। 

विशेष महाधिवेशनको म्यान्डेटबाट पार्टी सभापति बनेका गगन थापालाई गलाएर भए पनि आफ्नो भागबन्डाको राजनीति पूरा गर्ने प्रयत्नमा पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला, विजय गच्छदार र कृष्णप्रसाद सिटौलाहरू लागिरहेका छन्। उनीहरूले ठेकेदार कान्छाराम तामाङको सहयोगमा चुनदेवीमा सम्पर्क कार्यालयसमेत खोलेका छन्। त्यही चुनदेवीको बैठकले यही साउनको अन्तिममा काठमाडौंमा संस्थापन इतर समूहको भेला आयोजना गरेको छ। 

भेलाको संयोजक डा.शशांक कोइरालालाई बनाइएको छ। गुटैगुटमा विभक्त समूहले भेलाको संयोजक बनाएर बीपी पुत्र शशांकलाई अर्को प्रकाश कोइराला बनाउने अभ्यास गरिरहेका छन्। चुनदेवी समूहले आयोजना गर्ने भनिएको भेलालाई देउवाले सम्बोधन गर्ने अपेक्षा संस्थापन इतरले राखेको छ। तर, यस विषयमा देउवाको आधिकारिक धारणा भने यो पंक्ति लेख्दासम्म सार्वजनिक भएको छैन। देउवा यतिबेला पुनः चर्चामा हुनुहुन्छ। 

चर्चा हुनुको एउटै कारण हो देउवाले गर्ने निर्णयले नै कांग्रेस जुट्ने वा फुट्ने फुट्ने भन्ने विषयको टुंगोमा पुग्नेछ। देउवाको स्वदेश फिर्तीलाई संस्थापन इतर समूहले ठूलो शक्ति सञ्चयको रूपमा चित्रण गरेका छन्। साउन २६ गते नेपाल आउने तय गरेका देउवालाई लिन ठूलो संख्यामा कार्यकर्ता परिचालन गर्ने तय भएपछि देउवाले टिकट सारेर साउन २८ गते दिउँसो नेपाल फर्किने तयारी गर्नुभएको हो। संस्थापन पक्षलाई अल्टिमेटम दिने, वार्ता गर्ने र संवादमै अल्झाएर संस्थापन इतर समूहले आफ्ना निकट कार्यकर्तालाई आफ्नो अभियानमा जोड्ने प्रयास गरिरहेका छन्।

नेपाली कांग्रेसका तमाम कार्यकर्ता कांग्रेसको फुट चाहँदैनन्। तर, खड्का निकट नेताहरू भने खुला रूपमै मिल्न नसक्ने अवस्थामा अर्को बाटो समाउनुपर्ने भन्दै पार्टी फुटाउन सक्रिय देखिएका छन्। यसरी पार्टी फुटाएर सक्रिय बन्न चाहनेहरू पार्टी एक रहँदा आन्तरिक प्रतिस्पर्धामा चुनाव जित्न नसक्ने नेताहरू नै हुन्। जिल्लामा जनाधार गुमाइसकेका र आफूलाई सधैं राजनीतिको केन्द्रमा राख्न रुचाउने नेताहरू नै पार्टीलाई कमजोर बनाउन लागिपरेको कांग्रेसका शुभेच्छुकहरू बताउँछन्। विशेष महाधिवेशनको विवाद निरूपण भइसकेर नियमित अधिवेशनमा जुटिरहेको कांग्रेस संसद्मा सशक्त प्रतिपक्षको रूपमा काम गरिरहेको थियो।

नागरिकका आवाजलाई प्रमुखताका साथ उठाइरहेको कांग्रेसलाई आन्तरिक खिचातानीमा अल्झाएर कमजोर बनाउन सके संसद्मा कांग्रेस कमजोर हुने आकलनले सरकार देउवाप्रति नरम बनेको यथार्थ छिपेको छैन। त्यसैले सरकार देउवाको डर देखाएर कांग्रेसलाई तर्साउने प्रयासमा देखिएको छ। यदि यसरी आफ्नो सम्भावित गिरफ्तारीबाट बच्न देउवाले सरकारसँग अदृश्य सम्झौता गर्नु भएको हो भने यो देउवा र कांग्रेसका लागि सबैभन्दा घातकसिद्ध हुनेछ। यदि त्यसो होइन भने राजनीतिक करियरको बिसौनीमा पुगेका देउवाले अहिले देखिएका सबै खालका अड्कलबाजीलाई निस्तेज पार्नु पर्नेछ। 

त्यसो त देउवाको नियति नै यस्तै रहेको छ। उनी कहिले गिरिजाप्रसाद कोइरालासँग नजिक बनेका छन् त कहिले उनैसँग प्रतिस्पर्धा गरेका छन्। तत्कालीन राजा ज्ञानेन्द्रसँग नजिकिएका देउवालाई उनै ज्ञानेन्द्रले थुनामा राखे। त्यस्तै परिस्थिति अहिले पनि देखिएको छ। जेन—जी आन्दोलनको नाममा निर्मम हमलामा परेका देउवा नै सरकारसँग निकट बन्ने लक्षण देखिएको छ। देउवा निकट कांग्रेसीहरू बीपी कोइरालाले राष्ट्रियतामाथि संकट महसुस गरेर प्रवासबाट नेपाल फर्केको घटनासँग देउवाको नेपाल आगमनलाई जोड्ने प्रयासमा छन्। तर, देउवा र बीपीको निर्वासन फरक पृष्ठभूमिमा भएका एकदमै फरक घटनाहरू हुन्। देउवाको निर्वासन कदापि एउटै प्रकृतिका होइनन्। 

बीपी राजनीतिक निर्वासनमा हुनुहुन्थ्यो भने देउवा स्वास्थोपचारको नाममा सम्भावित हिरासतलाई छल्ने प्रयास गरिरहनु भएको थियो। देउवा यतिबेला आफ्नो राजनीतिक इतिहासकै सबैभन्दा ठूलो अग्निपरीक्षामा होमिनु भएको छ। एकातिर उहाँका निकट सारथिहरू संस्थापन इतरपक्षको भेलामा उहाँको प्रत्यक्ष संलग्नता र आतिथ्यता चाहान्छन्। अर्कोतिर नेपाली कांग्रेसलाई माया गर्ने देशभरका नेता कार्यकर्ताहरू भने देउवाको अभिभावकत्वबाट कांग्रेसको सम्भावित फुटलाई टार्नुपर्ने विचारमा देखिएका छन्। यसरी हेर्दा देउवा नेपाल फर्केपछि के गर्नुहोला ? प्रबल चासोको विषय भएको छ।

देउवाले आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा सबै नेता कार्यकर्ताको सम्मान र स्नेह पाइरहने हो भने सबैभन्दा पहिला दुवै पक्षलाई मिलाउने अभिभावकीय भूमिकालाई शिरोपर गर्नु उत्तम विकल्प हुनेछ। यसका लागि देउवाले नेपाल आउनुअघि नै पार्टीभित्रको समस्या समाधान गर्ने मार्गचित्र प्रस्तुत गर्नु उचित हुनेछ। नेपाल आएर कुनै एउटा गुटको भेलामा सम्बोधन गरेर पार्टीभित्रको तिक्तता साम्य हुँदैन भन्ने सामान्य ज्ञान पक्कै पनि देउवालाई हुनुपर्छ। यसका लागि वातावरण बनाउने प्रमुख जिम्मा पनि देउवाकै छ। 

नेपाल फर्किनुअघि पार्टीको आधिकारिकताका विषयमा सर्वोच्चमा गरेको पुनरावलोकनको रिट फिर्ता गर्ने, कांग्रेस इतरले आयोजना गरेको भेलालाई स्थगित गर्न लगाउने हो। यसको सट्टा सबै खाले कार्यकर्तालाई सहभागी हुने गरी अर्को भेलाको आयोजना गर्ने र सबैलाई आगामी महाधिवेशनमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउने जिम्मा पनि देउवाको काँधमा आएको छ। त्यसो त पक्कै पनि कांग्रेस सभापति गगन थापाका विषयमा पनि देउवाका प्रश्नहरू होलान्। गुनासाहरू होलान्। आवेग पनि होला। निकै रिस पनि उठेकै होला। तर, सबै रिस, आवेग र द्वेषभन्दामाथि उठेर देउवाले लिन सक्ने निर्णयले नै उहाँको राजनीतिक कदको लेखाजोखा हुनेछ।

यति लामो अन्तरद्वन्द्व, यति ठूलो राजनीतिक ऊहापोह र यति ठूलो हिंसाको चपेटाबाट उठ्नु भएका देउवाले पार्टीलाई एक बनाउने सबालमा आफ्ना अनुजप्रति प्रेम, स्नेह र क्षमा दिन सक्नु भयो भने नेपाली कांग्रेसलाई फेरि एउटै ठाउँमा उभिएको देख्न सकिनेछ। प्रस्ट छ, यो देउवाका निम्ति अन्तिम अग्निपरीक्षा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.